HOME

2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

माननीय अध्यक्ष महोदयलगायत यस ओजस्वी सदनका माननीय सदस्यगण।

म यहॉं वर्ष 2010-11 को निम्ति बजेट पेश गर्न उपस्थित भएको छु। सन्‌ 1994 मा सिक्किमे जनताले सिक्किम डेमोक्रेटिक फ्रण्टमाथि आफ्नो आस्था राखेउपरान्त, हामीले अविराम रूपमा हाम्रा जनताका आर्थिक-सामाजिक स्थितिमा सुधार ल्याउन इमान्दारी, निष्ठा अनि लगनका साथ काम गर्दै आएका छौं। अहिले सोह्र वर्षको शासन अवधिपछि हामी गर्वका साथ के कुरामा सन्तुष्ट बन्नसक्छौं भने हाम्रो समग्र विकासीय पहलका साथै वित्तीय दूरदर्शिता र सही प्रबन्धन तथा हाम्रो प्राकृतिक संसाधन अनि शक्तिहरूको सदुपयोगको फलस्वरूप सिक्किमे जनताले फाइदा उठाउन सकिरहेका छन्‌।

हाम्रो पार्टीले पाएको विपूल जनमत तथा हामीमाथि राखिएको अपार विश्वास हालै सम्पन्न शहरी स्थानीय निकायको चुनाउमा हासिल भएको शत प्रतिशत परिणामले पनि स्पष्ट पार्दछ। यहॉं एकपटक फेरि हामीमाथि यति धेरै विश्वास राखिदिएकोमा म सिक्किमे जनताप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु जसले हामीलाई जनताको निम्ति अविराम अनि अविरल रूपमा काम गर्न प्रोत्साहित गर्नेछ। म मेरा मित्र विधायकगणलाई विनम्रता साथ हामीले जनताबाट पाएको पवित्र जनमतको सम्मान र कदर गर्दै हाम्रो पार्टीको घोषणा पत्रमा प्रतिस्थापित प्रत्येक सिक्किमे जनताको इच्छा र आकाङ्‌क्षा पूरा गर्न अध्यावसाय रूपमा काम गर्न आग्रह गर्न चाहन्छु।

माननीय अध्यक्ष महोदय, बजेटको तयारी र प्रस्तुति एक हिसाबले जनदस्तावेज हो जसले उनीहरूको इच्छा र आकाङ्‌क्षा प्रतिबिम्बित अनि प्रतिनिधित्त्व गर्दछ। यतिको अवधिमा हामीले राज्यको संसाधनलाई समुचित तरिकाले बढी जनहितमा प्रवाहित गर्न सफल भएका छौं। हामीले दुवै अल्प अनि दीर्घकालीन विकासीय रणनीति तर्जुमा गरी सिक्किमे समाजमा अद्यावसाय परिवर्तन ल्याउन अरू व्यापक दूरदृष्टि प्रदान गरेका छौं। यसैको परिणामस्वरूप हामी दह्रो बन्नसकेका छौं भने विस्तृत अनि साङ्गोपाङ्ग विकासको लक्ष्यलाई निरन्तरता दिने हामी प्रण गर्दछौं। हाम्रो बजेट यस हिसाबले अटल विश्वास अनि ठोस रूपमा ती सपनाहरू साकार र मूर्त रूप दिने दिशामा परिलक्षित छ।

वित्त वर्ष 2010-11 का लागि योजना राशि तय गर्ने प्रक्रिया गत महिना नै पूरा भएको थियो भने योजना आयोगले पनि उदारतासाथ योजना आकार रु. 1175 करोड प्रदान गरेकोमा म धेरै खुशी छु, जुन रकम गत वर्षको तुलनमा 12.44 प्रतिशत बढी हो। अनुमोदित योजना विनिधान तर सिफारिश गरिएअनुरूप वित्तीय योजनाको अधीनमा रहनेछ, जसअन्तर्गत राज्यको वित्तीय मामिलामा वित्तीय अनुशासन अनि समुचित प्रबन्धनका सम्बन्धमा कडा कदम चाल्नुपर्ने कुरा पनि सामेल छन्‌।

माननीय अध्यक्ष महोदय

हाम्रो तीन चरणको शासनकालमा सूत्रपात गरिएका विकासीय रणनीतिहरूले हरेक सिक्किमे जनजीवनमा दृश्यमान्‌ रूपान्तरण ल्याएका छन्‌। अर्थनैतिक परिप्रेक्ष्यमा भन्नुपर्दा, हामीले सबै सामाजिक-आर्थिक सूचकमा तीन गुणा वृद्धि दर्ता गर्नसकेका छौं। तुलनात्मक रूपमा, आज सिक्किमले धेरै सामाजिक आर्थिक साङ्‌ख्यिकीमा बहुसूत्रीय वृद्धि दर्ता गर्दै देशकै सर्वेश्रेष्ठ राज्यमा दरिन पुगेको छ भने राज्यमा आर्थिक-सांस्कृतिक दीर्घता अनि जीवन्त अर्थनीति स्थापित हुनपुगेको छ। यस सन्दर्भमा निम्न कुराहरूमाथि पनि ध्यान पुऱ्याऔं ः-

श्र सिक्किमको वार्षिक योजना राशि सन्‌ 1993-94 को रु. 120 करोडबाट बढेर वर्ष 2010-11 मा रु. 1175 करोड पुगेको छ।

श्र सन्‌ 1993-94 मा सिक्किममा गरीबी रेखामुनि (बीपीएल) को परिवार 41.43 प्रतिशत थियो जुन घटेर सन्‌ 2005 मै 19.2 प्रतिशत पुग्यो।

श्र सन्‌ 1993-मा साक्षरता दर 56.9 प्रतिशत थियो भने हाल यो 85 प्रतिशत पुगेको छ।

श्र शिशु मृत्यु दर 1993-94 मा प्रति हजार 70 थियो भने यो हाल घटेर प्रति हजार 36 पुगेको छ।

श्र सन्‌ 1993-94 मा आन्तरिक राजस्व रु. 44.72 करोड थियो भने यसमा उल्लेखनीय वृद्धिका साथ अहिले रु. 571.98 करोड पुगेको छ।

श्र सिक्किमको निम्ति राज्य घरेलु उत्पाद सन्‌ 1993-94 मा रु. 426 करोड थियो भने हाल यो बढेर रु. 1 हजार करोडभन्दा धेरै पुगेको छ।

श्र प्रति व्यक्ति आमदानी सन्‌ 1993-94 मा रु. 8 हजार 402 थियो भने यो हाल बढेर रु. 37 हजार 553 पुगेको छ।

श्र वन तथा पर्यावरण मन्त्रालय, भारत सरकारको आँकडाअनुसार सन्‌ 1995-96 मा सिक्किम वन क्षेत्र 43.95 प्रतिशत थियो भने सन्‌ 2009 मा यो बढेर 47.59 प्रतिशत पुगेको थियो।

माननीय अध्यक्ष महोदय

प्रधानमन्त्रीका आर्थिक परामर्श परिषद्‌द्वारा तयार दस्तावेज "आर्थिक समीक्षा -2009-10' अनुसार भारतीय अर्थनीतिले वैश्विक आर्थिक महासङ्कट पनि सहजै झेल्न सक्षम रह्यो। उक्त दस्तावेजलाई म यहॉं उद्घृत गर्न चाहन्छु, "अर्थनीतिले वैश्विक आर्थिक सङ्कट तेज गतिमा पार गर्दै उन्नत परिस्थितिमा परिचालन भइरहेको छ जसलाई सामान्य भन्नसकिन्छ।' वर्ष 2010-11 का लागि 8.5 प्रतिशत तथा 2011-12 का लागि 9 प्रतिशतको विकास दर अनुमानित गरिएको भए पनि देशका विभिन्न इलाकामा आन्तरिक द्वन्द्व अनि विप्लवी तत्त्वहरूले युद्धकै स्थिति पैदा गरेका छन्‌। यस अर्थमा, समग्रमा विकासबारे तात्कालिक अनि प्रासाङ्गिक समझदारी साङ्‌ख्यिकी अनि गणितीयहरूलाई निर्बाध रूपमा प्रामाणिक मानव खुशियालीमा रूपान्तरित गर्न हुनुपर्नेछ।

माननीय अध्यक्ष महोदय

यस ओजस्वी सदनमा म जनता, शासनतन्त्र, हाम्रा राजनीतिक नेतृत्त्वहरूका साथै सबै तहका जनप्रतिनिधिहरूलाई के स्मरण गराउन चाहन्छु भने आर्थिक विकास अनि सुधार आएका तथ्याङ्कहरूले मात्र मानव खुशियाली अनि सुख समृद्धि प्रत्याभूत गर्दैन। केवल साङ्गोपाङ्ग अनि विस्तृत विकासले त्यो कुरा सुनिश्चित गर्नसक्छ। यस अर्थमा, हामीले (क) सुशासन, स्वच्छ, सकारात्मक अनि रचनात्मक राजनीति, (ख) आत्मसम्मान, (ग) राज्यमा उपलब्ध सबै आर्थिक अवसरहरूको फाइदा उठाउन सक्षम दक्ष अनि नोकरीयोग्य मानव संसाधन, (घ) आम जनतालाई उत्पादक बनाई उनीहरूको खरिद गर्ने क्षमता बढाउनु र (ङ) राज्यलाई अग्रगामी पथमा बढाउन सुसूचित अनि शिक्षित सिक्किमेको विकास गर्न आवश्यक छ। यस प्रतिबद्धतालाई पूरा गर्न, म यो कुरा मेरा सिक्किमे जनतालाई पनि जनाउने अनुमति लिन चाहन्छु, ताकि हाम्रो महत्त्वकाङ्‌क्षी 2015 को लक्ष्य प्राप्तिका लागि तर्जुमा गरिएका महान्‌ अनि महत्‌ कार्यमा सहभागी बन्नसकून्‌ र यस वर्षको बजेटलाई मौलिक रूप प्रदान गरून्‌।

सिक्किम गरीबीमुक्त मिशन

माननीय अध्यक्ष महोदय

बितेको दसकसॅंगै गरीबी रेखामुनि जीवन यापन गर्ने परिवारको सङ्‌ख्या तेज अनि सुचारू रूपमा घट्‌दै गएका छन्‌। यस कुराले पनि गरीबीको सम्बन्धमा सकारात्मक घात गर्दै राज्यको सबै तहका जनतालाई सबल अनि समर्थ बनाउन सकिएको स्पष्ट हुँदछ। ग्रामीण उत्थानका लागि सन्‌ 1994 देखि नै योजना विनिधानको सत्तरी प्रतिशत भाग छुट्याउन शुरु गरिएको थियो। उक्त नीतिले नै हाम्रो केन्द्रिकृत सामाजिक प्रतिबद्धतालाई मार्गनिर्देशित गर्दै आएको छ, जहॉं समाजका अभावग्रस्त अनि हतभागीहरूलाई न्यूनतम बुनियादी आवश्यकता प्रत्याभूत गर्दै मर्यादापूर्ण जीवन प्रदान गर्ने सामाजिक सुरक्षा कवच प्रदान गर्ने पहल शुरु गरिएका छन्‌।

राज्यमा विद्यमान सबै गरीबी निवारण कार्यक्रमलाई निरन्तरता दिने म यहॉं प्रस्ताव राख्न चाहन्छु। सिक्किमबाट सन्‌ 2015 सम्म पूर्णरूपमा गरीबी उन्मूलन गर्न अझ रचनात्मक साथै सामाजिक रूपमा सान्दर्भिक विधिहरू पनि समय-समयमा शुरु गरिनेछन्‌। यस सम्बन्धमा चालू वित्त वर्षका लागि म रु.20 करोडको प्रावधान राख्न चाहन्छु।

सिक्किम स्वनिर्भर मिशन

सिक्किमलाई समयसीमाभित्रै स्वनिर्भर बनाउन राज्य सरकार प्रयासरत्‌ छ। राज्यमा उपलब्ध अपार विकासीय सम्भावनाका साथै सिर्जनशील मानव संसाधनलाई ध्यानमा राख्दै हामीले राज्यमा आर्थिक अवसरहरू सिर्जना गर्नका साथै हाम्रा जनतालाई निरन्तर विस्तार हुँदो रोजगार बजारमा रोजगारयोग्य बनाउने दुइसूत्रीय पहलअन्तर्गत अरू बढी प्रतिस्पर्धी नमूना तयार गर्न शुरु गरेका छौं। पुरातनपन्थी अनि सीमित अभिप्रायले आर्जन गरिने शिक्षालाई आज नविकृत गर्दै अमर्त्य सेनको भनाईमा "वास्तविक विश्वसॅंग सुसङ्गत' बन्ने हिसाबले पूरक बनाइँदैछ, जुन अरू बढी सामाजिक प्राप्ति अनि खुशियालीमा आधारित हुनेछ।

माननीय अध्यक्ष महोदय

"भारतको जनसाङ्‌ख्यिकी दुविधा' नामक प्रतिवेदनअनुसार भारतले सन्‌ 2012 पछि 5 मिलियनभन्दा धेरै रोजगार अवसरको निम्ति "प्रतिभा रिक्तता' अथवा सही सीप अनि ज्ञानको कमी बेहोर्नुपर्नेछ। अर्कोतिर, 1.3 मिलियन सीपरहित, अयोग्य अनि बीचैमा स्कूल छोडेका र निरक्षर जमात थुप्रिएको हुनेछ। यसै कुरालाई ध्यानमा राख्दै हामीले सबैलाई गुणस्तरीय सीप अनि ज्ञानका साथै अन्तरराष्ट्रिय रूपमा मान्यताप्राप्त शिक्षाद्वारा समर्थ अनि सशक्त बनाई विश्व रोजगार बजारमा उभिनसक्ने बनाउन कैयौं हस्तक्षेपकारी कार्यक्रम तयार गरेका छौं। सन्‌ 2003 देखि हामीले निरन्तर रूपमा शिक्षित बेरोजगार युवाहरूलाई विभिन्न व्यावसायिक तालिम राज्यभित्र अनि राज्य बाहिर क्षमता विकास निर्देशालयको अधीनमा प्रदान गर्दै आएका छौं।

हामीले सन्‌ 2003 मा क्षमता विकास पहल शुरु गरेका थियौं जुन एघाह्रौं पञ्च वर्षीय योजना कालमा देशले राष्ट्रिय क्षमता विकास अभियानको रूपमा शुरु गरेको छ भने सिक्किमे जनतालाई स्वनिर्भर बनाउन जारी राखिनेछ। विद्यमान क्षमता विकास निर्देशालयबाहेक, हामीले विभिन्न सान्दर्भिक विषयमा तालिम प्रदान गर्न स्रोतव्यक्तिहरूको नियुक्तिलगायतका भौतिक सुविधासहित कर्फेक्टारमा क्षमता विकास संस्थान स्थापित गरेका छौं। क्षमता विकास अभियानअन्तर्गतका पहललाई अग्रगामी रूप दिन मुख्यमन्त्री स्वरोजगार योजनाले धेरै महत्‌ भूमिका निर्वाह गर्दै आएको छ भने विभिन्न कृषिमा आधारित गतिविधिहरूलगायत सूचना प्रविधिसित सम्बन्धित उद्यम, पर्यटनसित सम्बन्धित कारोबार आदि समेट्‌दै 5 हजार 780 जना युवा लाभान्वित बन्नसकेका छन्‌। क्षमता अथवा सीप विकासको योजनाअन्तर्गत कूल वित्तीय खर्च रु. 47.51 करोड रहेको छ।

बितेका वर्षहरूदेखि नै हामीले रोजगारमुखी विकासीय सीप हासिल गर्न बहुसूत्रीय पहल तर्जुमा गर्दै आएका छौं। सोहीअनुरूप सरकारद्वारा शुरु गरिएका क्षमता विकास कार्यक्रमले पनि वैश्विक मन्दीका बावजुद राज्यको अर्थनैतिक विकास अनि बढतलाई अघि बढाउन योगदान पुऱ्याएको छ। सरकारको क्षमता विकास पहलले उल्लेखनीय सफलता हासिल गरेको छ जहॉं आतिथ्य क्षेत्रमा मात्र 70 प्रतिशतभन्दा धेरैले नोकरी पाउन सक्षम बनेका छन्‌। म गर्वसाथ यहॉं के पनि जानकारी दिन चाहन्छु भने सरकारद्वारा दुबईमा तालिमका लागि प्रायोजित 24 जना बावर्ची (सेफ) सबैले नै तालिम समाप्तिसॅंगै पॉंचतारे होटलमा नोकरी पाएका छन्‌।

हामीले आफ्नो प्रयासमा नयॉं आयाम थप्दै हरेक समष्टिमा एउटा जीविकोपार्जन स्कूल स्थापित गरेका छौं। धेरैजना युवा-युवतीले विभिन्न व्यावसायिक तथा सीप बढोत्तरीका सम्बन्धमा राज्यभरी तालिम लिइरहेका छन्‌। यस विशेष कार्यक्रमलाई थप टेवा प्रदान गर्न म यस वित्तीय वर्षका लागि रु. 12 करोड धनराशि छुट्याउन चाहन्छु।

सामाजिक सुरक्षा मिशन

सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारले पूर्ण सामाजिक-सांस्कृतिक अनि अर्थनैतिक सुरक्षा सबै तह अनि तपकाका जनतालाई अरू बढी मानवमुखी विकासीय अध्यायमा समेट्‌ने र प्रदान गर्ने दिशामा अथक काम गरिरहेको छ। वास्तवमा एसडीएफ पार्टीले सधैं नै गरीब अनि समाजको कमजोर तह अनि तप्काका जनतालाई हुनेखाने अरू सिक्किमे समाजका सदस्यहरूकै हाराहारीमा उभ्याउने प्रणका साथ काम गरिरहेको छ।

सबै पक्षबाट महिला सशक्तिकरणको आन्दोलन सूत्रपातदेखि लिएर रोजगारमा आरक्षण, शैक्षिक कार्यक्रमहरूमा भर्ना, विधानसभा, स्थानीय शहरी निकाय अनि पञ्चायतीराज संस्थानमा निर्वाचन आदिका सम्बन्धमा सकारात्मक अंश प्रदान गर्ने विशेषता मेरो सरकारले हासिल गरेको छ। शासनको सबै कोणलाई समेट्‌ने लैङ्गिक समानतासम्बन्धी हाम्रो सरकारको नीतिमा रूपान्तरकारी मोडको फलस्वरूप आउने दिनहरूमा हाम्रा जनता अनि भावी सन्ततिको जीवन स्तर अनि सामाजिक बनौटमा परिवर्तन ल्याउन सकारात्मक भूमिका निर्वाह गर्नेछ।

विभिन्न स्वरूपमा यस प्रकारका विशेष विधान अनुसूचित जाति, जनजाति, अति पछौटेवर्ग, अन्य पछौटेवर्गलगायत असक्त अनि अपाङ्ग अनि बूढापाका जस्ता भुक्तभोगी अनि सुपात्रहरूलाई प्रदान गरिँदै नै छ। यी विशेष क्षेत्र अनि लक्षित समूहसित सम्बन्धित यस प्रकारका सामाजिक-आर्थिक चिन्तालाई सम्बोधित गर्न सामाजिक न्याय, सशक्तिकरण अनि कल्याण विभागको अधीनमा कार्यान्वयन गरिने हामीसित असङ्‌ख्य कार्यक्रम छन्‌। अनुसूचित जाति अनि जनजातिका साथै आर्थिक रूपमा पछौटे अनि कमजोर जनतालाई पनि रेखाङ्कित गर्दै उनीहरूको उत्थान अनि कल्याणका लागि पनि सबै विकासीय क्षेत्र समेट्‌दै धनराशि छुट्याउने गरिएको छ। चिन्हित गरिएका यस्ता क्षेत्रअन्तर्गत कार्यान्वयन गरिने योजना अनि कार्यक्रमहरूको सामयिक निगरानी तथा मूल्याङ्कन पद्धति पनि स्थापित गरिएका छन्‌।

सरकारी कर्मचारीहरूको कल्याणका सन्दर्भमा, राज्य सरकारले सबै तहमा वेतनमान बढोत्तरीदेखि लिएर अन्य कल्याणकारी पहलमा अप्रत्याशित रेकर्ड दर्ता गरेको छ। न्यूनतम्‌ वेतनका साथै अन्य भत्ता मिलाएर अधिकारीगण, कर्मचारीहरू तथा एमआर कर्मचारीहरूले देशकै सर्वाधिक अनि सर्वश्रेष्ठ वेतनमान पाउँदछन्‌। हामीले चौथो वेतन आयोगको सिफारिश सबैभन्दा धेरै वेतनसॅंगै बकाया राशिहरू एकैपटकमा भुक्तानका साथ कार्यान्वयन गऱ्यौं, जुन देशमै प्रथम हो।

सरकारी कर्मचारीहरूका लागि जुटाउन सकिने आवासीय सुविधा उपलब्ध गराउन म गेजिङ, नाम्ची अनि मगनमा सरकारी आवास अनि कर्मचारी अतिथि गृह निर्माणको प्रस्ताव अघि सार्न चाहन्छु। यस कामका लागि म यस वित्तीय वर्षमा रु. 1 करोडको प्रावधान राख्न चाहन्छु।

सरकारी अधिकारीगण अनि कर्मचारीहरूलाई यो गुण राज्य अनि जनताको हितमा काम गरी फर्काउन भनी म आह्वान जनाउन चाहन्छु। हामी सबै जनताका सेवक हौं जसलाई राज्य अनि राष्ट्र निर्माणको अभिभारा सुम्पिएको छ। कर्मचारीहरूलाई अरू बढी प्रोत्साहित तुल्याउन म एमआर कर्मचारीहरूको दैनिक ज्याला कम्तिमा रु. 130 र धेरैमा रु.190 बनाउने प्रस्तावित गर्दछु। यो प्रस्तावलाई आधिकारिक रूपमा 1 जुलाई 2010 देखि कार्यान्वयन गर्ने पनि म यहॉं प्रस्तावित गर्न चाहन्छु।

सर्वव्यापी वित्तीय समावेशी

सामाजिक न्यायको लक्ष्यलाई आत्मसात गर्दै, मेरो सरकारले मुख्यमन्त्री सर्वव्यापी वित्तीय समावेशी कार्यक्रमअन्तर्गत राज्यका ग्रामीण विवाहित महिलाहरूलाई समेट्‌ने नवीन अनि विशेष कार्यक्रमको थालनी गरेको छ। यसले उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउनका साथै उनीहरूको समाजमा गरिमा अनि आत्मविश्वास पनि बढाउनेछ। यस प्रकारको महत्त्वपूर्ण कार्यक्रम थाल्ने सिक्किम सरकार पहिलो हो भने यो उनीहरूलाई मर्यादित जीवन जिउन पूर्ण सामाजिक सुरक्षा प्रदान गर्न लक्षित छ।

विवाहित महिलाको नाममा एउटा स्मार्ट कार्ड जारी गरिनका साथै आमा बनेपछि शुरुमा रु. 1 हजारको जमा उनको नाममा रहेको खातामा जमा गरिने यस योजनाले उनीहरूलाई आफ्नै गाउँ अनि घरदैलोमा ब्याङ्कीय सेवा प्रदान गर्नेछ। यसबाहेक यस योजनाले दुर्घटना, धन-सम्पत्तिको क्षतिसहित परिवारको पॉंचजना सदस्यलाई समेट्‌दै बीमा सुरक्षा पनि प्रदान गर्नेछ।

माननीय अध्यक्ष महोदय, म यस महत्‌ अनि महान्‌ कार्यप्रतिको सङ्कल्प दोहोऱ्याउँदै योजनाअन्तर्गत सूचीकरणको प्रक्रिया यस वित्तीय वर्षभित्रै शतप्रतिशत पूरा गरिने घोषणा गर्न चाहन्छु।

सम्पूर्ण साक्षर राज्य

माननीय अध्यक्ष महोदय

यतिको अवधिमा दर्ता गरिएको गुणात्मक साक्षरता दरसॅंगै हामी सिक्किमलाई शत प्रतिशत साक्षर राज्य बनाउने लक्ष्य लिएर अघि बढिरहेका छौं। प्राथमिक साथै उच्च शिक्षा तहमा सरकारद्वारा प्रदान गरिने सहुलियतहरूबारे सिक्किमे जनता जानकार नै छन्‌। सापेक्ष सन्दर्भमा, सबै प्रकारको सहुलियतसॅंगै देशमै सर्वाधिक वेतनमान प्रदान गर्ने सिक्किम नै श्रेष्ठ अनि प्रथम राज्य हो। देशकै सर्वाधिक 20 प्रतिशत बजेट राशि शिक्षामाथि खर्च गर्ने सिक्किममा शिक्षा दुवै सुगम अनि सुलभ छन्‌। यसका साथै देशकै श्रेष्ठ 1ः16 शिक्षक-विद्यार्थी अनुपात रहेको सिक्किमलाई 2015 सम्म पूर्णरूपले साक्षर राज्य बनाउन सरकारले जमर्को कसिसकेको छ।

सन्‌ 1986 को नयॉं शिक्षा नीति, सन्‌ 1992 को क्रियात्मक कार्यक्रम, सन्‌ 2003 को सबैका लागि शिक्षाको उद्‌घोषलाई साकार तुल्याउने पहल अनि हालैका गतिविधिहरू जस्तै संसदमा शिक्षाको अधिकार विधेयक पारित गरिनु जस्ता कुराहरू समेटिएका राष्ट्रिय नीतिहरूले यस क्षेत्रमा राज्य सरकारद्वारा शुरु गरिएका पहलहरू अघि बढाउन उचित माध्यम अनि मञ्च प्रदान गर्नेछ।

कार्ययोजनाअन्तर्गत केन्द्रविन्दु क्षेत्रमा बुनियादी तहको शिक्षामा 2012 सम्म शतप्रतिशत भर्ना सुनिश्चित गर्ने, साक्षरता दरलाई विद्यमान 85 प्रतिशतबाट बढाएर एघाह्रौं योजनाकालको अन्त्यसम्म 95 प्रतिशत पुऱ्याउने, प्राथमिकदेखि स्नातक तहसम्मको शिक्षालाई समेट्‌न शतप्रतिशत शिक्षकलाई तालिम प्रदान गरिने, उच्चतर तहसम्मको शिक्षालाई सर्वव्यापीकरण गरिने, ड्रप आउट अथवा स्कूल बाहिरिने क्रममा रोक लगाइने, कोठारी आयोगको सिफारिशअनुरूप उच्चतर तहका विद्यार्थीहरूलाई दिशा प्रदान गर्न व्यावसायिक अनि अन्य प्राविधिक शिक्षा कार्यक्रम शुरु गरिने र स्कूलहरूमा विशेष गरी विज्ञान विधाका लागि प्रयोगशाला उपलब्ध गराउनका साथै योग्य अनि तालिमप्राप्त शिक्षकहरू नियुक्त गर्दै भौतिक पूर्वाधारहरू पनि बढोत्तरी गरिने कुरा सामेल छन्‌। शिक्षकहरू हाम्रा भावी कर्णधारका भविष्य निर्माता हुन्‌ र उनीहरूलाई आफ्नो अध्ययन-अध्यापनमा अव्वल दरिन प्रोत्साहित गर्नुपर्दछ भन्ने कुरालाई हामी मान्यता दिँदछौं। त्यस्ता मेधावी अनि समर्पित शिक्षकहरूलाई सम्मानित गर्ने योजना मानव संसाधन विकास विभागले तयार गरिरहेको छ।

स्नातक अनि स्नातकोत्तरलगायत विश्वविद्यालय कार्यक्रम जस्ता उच्च तहको शिक्षामा विकासीय जोरले विद्यमान पूर्वाधारहरूको सुदृढिकरण र अधिकांश संस्थानमा विद्यमान कमी-कमजोरीमा सुधार ल्याउने जस्ता बुँदालाई सम्बोधित गर्नेछ। सिक्किम मणिपाल विश्वविद्यालयको अधीनमा कार्यान्वयन भइरहेका कार्यक्रमहरूमा सन्तोषजनक प्रगति भइरहेका छन्‌ भने यसलाई सिक्किम केन्द्रिय विश्वविद्यालयको अधीनमा शुरु गरिएका विभिन्न विश्वविद्यालय कार्यक्रमहरूले थप टेवा अनि बल प्रदान गरिरहेका छन्‌।

राज्यमा गुणस्तरीय शिक्षा, ज्ञान र सीपमा आधारित शिक्षा प्रदान गर्ने अर्को लक्ष्यतर्फ हामी अघि बढिरहेका छौं। गुणस्तरीय शिक्षाको प्रावधानअन्तर्गत शिक्षकगणको तालिमका साथै बुनियादी सुविधा अनि भौतिक पूर्वाधारहरू जस्तै प्रयोगशालाका उपकरणहरू उपलब्ध गराउनु जस्ता कुरा पनि समेटिएका हुन्छन्‌। गान्तोकमा निर्माण भइरहेको डीआइईटीको पूर्वाधार चॉंडै पूरा गरिनेछ भने सोरेङमा बीएड कलेज विकास गर्ने प्रस्तावलाई पनि साकार रूप दिई चॉंडै सञ्चालनमा ल्याइनेछ। यस वित्तीय वर्षमा सोरेङ बीएड कलेजको थप विकासका लागि म रु. 50 लाखको प्रावधान छुट्याउन चाहन्छु।

हाम्रो लक्ष्यलाई निर्बाध राख्न उपलब्ध शैक्षिक सहुलियत आठौं श्रेणीसम्म विस्तार गरिने घोषणा गर्न चाहन्छु जसअन्तर्गत निःशुल्क स्कूल युनिफर्म, खाता-किताब, पाठ्य-पुस्तक, जुत्ता-मोजा आदि वितरण सामेल रहनेछन्‌। यस वित्तीय वर्षका लागि म रु. 10 करोड छुट्याउन चाहन्छु। पॉंचौं श्रेणीसम्मका पचासजना मेधावी विद्यार्थीका लागि मुख्यमन्त्री विशेष छात्रवृत्ति योजना यसै वर्षदेखि शुरु गरिएको छ भने चुनिएका विद्यार्थीहरूले निजी स्कूलमा अध्यापन गर्ने फाइदा पाएका छन्‌। यी पचासमध्ये दस सर्वेश्रेष्ठ विद्यार्थीलाई ग्वालियर अनि कसौलीका नामी निजी स्कूलमा भर्ना गरिएका छन्‌। यो योजनालाई अझ व्यापक बनाउँदै आउँदो वर्षदेखि सयजना श्रेष्ठ विद्यार्थी चयन गरिनेछ। गुणवान्‌ अथवा मेधावी बन्नुको सन्देश हाम्रा विद्यार्थी अनि युवा जमातले राम्ररी बुझेका अनि आत्मसात गरेका छन्‌। यहॉं म हाम्रा दुइ विद्यार्थीलाई बधाई दिन चाहन्छु जसले सङ्‌घ लोक सेवा आयोगद्वारा सञ्चालित गरिने लोक सेवा परीक्षा उत्तीर्ण गरेका छन्‌। यतिका वर्षपछि हाम्रा युवाहरूले आफ्नो कडा मेहनत अनि लगनद्वारा राष्ट्रिय स्तरमा सिक्किमको उपस्थिति दर्ता गर्न सफल बनेका छन्‌ भने केही युवाले खेल जगत्‌मा त्यस्तै नाम कमाएका छन्‌।

हाम्रा नानीहरूको शिक्षा जस्ता विषयलाई त्यसै भगवान्‌ भरोसा छोड्‌न मिल्दैन। भनिन्छ, नानी अफाल्नु जस्तो जघन्य अपराध अरू केही हुँदैन। यस अर्थमा हामीले राज्यमा श्रेष्ठतम्‌ सुविधा अनि संसाधन जुटाउने कोशिश गरिरहेका छौं। यो धेरै नै सामाजिक मुद्दा हो जहॉं हरेक जनताको सहभागिता अनिवार्य ठहर्दछ। अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले ठीकै भनेका छन्‌, "एकजना व्यक्तिले मात्रै पनि धेरै फरक ल्याउन सक्दछन्‌ भने सबैले त्यस्तो प्रयास गर्नुपर्दछ।' मानव पूँजीलाई सही तरिकाले सदुपयोग गर्ने शक्तिशाली माध्यम नै शिक्षा हो भन्ने कुरा हामी जान्दछौं। यस महत्‌ लक्ष्य प्राप्तिका लागि म आदरणीय नागरिकगणलाई पूर्ण सहयोग अनि योगदानको निम्ति सविनय आग्रह चढाउन चाहन्छु।

स्वस्थ सिक्किम मिशन

स्वास्थ्य क्षेत्रअन्तर्गत हामीले महत्त्व दिएका कार्यक्रम अनि परियोजनाहरू सन्‌ 2015 सम्म स्वस्थ सिक्किमको लक्ष्य प्राप्तिका दिशामा समन्वित अनि नियोजित छन्‌। समयमै रोग खुट्याउनेलगायत सबै आयुवर्गलाई समेट्‌ने अनि उपचार तथा पुनर्वास स्वास्थ्य स्याहार सम्मिलित रोकथाम अनि आरोग्यकर विधि जस्ता रचनात्मक पहल शुरु गरिएका छन्‌। यस अभिजात पहललाई सिक्किमका लागि मुख्यमन्त्री वार्षिक विस्तृत तथा सम्पूर्ण स्वास्थ्य जॉंच (क्याच) अभियानको नाममा शुरु गरिएको छ। राज्यका हरेक नागरिकको स्वास्थ्य विवरणीका सम्बन्धमा विस्तृत तथ्याङ्कले युक्त हुन यस परिप्रेक्ष्यमा आवश्यक छ ताकि वार्षिक रूपमा निगरानीका साथै अद्यतन गरी समयमै स्वास्थ्य स्याहार अनि उपचारलाई अरू प्रभावी रूपमा नियोजन गर्नसकियोस्‌। यस अभ्यासमा हाम्रा चिकित्सकहरू लगायत अर्ध-चिकित्साकर्मीहरूको प्राविधिक ज्ञान उन्नयनसॅंगै राज्यभरीका स्वास्थ्य केन्द्रहरूमा नैदानिक सेवाका लागि भौतिक सुविधामा सुधार ल्याउन सामेल रहनेछ। यस सन्दर्भमा हामी खूबै होशियारसाथ योजना निर्धारण गर्नका साथै मिशनअन्तर्गत यस लक्ष्यलाई हासिल गर्न व्यावहारिक मार्गचित्र तयार गर्ने पहल शुरु गर्नेछौं।

हाम्रो सरकारले 85 जना सिक्किमे विद्यार्थीलाई मङ्गलोरस्थित मणिपाल विश्वविद्यालयमा बीएससी नर्सिङलगायत अन्य तालिमका लागि प्रोयजन गरेको जानकारी पाउँदा मलाई धेरै खुशी लागेको छ। उक्त तालिम समाप्तिसॅंगै हाम्रो राज्यमा उच्च तालिमप्राप्त परिचारिका उपलब्ध हुनेछन्‌। निःसन्देह, स्वास्थ्य स्याहारका सम्बन्धमा धेरै महत्त्व राख्ने परिचारिकाको तालिमले राज्यको आवश्यकता पूरा गर्न धेरै ठूलो टेवा प्रदान गर्नेछ। फ्लोरेन्स नाइटिङ्गेलको गुणले युक्त राम्ररी तालिम पाएका नर्स वा परिचारिकाले रोगी जाती हुने र पार्ने सम्बन्धमा धेरै ठूलो अन्तर ल्याउन सक्नेछन्‌।

नागरिकहरूको जीवनलगायत स्वास्थ्यसित सम्बन्धित अनेकौं खतरनाक रोगको निदानका लागि राज्यमा एउटा बहुसुविधा अनि विशेषतायुक्त अस्पताल नहुनु राज्य सरकारको निम्ति चिन्ताको विषय रहिआएको छ। विद्यमान एसटीएनएम अस्पतालमा उपलब्ध सुविधाहरू उपचारलगायत स्वास्थ्य स्याहारको बढ्‌दो चाप बेहोर्न अक्षम नै छ। यसै समस्याको समाधान खोज्ने जमर्कोस्वरूप तथा सिक्किमे जनतालाई राज्यबाहिर धेरै महॅंगो खर्च बेहोर्दै उपचार गर्नुपर्ने बाध्यता समाप्त गर्न हामीले 575 पलङयुक्त बहुसुविधा अनि विशेषताले युक्त अस्पताल राजधानी नजिकै निर्माण गर्ने निधो गरेका छौं। यो परियोजना हाम्रा नागरिकले झेलिरहेका दुःख-पीडा अनि विपत्तिहरू समाप्त गर्ने ध्येयले तयार गरिएको छ। विशेष गरी बीपीएल वर्गमा पर्नेहरूको आर्थिक कमजोरी अनि अभावलाई ध्यानमा राख्दै हामीले वित्तीय वर्ष 2008-09 को अन्त्यतिरै स्वास्थ्य बीमा योजना शुरु गरेका थियौं। यस योजनाअन्तर्गत गरीब अनि भुक्तभोगीको सबै स्वास्थ्य उपचार खर्च राज्य सरकारले बेहोर्नेछ। यहॉंहरूलाई जानकारी भएकै कुरा हो, राज्य सरकारले दुर्गम अनि अभेक ठाउँतिरका जनतालाई पनि समेट्‌न र स्वास्थ्य सेवा उपलब्ध गराउन मोबाइल मेडिकल युनिट शुरु गरिसकेको छ। यसका साथै राज्य सरकारले उच्च स्वास्थ्य उपचारका निम्ति जाने र लगिने रोगीहरूको सुविधाका लागि राष्ट्रिय राजधानी नयॉं दिल्लीमा दुइवटा नयॉं भवन खरिद गरेको जानकारी यस ओजस्वी सदनलाई दिन पाउँदा मलाई धेरै खुशी लागेको छ।

राज्यको मेडिकल बोर्डद्वारा जीवनलाई जोखिम अनि खतरामा पुऱ्याउने किसिमका रोगको उपचारका लागि उच्च आयुर्विज्ञान केन्द्र अनि संस्थानहरूमा पठाइने रोगीहरूलाई मुख्यमन्त्री जीवन रक्षा कोष कार्यक्रमअन्तर्गत समेटिनेछन्‌। यसै योजनाअन्तर्गत दुइवटा कार्यक्रम - मुख्यमन्त्री नेत्रज्योति योजना तथा मुख्यमन्त्री श्रवणशक्ति समृद्धि योजना यस्ता रोगीहरूको आवश्यकता पूरा गर्न तर्जुमा गरिएका छन्‌। रक्तहीनता अनि कुपोषणसित सम्बन्धित समस्या पनि नियमित रूपमा भुँडीको जुका मार्ने औषधिलगायत आइरन फोलिक एसिड (आइएफए) को थप खुराक प्रदान गरी सम्बोधित गरिनेछ भने यसमा शिशु अनि बाल-बालिका, गर्भवती तथा सुत्केरी आमालगायत रक्तहीनताको शिकार पुरुषलाई पनि यसमा समेटिनेछन्‌। मेरो सरकारले 0-12 वर्ष आयुका बालिकाका लागि एमएमआर (दादुरा, हॉंडे वा गलफुलो अनि जर्मन दादुरा) को निम्ति खोप प्रदान गर्न शुरु गरेको छ। यस कार्यक्रमसॅंगै राज्य सरकारको अधीनमा कार्यान्वयन गरिने मुख्यमन्त्री अन्त्योदय पुष्टकर योजनाअन्तर्गत कुपोषणसित सम्बन्धित समस्या निराकरण गर्न प्रोटिनको अतिरिक्त खुराक पनि वितरण गरिनेछ।

भारत सरकारको ध्वजवाहक कार्यक्रम राष्ट्रिय ग्रामीण स्वास्थ्य मिशनअन्तर्गत सङ्गतपूर्ण अनि एकिकृत पहलद्वारा ग्रामीण स्वास्थ्यसित सम्बन्धित कार्यक्रम कार्यान्वयनको सम्बन्धमा उल्लेखनीय अन्तर ल्याइएको छ। सारगत हिसाबले, यस कार्यक्रमका बुँदाहरू अन्तर्गत समुदायका प्रतिनिधिहरू, स्वास्थ्य स्याहार अनि योजना निर्धारणसित सम्बन्धित मुद्दामा क्षेत्रगत सरकारी कर्मचारी अनि अधिकारीगणका लागि गहन क्षमता विकास अनि तालिम सामेल गरिएका छन्‌ जुन जिल्लागत योजना निर्धारण अनि तर्जुमाका लागि प्रारम्भिक आधार बन्नेछन्‌ भने अन्त्यमा राज्य योजनाको खाकामा समेटिनेछन्‌। यस मिशनको मुख्य उद्देश्य अनि लक्ष्य प्राविधिक रूपमा तृणमूल स्तरका कर्मचारीहरूका साथै ग्रामीण समुदायलाई स्वच्छता अनि स्वास्थ्य स्याहारका साथै आरोग्यसित सम्बन्धित विषयमा प्राविधिक रूपमा सबल तुल्याउनु रहेको छ जसद्वारा विकेन्द्रिकृत हिसाबले प्रत्येक गाउँको आवश्यकताका आधारमा कार्ययोजना अख्तियार गर्नसकियोस्‌।

राज्य सरकार सिक्किमका अस्पतालहरूमा उपचाराधीन रोगीहरूलाई पोषणयुक्त खाना उपलब्ध गराउन धेरै कटिबद्ध छ। राज्य सरकारले अस्पतालहरूमा उपचाराधीन रोगीहरूलाई पोषक खाना उपलब्ध गराउने दिशामा काम गरिनै रहेको छ भने यसको निम्ति धनराशि पनि प्रदान गरिसकिएको छ।

माननीय अध्यक्ष महोदय

सिक्किमे जनतालाई थाहा भएकै कुरा हो, हामीले उपलब्ध स्वास्थ्य सुविधा अनि पूर्वाधारहरू नियमित रूपमा बढोत्तरी गर्ने काम जारी राखेका छौं। यस ओजस्वी सदनअघि म चालू वित्त वर्षमा अङ्गीकार गरिने महत्त्वपूर्ण पहलहरूको घोषणा गर्न चाहन्छु।

1. यस वित्तीय वर्षमा रु. 1 करोडको विनिधानसहित साजोङस्थित कुष्ठरोग अस्पताल परिसरमा नयॉं फार्मेसी कलेज शुरु गरिनेछ।

2. सिच्चेमा प्रस्तावित 575 पलङयुक्त अस्पताल निर्माणका लागि यस वित्तीय वर्षमा म रु. 30 करोड छुट्याउन चाहन्छु।

3. स्वस्थ सिक्किमका लागि मुख्यमन्त्री विस्तृत वार्षिक तथा सम्पूर्ण स्वास्थ्य जॉंच (क्याच) नामक विशेष अभियानका लागि म रु. 2 करोड छुट्याउन चाहन्छु। सिक्किमको हरेक गाउँका हरेक व्यक्ति यस स्वास्थ्य योजनामा समेटिनेछन्‌।

4. राज्यका रोगीहरूको निम्ति पोषक खाना अनि औषधिका साथै गुणस्तरीय उपकरणहरू खरिद गर्न म रु. 11 करोडको प्रावधान राख्न चाहन्छु।

5. सबै सिक्किमेका लागि स्वास्थ्य बीमा योजना शुरु गरिसकिएको छ। उपयुक्त अधिनियमहरू तय गरी सरकारी कर्मचारीहरूलाई पनि यस्तै प्रकारको प्रावधानसहित स्वास्थ्य बीमा यसै वित्त वर्षदेखि प्रदान गर्ने घोषणा गर्न चाहन्छु।

6. सिक्किम सरकार विद्यमान कार्यक्रमहरू मार्फत्‌ सिक्किमलाई गलगण्ड वा आयोडिनको कमी, कुपोषणबाट मुक्त, एमडीआरमुक्त अनि एचआइभी/ एड्‌समुक्त राज्य बनाउन प्रतिबद्ध रहेको कुरा जनाउन चाहन्छु, जसलाई जोरदार रूपमा अघि बढाइनेछ भने समय-समयमा अतिरिक्त संसाधन पनि प्रदान गरिनेछ।

सिक्किम एक उत्पादक राज्य

माननीय अध्यक्ष महोदय

हाम्रो कोशिश सिक्किमलाई उपभोक्तावादको संस्कृतिबाट मुक्त बनाउँदै राज्यलाई उत्पादक राज्य अनि जनतालाई उत्पादक नागरिक बनाउनु रहेको छ। विशेष गरी कृषिलगायत यससित सम्बन्धित क्षेत्रमा उत्पादन बढाउँदै उपभोक्ता नभएर राज्यलाई उत्पादक अनि स्वनिर्भर बनाउने हाम्रो पार्टीले सङ्कल्प लिएको छ। राज्यमा सिर्जना भएका मागहरूको आपूर्ति राज्यबाटै हुनसकोस्‌ भन्ने कुरा सुनिश्चित गर्न हामीले अथक प्रयास जारी राखेका छौं। हामी सिक्किमे जनतालाई आफ्नो राज्यमै सेवा र वस्तुहरूको उत्पादन गरी आफ्नो माग आफै पूरा गर्न सक्षम बनेको हेर्न चाहन्छौं। यस अर्थमा, राज्य सरकारले सिक्किमको राज्यमा उपलब्ध कृषि जलवायु क्षेत्र र भौगोलिक रूपमा जैवविविधताले सम्पन्न प्राकृतिक संसाधनको बलमा रणनीतिहरू तर्जुमा गरिरहेको छ। यिनै प्राकृतिक संसाधनको बलमा हामी राज्यभित्र दिगो रोजगार अवसरहरू प्रदान गर्ने दिगो विकासका अवधारणामा काम गरिरहेका छौं। यसको अर्थ माग र आपूर्तिको ग्राफ राज्यमा बराबरी कायम राखिनुपर्नेछ र स्थानीय मागहरू हाम्रै सीपयुक्त मानव संसाधन तथा वस्तु अनि सामानहरूको उत्पादन वृद्धिद्वारा स्थानीय प्रयासमै पूरा गरिनुपर्नेछ। वैश्विक चिन्तनधारा तर स्थानीय हिसाबमा निष्पादनको मूलभूत सिद्धान्तको सन्दर्भमा सिक्किम सरकार देशकै अति प्रगतिशील राज्य दरिन पुगेको छ।

हामी उपभोक्ता राज्यका रूपमा आत्मसन्तुष्ट रहनसक्दैनौं, तर यसको विपरीत हाम्रो जैविक खेतीको माध्यमद्वारा कृषि अनि बागवानी उत्पादहरू निर्यात गर्ने बन्दै प्रगतिशील राज्यको रूपमा स्थापित हुनुपर्नेछ। कृषि, बागवानी, फूलखेती, माछा पालनलगायत सम्बन्धित क्षेत्रका हाम्रा विशेषज्ञ टोलीले आफ्नो प्रयासलाई पारस्परिक रूपमा आदान-प्रदान अनि चर्चा गरी आ-आफ्ना सम्बन्धित क्षेत्रमा सम्भाव्य परियोजनाको प्रभावी कार्यान्वयनका लागि सकारात्मक समाधान लिएर अघि आउनुपर्नेछ। मलाई आशा अनि विश्वास छ, मेरा विधायक मित्रहरूका साथै सरकारी तन्त्रले आफ्नो निष्ठावान्‌ प्रयास अनि ज्ञान यस गहन क्षेत्रमा प्रगतिशील रूपान्तरण ल्याउन समर्पित गर्नेछन्‌, जुन क्षेत्रमा हाम्रा अधिकांश जनसङ्‌ख्या निर्भर छन्‌। ग्रामीण अर्थनीतिमा सुधार ल्याउन गाउँले सहकारी समितिहरूको भूमिका महत्‌ रहेको कुरा स्थापित छ। म यस सन्दर्भमा ती सहकारी समितिहरूलाई व्यापक हिसाबले योगदान दिने बनाउन अरू बढी सहभागी बन्न आह्वान जनाउन चाहन्छु। म खुशीका साथ यस ओजस्वी सदनलाई के जानकारी दिन चाहन्छु भने मल्लीका सहकारी समितिहरूले पोल्ट्री उत्पादनमा धेरै प्रेरणादायी काम गरिरहेका छन्‌। वास्तवमा, खुशीको कुरा के छ भने राज्य सरकारले सफलतापूर्वक कुखुराको मासु उत्पादनमा राज्यलाई शत प्रतिशत स्वनिर्भर बनाउन सकेको छ। हामीले अब राज्य बाहिरबाट कुखुराको मासु आयात गर्नुपर्दैन कारण हाम्रा फार्महरूले राज्यको आवश्यकता पूरा गर्नका साथै राज्यमा तैनाथ सेनाको खपतका लागि तथा छिमेकका भेकहरूका लागि पनि पर्याप्त मात्रामा कुखुरा उत्पादन गरिरहेका छन्‌। अण्डा उत्पादनको सन्दर्भमा हामी यसै चालू वर्षको अन्त्यसम्म शत प्रतिशत स्वनिर्भर बन्नेछौं। यीहरू केही उदाहरण हुन्‌ सिक्किमे जनता उत्पादक बनेका।

क्षेत्रका मानिसहरूको उत्साह अनि जोशलाई ध्यानमा राख्दै हामी मल्लीमा कुखुराको मासु परिशोधन एकाइ स्थापित गर्ने दिशामा अघि बढिरहेका छौं। यसै गरी मङ्गलबारेमा सहकारी आधारमा प्रगतिशील कृषकहरूलाई लिएर पोल्ट्री ईस्टेट स्थापना गरिँदैछ, जुन देशकै पहिलो हुनेछ। यसका अतिरिक्त आसम लिङजे अनि मल्ली डॉंडामा दुइवटा नयॉं सुँगुर उत्पादन फार्म राज्यमा सुँगुरको बच्चा उत्पादन बढाउन स्थापित गरिँदैछ। यहॉंहरूलाई खुशीको कुरा के पनि जनाउन चाहन्छु भने पूर्व सिक्किमको सोकेथाङमा पूर्वोत्तर परिषद्‌को सहायतामा आवासीय सुविधायुक्त पशु स्याहार अनि सेवाका लागि पूर्णकालिक क्षेत्रीय तालिम केन्द्रको निर्माण गरिनेछ। रम्फूमा माछा पालन तालिम केन्द्रसॅंगै क्योङस्ला अनि बाबा मन्दिरनजिक दुइवटा नयॉं ट्राउट माछा फार्म स्थापित गरिनेछ। चालू वित्त वर्षमा धेरै दूध दिने 750 वटा गाई पनि राज्यमा ल्याइनेछ। यस ओजस्वी सदनलाई जानकारी गराउन चाहन्छु, आदर्श डेरी फार्मको रूपमा काम गर्न मदर डेरी फार्म कार्फेक्टारमा स्थापित गरिनेछ।

कृषि क्षेत्र विश्वमै सबैभन्दा महत्त्वपूर्ण छ भने हाम्रो प्रयास धेरैभन्दा धेरै शिक्षित सिक्किमे युवाहरूलाई कृषि, बागवानी अनि फूलखेतीलाई उद्योगको रूपमा ग्रहण गर्न आकर्षित गर्नुरहेको छ। फूलखेतीको सम्बन्धमा सिक्किम अहिले नै देशको प्रथम राज्य स्थापित छ भने यसलाई थप प्रोत्साहित गर्दै वैश्विक परिप्रेक्ष्यमा फूल उत्पादमा प्रमुख योगदान दिनसक्ने बनाउन काम गरिनेछ। प्रविधि हस्तान्तरण, निविष्टि आपूर्ति, फसल कटाई अघि अनि पछिका लागि प्रविधि, विपणन्‌ आदि योजनाबद्ध तरिकाले सङ्गठित गर्दै असल परिणामका लागि विवेकसम्मत्‌ हिसाबले प्रयोगमा ल्याइनेछ। यो काम विशेष रूपमा अलैंचीका बिरुवाहरू पुनः रोप्ने सन्दर्भमा प्रयोग गरिनेछ। यसै गरी बढी महत्त्व चिया खेतीका साथै नयॉं बगान अनि सुन्तलाको खेतीको कायापलट गर्न बढी बल दिइनेछ।

राज्य सरकारको कुनै खर्चबिनै शत प्रतिशत किन्ने वचनका साथ चिराइता, कुटकी, बोजोलगायत अन्य औषधीय वनस्पतिको निम्ति अनुबन्ध खेतीद्वारा ग्रामीण अर्थनीतिलाई सुधार ल्याउन सिम्फेडले बङ्गलोरको हिमालय ड्रग कम्पनीसॅंग मिलेर काम गर्ने व्यवस्था गरिरहेकोमा मलाई खुशी लागेको छ।

हाम्रा कृषकहरूलाई थप बजार-बिक्रीको सुविधा उपलब्ध गराउन, चारवटा किसान बजार चारै जिल्लामा निर्माण गरिनेछन्‌ भने गाउँहरूमा 16 वटा किसान बजार बीडीओ स्तरमा निर्माण गरिनेछन्‌। यसको निम्ति चालू वित्त वर्षमा म रु. 9 करोड विनिधान पेश गर्न चाहन्छु। हामी यो परियोजना हाम्रा कृषक समुदायद्वारा जैविक रूपमा उत्पादित कृषि उत्पादको निम्ति सधैं तयार बजार उपलब्ध गराउनका साथै उपभोक्ताहरूको माग पूरा गर्नखातिर गरिरहेका छौं। म मेरा विधायक मित्रहरूलाई सम्बन्धित विभाग, कृषकहरूसहित स्थानीय निकायका प्रतिनिधिहरूसित बसेर सबै विकासीय कार्यक्रमका सम्बन्धमा व्यावहारिक लक्ष्य तय गर्न आह्वान गर्न चाहन्छु, जुन सिक्किमलाई कृषिलगायत यससित सम्बन्धित फसलहरूको उत्पादनमा वृद्धि ल्याउन तथा यी उद्यमहरूबाट उत्पादनलाई निर्यातको निम्ति पर्याप्त बनाउन निर्धारित गरिएका छन्‌।

औद्योगिक उत्पादनका सन्दर्भमा, हाम्रो सरकारले युक्तिसङ्गत नीतिहरू प्रतिपादित गरेको छ जुन लगानीकर्ताहरूलाई लघु स्तरीय, स्वच्छ तथा पर्यामैत्री उद्यममा निवेशका लागि आकर्षित गर्न र स्थानीय बेरोजगार युवाहरूलाई रोजगार अवसर उपलब्ध गराउन लक्षित छ। औषधि कम्पनी, खाद्य परिशोधन, आतिथ्यलगायत सेवा क्षेत्रका उद्योगहरूमा भइरहेका क्रमागत निवेशहरू यस क्षेत्रमा भइरहेका उल्लेखनीय विकास अनि बढतका केही उदाहरण हुन्‌।

सिक्किम जैविक मिशन

सिक्किमलाई पूर्णरूपले जैविक राज्य बनाउने मेरो आह्वानले क्षेत्रका सम्पूर्ण जनताका साथै देशकै पनि ध्यान आकर्षित गरेको छ। कृषि अनि खेतीका लागि 14 प्रतिशतभन्दा कम्ति उपलब्ध भूमिमा तथापि राज्यको सकल घरेलु उत्पाद अंश सन्‌ 1980-81 को 48.7 प्रतिशतबाट घटेर 2006-07 मा 18.8 प्रतिशत पुगेको थियो। यसो हुँदा हामीले विश्वका स्वास्थ्यप्रति सचेत तथा रासायनिक तरिकाले उत्पादित वस्तुहरू टाढा राख्न चाहने जमातलाई गुणस्तरीय जैविक उत्पाद आपूर्ति गराउन माध्यमको खोजी गरिरहेका छौं।

अधिकांश रूपमा पाहाडी राज्यहरूमा जैविक खेती विधि स-साना खेत-बारीमा जीविकोपार्जनका माध्यम मात्र बन्ने गरेका छन्‌ भने त्यही खेती विधिले मध्य भारतीय राज्यहरूमा वैकल्पिक कम खर्चिलो खेती प्रदान गरिरहेका छन्‌। यहॉं सिक्किमले जैविक खेती विधि खेतबारीको मलिलोपनमा सुधार ल्याउन अङ्गीकार गरिरहेको छ।

माननीय अध्यक्ष महोदय, हाम्रो पहल सिक्किमको हरेक इञ्च माटोलाई जैविक रूपमा सम्भाव्य अनि दिगो भूमिमा परिवर्तित गर्न विस्तृत प्याकेज नै उपलब्ध गराउने किसिमको छ। गर्वसाथ म यहॉं बङ्गलोरको इन्टरनेशनल कम्पिटेन्स सेन्टर फर अर्गेनिक एग्रिकल्चरद्वारा प्रकाशित एउटा महत्त्वपूर्ण पत्रिका "द इण्डिया अर्गेनिक पाथवे' का केही हरफ उल्लेख गर्ने अनुमति चाहन्छु। उक्त पत्रिकामा लेखिएको छ, "सिक्किमलाई जैविक राज्य घोषित गरिसकिएको छ र रासायनिक कीटनाशक भित्र्याउन प्रतिबन्धित छ।' जैविक खेतीका सम्बन्धमा सिक्किमलाई एउटा ब्राण्डको रूपमा प्रवर्धन गर्नखातिर यस प्रकारको राष्ट्रिय अनि अन्तरराष्ट्रिय मान्यताको सदुपयोग गर्न म सबै सिक्किमे जनता साथै सरकारी तन्त्रलाई आह्वान जनाउन चाहन्छु।

जैविक खाद्य उत्पादको खुद्रा व्यापारको भविष्य धेरै उज्यालो छ जुन हालको रु. 3 हजार करोडबाट बढेर आउँदो 2015 सम्म डेढ लाख करोड पुग्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त हाम्रो भूमिलाई पूर्ण जैविक बनाउने निरन्तर प्रयाससॅंगै जैविक मिशनबाट प्राप्त हुने अन्य फाइदाहरू लिन गरिनुपर्ने प्रयासमा जैविक प्रमाणिकरण, प्रतिस्पर्धी जैविक उत्पाद बजारको खोजी तथा प्रभावी मूल्य चिन्हित गर्न पनि त्यति नै आवश्यक छ। यी पहलहरूलाई सुगम तुल्याउन म यस वित्तीय वर्षमा रु.20 करोडको प्रावधान राख्न चाहन्छु।

सिक्किम हरित अभियान

सन्‌ 1995-96 मा "हरित क्रान्ति वर्ष' पालन गर्नसॅंगै हामीले राज्यलाई देशकै श्रेष्ठ हरित राज्यको रूपमा स्थापित गर्न सफलता हासिल गरेका छौं। हामी यहॉं गर्व अनि सन्तुष्टिका साथ के दाबी गर्नसक्छौं भने हामीले हरित अभियान 2006 लाई समर्पित नियमित कार्यक्रमद्वारा सन्तोषजनक हिसाबले अघि बढाइरहेका छौं। हालै अन्तरराष्ट्रिय गुरॉंस उत्सव सफलतापूर्वक आयोजन गरियो भने यसबाट विशेष अनि व्यापक रूपमा मान्यता अनि सम्मान पाउन सफल बन्यौं।

सिक्किम सरकारले मौसम परिवर्तनका असरसम्बन्धी चिन्ताका साथै कार्बन डाइअक्साइड उत्सर्जन कटौती गर्ने विषयलाई पर्याप्त रूपमा सम्बोधित गरिनै रहेको छ। केन्द्र सरकारले पनि हरित भारत अभियान दस्तावेज 2020 को मस्यौदा तयार पारेको छ जुन सन्‌ 2020 सम्म 20 मिलियन हेक्टर थप वन क्षेत्र बढाउने र ग्रीन हाउस ग्यास उत्सर्जनलाई 6.35 प्रतिशतले घटाउने लक्ष्य राखेको छ जुन अन्यथा 1.5 प्रतिशतभन्दा कम हुनेछ।

यहॉंहरूलाई थाहा भएकै कुरा हो, हामीले राज्यमा हिमनदी तथा मौसम परिवर्तन आयोग गठन गरेका छौं जहॉं वैज्ञानिकहरूले हाम्रा हिमनदीहरूका व्यवहारको रौंचिरा पर्यवेक्षण अनि गहन अध्ययन गरिरहेका छन्‌। अध्ययनपछि पत्तो लागेका कुराहरू धेरै सकारात्मक छन्‌ र त्रास फैलाइएअनुरूप त्यस्तो गम्भीर खतरा केही छैन। राज्य सरकारले सिक्किमको निम्ति मौसम परिवर्तनमाथि जर्मन टेक्निकल कोअपरेशनको प्राविधिक सहयोगमा कार्ययोजना तयार पार्ने पहल शुरु गरेको छ। राज्य सरकारले यसका साथै इण्डो-जर्मन डेभेलपमेन्ट कोअपरेशनको अधीनमा सिक्किममा मौसम परिवर्तन अनुकूलन परियोजना तयार पार्ने काम गरिरहेको छ।

अरू व्यापक फॉंटमा, नयॉं अध्ययनले के कुरा उजागर गरेको छ भने ब्रह्मपुत्र, सिन्धु अनि याङसेलगायत एशियाका पॉंच विशाल नदीहरूलाई निरन्तरता दिने हिमालयका हिमनदीहरू सन्‌ 2035 सम्म पग्लेर जानेछैन। यसै परिप्रेक्ष्यमा म हिमनदीहरू अनि सम्बन्धित शोध कार्यको निम्ति रु. 30 लाखको धनराशि छुट्याउन चाहन्छु।

जैव-प्रविधि मिशनअन्तर्गत सिक्किम सरकारले पूर्व सिक्किमको रूम्तेकनजिक साजोङमा जैव-प्रविधि शोध तथा व्यवहार केन्द्र निर्माण गर्ने निधो गरेको छ। यसका अतिरिक्त नवीनतम प्रविधिका साथै अत्याधुनिक उपकरणको सुविधा प्रयोग गर्दै यहॉं ग्रीनहाउसहरू पनि निर्माण गरिनेछन्‌। यहॉं टिस्यू कल्चर अनि आर्थिक रूपमा महत्त्वपूर्ण तर सङ्कटग्रस्त वनस्पति प्रजातिको वानस्पतिक प्रजनन्‌ गरिनेछ। यस वित्त वर्षमा जैवप्रविधि मिशनअन्तर्गत कामहरू अघि बढाउन म चालू वित्त वर्षका लागि रु. 30 लाखको प्रावधान राख्न चाहन्छु।

गर्वसाथ म के पनि जानकारी दिन चाहन्छु भने सिक्किमका एघाह्रजना शोधकर्ताहरू नेशनल सेन्टर फर बायोलजिकल साइन्स र अशोक ट्रस्ट फर रिसर्च इन्‌ ईकोलजी एण्ड ईन्भाइरनमेन्ट, बङ्गलोरमा चुनिएका छन्‌।

हरित पहल अनि सहुलियतका कैयौं कार्यक्रम कार्यान्वयन गर्नबाहेक हामीले "पृथ्वीको निम्ति 10 मिनट' कार्यक्रम सन्‌ 2009 देखि शुरु गरेका छौं। मेरो सरकारले शुरु गरेको यस विशेष कार्यक्रमलाई सालेनी बिरुवा रोपन उत्सवको रूपमा पालन गरिनेछ। यस वर्ष 25 जूनको दिन लाखौं सिक्किमे जनताले राज्यभरी हजारौं हजार बिरुवा रोप्नेछन्‌।

हाम्रो हरित अभियानलाई अझ बल प्रदान गर्न, म यस ओजस्वी सदनलाई के जानकारी दिन चाहन्छु भने, मेरो सरकारले राज्यमा चॉंडै स्वच्छ वायु ऐन, जल गुणस्तर ऐन, पर्यावरण नीति ऐन, कीटनाशक ऐन तथा सङ्कटग्रस्त प्रजाति ऐनका लागि विधेयक तर्जुमा गर्नेछ। म यहॉं खुशीका साथ के जानकारी दिन चाहन्छु भने हाम्रो फोहोर-मैला अरू वैज्ञानिकतम्‌ तरिकाले प्रबन्धन गर्न कतै जिम्मा लगाउने दिशामा काम गरिरहेका छौं ताकि फोहोर पानीलाई शोधन गरी प्रयोगमा ल्याउन सकियोस्‌ साथै फोहोरहरूलाई पनि फलप्रद उद्देश्यका लागि शोधन गर्नसकियोस्‌।

माननीय अध्यक्ष महोदय

राज्य सरकारलाई निरन्तर सहयोग प्रदान गरिरहेकामा म सिक्किमे जनता, पञ्चायतगण, एनजीओहरू, नागरिक समाजका सदस्यहरूका साथै सरकारी तन्त्रप्रति आभार व्यक्त गर्न चाहन्छु। परापूर्व कालदेखि प्रकृतिको नजिक रही प्रकृतिको सबै स्वरूपलाई पूजा गर्ने परम्पराले हाम्रो हरित अभियानलाई अरू सुडृढ मात्र नबनाएर विश्व समुदायलाई नै यस प्रकारको पहल शुरु गर्न प्रेरित पनि गरेको छ। यस हरित अभियानलाई राज्यमा कायम राख्म म वर्ष 2010-11 का लागि रु. 1 करोडको प्रावधान राख्न चाहन्छु।

पर्यापर्यटन गन्तव्य

पर्यटन क्षेत्रमा देखिएका सम्भावनाहरू दोहन गर्ने हाम्रो प्रयासले यस उद्यमसित सम्बन्धित सबै सरोकारवाला लाभान्वित हुनथालेका छन्‌, विशेष गरी उर्ध्वगामी उद्योगसित सम्बन्धित सबै पक्षमा स्थानीय युवाहरूले राम्रो स्वरोजगारको अवसर पाउन थालेका छन्‌।

हामीले लगानीमैत्रीका साथै पर्यावरणको सुरक्षाका सम्बन्धमा कडा कानूनी प्रावधानलगायत स्थानीय युवाहरूलाई रोजगारको प्रत्याभूति प्रदान गर्ने पर्यटन नीति अख्तियार गरेका छौं। यतिका वर्षमा धेरै वर्गका असङ्‌ख्य होटल स्थापित भइसकेका छन्‌ र धेरै यस्ता प्रस्तावहरू मार्गमा छन्‌। यी सबै पक्ष अनुकूल परिवेशका सूचक हुन्‌, यहॉंको आद्य अनि मनमोहक पर्यावरणको कारण मात्र होइन, तर शान्ति र सद्‌भावको वातावरणलगायत निवेशमैत्री नीतिहरूको परिणामस्वरूप यी लगानीकर्ताहरू यहॉं आकर्षित भएका हुन्‌। यी सबै राज्यको आर्थिक गतिविधिका सन्दर्भमा उदाउँदा क्षेत्र हुन्‌ र म विश्वस्त छु, सिक्किम जहॉं अहिले देशकै प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित भइसकेको छ, यसले विश्व मानचित्रमा पनि सम्मानजनक ठाउँ अवश्यै पाउनेछ। समृद्ध सांस्कृतिक धरोहर, शान्ति अनि सद्‌भाव, सास थामिने असङ्‌ख्य प्रजातिका वनस्पति अनि वन्यप्राणीले युक्त प्राकृतिक सौन्दर्य तथा मिलनसार र सत्कारशील जनता सुयोग्य कारकहरू हुन्‌, जुन महान्‌ अनि अन्तरङ्ग शक्ति हुन्‌ जुन वरदान हामीले पर्यटन उद्योगको यस प्रचुर सम्भावना दोहनका निम्ति पाएका छौं।

ग्रामीण जनताको आर्थिक उन्नति र जीविकोपार्जन उन्नयन सुनिश्चित गर्ने सरकारको प्रयासअन्तर्गत केही महान्‌ परियोजनाहरू तीर्थाटन प्रवर्धन गर्ने हिसाबले अङ्गीकार गरिएको थियो भने यसको शुरुवात साम्ड्रुप्चेमा 135 फीट अग्लो गुरु पद्मसम्भवको मूर्ति स्थापनाबाट भयो, जसले सोलोफोकमा निर्माणाधीन चारधामको निम्ति पूरकको काम गर्ने अपेक्षा गरिएको छ। यसका साथै यी परियोजनाहरूका नजिक परिसरमा आगन्तुकहरूको सुविधाका लागि थप पूर्वाधारहरू जस्तै ऋषि कुटीर, ध्यान केन्द्र आदि पनि निर्माण गर्न आवश्यक महसुस गरिएको छ। यी परियोजनाहरूको वास्तु परिकल्पना अनि कार्यान्वयनका लागि कार्ययोजना तयार पार्न हामीले परामर्शीहरू खटाइसकेका छौं। अर्को बौद्ध उद्यानको रूपमा तीर्थाटन केन्द्र राभङलामा निर्माणाधीन छ जुन चॉंडै पूरा हुने आशा गरिएको छ। यसै गरी पश्चिम सिक्किममा राज्य सरकारले चेनरेगिजको मूर्ति निर्माण गरिरहेको छ। यसका अतिरिक्त याङयाङमा सांस्कृतिक केन्द्र, गेजिङमा भानुभक्त अध्ययन केन्द्र, सिरिजङ्गा अध्ययन केन्द्रलगायत तेञ्जिङ-हिलेरी उद्यानको निर्माण पनि यसै वित्तीय वर्षमा पूरा हुनेछ। कञ्चनजङ्‌घा पर्यटन ग्राम तथा सामाजिक-सांस्कृतिक केन्द्र एवं मनोरञ्जन उद्यानको निर्माण कार्य राङ्कामा पूरा भइसकेको छ जसलाई भारतकी महामहिम राष्ट्रपति श्रीमती प्रतिभादेवी सिहं पाटिलद्वारा 15 अप्रेल, 2010 को दिन उद्‌घाटन गरियो। वास्तवमा हामीले हाम्रै तीर्थाटन अनि सांस्कृतिक पर्यटन चक्र राज्यमा विकास गरिरहेका छौं। यी पूर्वाधारहरूको विकास सिक्किमलाई देश साथै विदेशका पर्यटकहरूका लागि प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गर्नका साथै स्थानीय उद्यमीहरूका लागि आतिथ्यलगायत यससित सम्बन्धित क्षेत्रमा आफ्नो आर्थिक उन्नति र जीविकाका लागि कारोबार केन्द्रको रूपमा सुविधा उपलब्ध गराउन केन्द्रित छन्‌। रामायण बस्तीको विकास पनि सरकारले सोचिसकेको छ जसको निर्माण कार्य चॉंडै शुरु गरिनेछ। राज्य सरकारले यसरी नै भालेढुङ्गामा महत्त्वकाङ्‌क्षी स्काई वक परियोजना स्थापित गर्ने तय गरेको छ जुन सिक्किमको निम्ति मात्र नभएर देशकै निम्ति नौलो परियोजना हुनेछ। म यस ओजस्वी सदनलाई के जानकारी दिन चाहन्छु भने 13 औं वित्तीय आयोगले यस परियोजनाको निम्ति अघिबाटै रु. 2 सय करोड अनुमोदन गरिसकेको छ। यस सम्बन्धमा रामायण बस्तीका लागि रु. 50 लाख तथा स्काई वक परियोजनाको परामर्श खर्चको निम्ति रु. 1 करोड धनराशि छुट्याउन चाहन्छु।

राज्यमा पर्यटक आगमनको सङ्‌ख्या वृद्धि उल्लेखनीय रहेको छ। हामीले उपलब्ध भौतिक पूर्वाधारहरू अझ बढाउनुपर्नेछ ताकि आउने दिनहरूमा बढ्‌दो सङ्‌ख्यामा आएका पर्यटकहरूलाई आवासका साथै सुविधाहरू उपलब्ध गराउनसकौं। यसका साथै आतिथ्य कारोबारमा संलग्न सबै सरोकारवालालाई समेट्‌दै सुनियोजित क्षमता विकास पहल पनि गर्न आवश्यक छ। हामीले स्थानीयका साथै राज्य बाहिरका निजी निवेशकहरूका परियोजना प्रस्तावलाई अनुकूल अनि साध्य नीति ढॉंचाअन्तर्गत सुगम बनाउनुपर्नेछ। यी मुद्दाहरूबाहेक, हामीले भावी योजना अनि कार्यक्रमहरू राज्यमा पर्यापर्यटनको प्रवर्धनपछि प्राप्त सफलतालाई ध्यानमा राख्दै त्यसलाई दिगो राख्न सहायक पूर्वाधार सहयोगहरू जुटाउने कुरालाई पनि सम्बोधित गर्नुपर्नेछ।

माननीय अध्यक्ष महोदय, हामी राज्यको पर्यटन सम्भावनालाई राज्यभरी उपयुक्त ठाउँहरूमा पर्यटन सुविधाहरू जुटाई बढाउन चाहन्छौं। तथापि, धेरै परिप्रेक्ष्यमा, भूमिको स्वामित्त्व अधिकांश रूपमा निजी हातमा छन्‌। यसो हुँदा, आउने केही वर्षमा देखिने सम्भावित वृद्धि दरलाई ध्यानमा राख्दै विभिन्न पूर्वाधार अनि पर्यटन केन्द्रको निर्माण आफै गर्न थप भूमि अधिग्रहण राज्यले गर्नेछ।

जलविद्युत क्षमताको दोहन

हाम्रो समृद्ध प्राकृतिक संसाधनलाई स्वनिर्भरता हासिल गर्ने अभियानसित यो नजिकबाट सम्बन्धित छ। मेरो सरकारले विवेकसम्मत्‌ तरिकाले प्रचुर मात्रामा उपलब्ध जलविद्युत सम्भावनालाई केही तत्त्वबाट विकास प्रक्रियामा भॉंजो हाल्ने कोशिश गरिए पनि साहसिक कदम चालेको छ। करिब आठ हजार मेगावाट जलविद्युत क्षमताले युक्त सिक्किममा हामीले अहिलेसम्म केवल 610 मेगावाट बिजुली उत्पादन गर्ने परियोजना परिचालन गर्नसकेका छौं भने अझै पनि धेरै बॉंकी रहेको छ।

अहिलेसम्मको कूल 610.70 मेगावाट बिजुली 510 मेगावाटको टिस्टा चरण पॉंच परियोजना र 60 मेगावाट रङ्गीत परियोजनालगायत अन्य लघु अनि सूक्ष्म जलविद्युत परियोजनाबाट उत्पादित हुँदछ।

हामीले 21 वटा जलविद्युत परियोजना कार्यान्वयन गर्ने तय गरिसकेका छौं जसको काम संयुक्त रूपमा राज्य सरकारले नामी विद्युत उत्पादक निजी कम्पनी अनि राष्ट्रिय जलविद्युत परिचोजना निगमसित समझदारी गरिसकेका छ। यी परियोजनाहरूबाट कूल 5 हजार मेगावाट स्थापित विद्युत उत्पादन हुनेछन्‌। चारवटा परियोजना एघाह्रौं पञ्च वर्षीय योजनाकालभित्रै परिचालन हुने अपेक्षा गरिएको छ जसको स्थापित क्षमता 19 सय मेगावाटको हुनेछ। सिक्किम विद्युत विकास निगम (एसपीडीसी) ले राज्य सरकारसॅंग पीपीपी विधिअनुरूप कार्यान्वयनका लागि अन्य परियोजनाको निम्ति पहल गर्नेछ। यी सबैमा एसपीडीसी र सिक्किम सरकारले 26 प्रतिशत अंशका साथै 15 वर्षका लागि 12 प्रतिशत अनि त्यसपछि अनुबन्ध समझदारीअनुरूप 35 वर्षसम्म 15 प्रतिशत निःशुल्क विद्युत प्राप्त गर्नेछ। पीपीपी अनुबन्धअन्तर्गत यी व्यवस्थाबाहेक, अनुबन्ध समझदारीबाट पनि यी परियोजनाहरूमार्फत्‌ आकर्षक लाभांश राज्यले पाउनेछ।

बजारहरूको आधुनिकीकरण र सौन्दर्यकरण

सौन्दर्यकरणलगायत अन्य विकासीय कार्यको प्रसङ्गमा हामीले गान्तोक अनि केही प्रमुख नगर क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छौं। यी रचनात्मक प्रयासको फलस्वरूप नगरक्षेत्रका बासिन्दाहरूको मानसिकता परिवर्तन गर्न तथा आफ्नो वरिपरीको वातावरणको सुरक्षा गर्ने सम्बन्धमा सकारात्मक विचारधारा विकास गर्नसकिएको छ। सबै सरोकारवालालगायत व्यापारी समुदाय अनि स्थानीय जनताको सक्रिय सहभागितामा एमजी मार्गको नाट्य रूपान्तरणले हामीसित शासनको आदर्श तन्त्र छ जुन राज्य सरकारको विकासीय पहललाई आत्मसात गर्न अग्रसर छ भन्ने कुरा स्पष्ट पार्दछ।

सौन्दर्यकरण अभियानअन्तर्गत निजी अनि सरकारी भवन निर्माणका लागि समान, गुणस्तरीय अत्याधुनिक वास्तु नमूना र कार्ययोजना अख्तियार गरिनेछ। राज्य सरकारले ती वास्तु नमूनाहरू कडा रूपमा पालन गराउँदै हाम्रो भौगोलिक परिदृश्यको सौन्दर्य कायम राख्नुपर्ने कुरा म यहॉं प्रस्तावित गर्न चाहन्छु।

राजधानी शहरको मुटुमा रहेको महात्मा गान्धी मार्गको नयॉं स्वरूपलाई हाम्रा जनताका साथै पर्यटकहरूले सराहना गरेको कुरा म यहॉं विनयपूर्वक सदर गर्न चाहन्छु। यसै गरी नाम्ची बजारलाई पनि विशेष अनि आकर्षक रूप दिने काम पूरा गरिएको छ। यस अतिरिक्त म राज्यका अन्य शहर-बजार जस्तै मल्ली बजार, माखा बजार, नामथाङ बजार, कलुक बजार, याङगाङ बजार, रिनाक बजार, रङ्गली बजार, पाकिम बजार, सोरेङ बजार, मणिराम भञ्ज्याङ बजार, रानीपुल बजार, किउजिङ बजार, सोमबारे बजार, दक्षिण सिक्किमको माझीटार बजार अनि देन्ताम बजारलाई पनि थप फ्लाइओभरका साथै शहर-बजारका प्रमुख ठाउँहरूमा पैदलगामी पथ निर्माण गरी यसै हाराहारीमा बढोत्तरी अनि सौन्दर्यकरण गर्ने प्रस्ताव राख्न चाहन्छु। यस उद्देश्यका लागि म चालू वित्त वर्षमा रु. 7 करोडको धनराशि छुट्याउन चाहन्छु।

सम्पूर्ण विकेन्द्रिकरण तथा विनियोजन

एसडीएफ सरकारको सिद्धान्तमा अन्तरनिहित लोकतान्त्रिक आदर्श हाम्रो 16 वर्षे शासनकालमा स्पष्ट रूपमा प्रदर्शित छ। संविधानको 73 औं संशोधनअनुरूप पञ्चायतीराज संस्थानलाई संस्थागत रूप दिनका साथै हाम्रो सरकारले संविधानको 74 औं संशोधनको अधीनमा शहरी स्थानीय निकायको चुनाउ शान्तिपूर्वक अनि सुव्यवस्थित ढङ्गले सम्पन्न गराई अर्को ऐतिहासिक माइलखुट्टी स्थापित गरेको छ। यस चुनाउमा पनि पार्टीले पाएको विपूल जनमतले राज्यमा पारदर्शी अनि लोकतान्त्रिक जन सरकारप्रति अझ पनि त्यति नै आस्था र विश्वास रहेको कुरा प्रमाणित गरेको छ। ऐतिहासिक रहेको सम्पूर्ण चुनाउ प्रक्रिया शान्तिपूर्ण अनि सुव्यवस्थित रहेको थियो जसको निम्ति म सबै आदरणीय सिक्किमे जनतालाई सक्रिय रूपमा सहभागी बनिदिएकोमा तथा चुनाउलाई निष्पक्ष, स्वतन्त्र अनि शान्तिपूर्वक सञ्चालन गरेकोमा राज्य चुनाउ आयोगलाई बधाई दिन चाहन्छु। संविधानको 74 औं संशोधनअनुरूप अघि आएको नयॉं शासनतन्त्रले राज्यको विकासीय परिप्रेक्ष्यमा नयॉं आयाम अवश्यै थप्नेछ।

स्थानीय शहरी निकायका सबै निर्वाचित सदस्यहरूलाई पनि बधाई टक्राउँदै म उनीहरूलाई आफ्नो नेतृत्त्व सौम्य, परिपक्वता अनि लगनका साथ समुदायको कल्याणका साथै नागरिक परिवेशमा सुधार ल्याउन र जनतालाई बुनियादी सुविधा सुनिश्चित गराउन काम गर्न आह्वान जनाउन चाहन्छु। आफ्नो कार्यभार अनि दायित्त्व पूरा गर्न सक्षम तुल्याउन तथा अरू विकल्पसहित अधिकारसम्पन्न बनाउन म पञ्चायत विवेकाधीन कोषको निम्ति रु. 5 करोडको प्रावधान राख्न चाहन्छु जुन दुवै ग्राम पञ्चायत स्तरका पञ्चायत अनि शहरी निकायका सदस्यहरूले बराबरी उपयोग गर्नपाउनेछन्‌।

समावेशी अनि सहभागितामूलक शासनसहित लोकतान्त्रिक विकेन्द्रिकरण राज्यको हरेक पञ्चायत प्रशासनिक एकाइमा स्थापित गरिएको छ। खण्ड प्रशासनिक केन्द्रहरूको सिर्जनाका साथै शासनको प्रत्येक सूक्ष्म प्रक्रियामा विकेन्द्रिकृत जिल्ला योजना राज्यभरी सञ्चालनमा ल्याइएको छ। ग्राम पञ्चायत अनि जिल्ला पञ्चायतका निर्वाचित प्रतिनिधिका साथै जिल्ला स्तरीय अधिकारीहरू सामेल गरी योजना प्रक्रियालाई तलदेखि माथि चड्‌ने क्रम साकार तुल्याइएको छ। पञ्चायतीराज संस्थानलाई अधिकारसम्पन्न तुल्याउने ध्येयले प्रत्येक विकासीय क्षेत्रको योजना परिव्ययको 10 प्रतिशत अंश विकेन्द्रिकृत विनिधानको रूपमा छुट्याइनेछ जुन ग्राम अनि जिल्ला पञ्चायतको क्षेत्राधिकारभित्र स्वतन्त्र रूपमा प्रयोग गर्नसकिनेछ। विकेन्द्रिकृत शासनतन्त्रअन्तर्गत बीडीओहरूलाई आफ्नो कार्यभारमा सघाउ पुऱ्याउन खण्ड विकास कमिटीहरू गठन गर्दै खण्ड विकास एकाइहरूलाई थप प्रशासनिक अधिकार प्रदान गरी सुदृढ बनाउने प्रस्ताव पनि हामीसित विचाराधीन छ।

विधायक - स्थानीय क्षेत्र विकास कोष

एघाह्रौं पञ्च वर्षीय योजनाकालको अन्त्यसम्म दुइअङ्के विकास दर हासिल गर्ने हाम्रो स्पष्ट कार्यसूत्र छ। यस उद्देश्य प्राप्तिका लागि चालिने कदमहरू सबै नागरिकको कल्याण अनि सुधारका लागि समावेशी बढतमाथि केन्द्रित रहनेछ। मेरा प्रिय मित्रगण, माननीय विधायकगण सबै नै आफ्नो योग्यताअनुरूप जनसेवामा समर्पित हुने साझा उद्देश्यले बॉंधिएका छन्‌। यस वित्त वर्षदेखि शुरु गर्दै म विधायक- स्थानीय क्षेत्र विकास कोषका लागि रु. 8 करोडको प्रावधान राख्न चाहन्छु। यस धनराशिबाट सबै विधायकका लागि आफ्नो क्षेत्रमा महत्त्वपूर्ण कार्य निष्पादनका लागि बराबरी अंश छुट्याइनेछ।

गाउँ विकास मिशन

एघाह्रौं पञ्चवर्षीय योजनाकालमा बल दिइएका रणनीति अनि उद्देश्यहरूलाई ध्यानमा राख्दै मेरो सरकारले निरन्तर रूपमा 7.79 प्रतिशतको चित्ताकर्षक बढत दर कायम राख्न जोर दिइनेछ जुन मेरो विचारमा हासिल गर्नसकिनेछ। युपीए सरकारको साझा न्यूनतम्‌ कार्यक्रमअन्तर्गतका ध्वजवाहक कार्यक्रमहरू राज्यको कार्ययोजनामा पनि रेखाङ्कित रहनेछ तथा हाम्रो विकासीय रणनीति राज्यको दुवै शहरी अनि ग्रामीण स्तरका नागरिकले भाग लिनसक्ने र हाम्रो उदाउँदो बढत प्रक्रियाको फाइदा लिनसक्ने सुनिश्चित गराउन समावेशी बढतमाथि केन्द्रित रहनेछ। मानव संसाधन विकाससहित हरेक सिक्किमेको सुरक्षा र जीविका अनि खुशीको निधि सुनिश्चित गराउने कार्यलाई सम्बोधित गर्ने क्रम जारी रहनेछ। म मेरा विधायक मित्रगणलगायत शहरी अनि ग्रामीण स्थानीय निकायका नेतृत्त्वहरूलाई शहरी-ग्रामीण विकास क्रमलाई पूरक तुल्याउने दिशामा काम गर्न आह्वान जनाउन चाहन्छु।

देशका अन्य भागहरूका विपरीत, सिक्किममा ग्रामीण-शहरी दूरी घट्‌दै जॉंदैछ जुन राज्य सरकारको खुल्ला सहयोग अनि सहायतामा फ्रीबर्ग युनिभर्सिटीका प्रोफेसर बरनार्ड डाफलनद्वारा तयार भइरहेको समर्पित कार्यक्रम ग्राम कार्ययोजनाको प्रतिफल हो। प्रो. डाफलनद्वारा तयार पारिएको प्रतिवेदन तयार भइसकेको छ जुन गाउँहरूको पर्याशहर अवधारणामा विकास गर्ने वैज्ञानिकतम्‌ मार्गचित्रको रूपमा चॉंडै लोकार्पण गरिनेछ। ग्राम कार्ययोजना सम्पादनका लागि म यस वित्त वर्षमा रु. 50 लाख धनराशि छुट्याउन चाहन्छु।

स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन

माननीय अध्यक्ष महोदय

हामीसित उपलब्ध युवा जमातको मानव संसाधन सिर्जनशीलता, गतिशीलता अनि कल्पनाशक्तिका सन्दर्भमा विश्वस्पर्धी छन्‌। राज्य सरकार यी प्रतिभावान्‌ युवाहरूको सम्बन्धित रुचिक्षेत्रलाई सीप विकास अनि सही माध्यम प्रदान गर्दै यस संसाधनको दोहन गर्ने दिशामा अग्रसर छ। उनीहरू नेतृत्त्वका नयॉं पिँढी हुन्‌ जसलाई विभिन्न क्षेत्रमा नेतृत्त्व प्रदान गर्नसक्ने जिम्मेवारी अनि दायित्त्व उठाउनसक्ने बनाउन आवश्यक छ। यस सन्दर्भमा हाम्रो कोशिश हाम्रा युवा जमातमा विभिन्न विधा अनि क्षेत्रमा सीप अनि व्यक्तित्त्व विकास गराउनु रहेको छ। हामीले कैयौं राष्ट्रिय अनि अन्तरराष्ट्रिय क्षेत्रमा सुनाम कमाउने खेलाडी अनि अभिनेताहरू जन्माइसकेका छौं। यी उपलब्धिहरू हाम्रा अभिलाषी युवाहरूका लागि पथप्रदर्शक साथै उत्प्रेरक हुन्‌ जसले विभिन्न क्षेत्रमा आदर्श प्रतिरूपको भूमिका खेल्नेछन्‌।

सरकार पाल्जर स्टेडियममा खेल अकादमी स्थापित गर्न तयार छ जुन विभिन्न खेल विधाका प्रतिभाहरूलाई निखार्न समर्पित रहनेछ। हामीले साहसिक खेलस्पर्धाको क्षेत्रमा पनि पहल शुरु गरेका छौं, विशेष गरी रिभर राफ्टिङ, प्यारा ग्लाइडिङ, रक क्लाइम्बिङ आदिलगायत स्कीईङ, ह्याङ ग्लाइडिङ अनि बञ्जी जम्पिङ क्षेत्रमा पहल विचाराधीन छ। हाम्रो क्षेत्रमा पर्यटकहरूको खेलस्पर्धाप्रतिको रुचिलाई ध्यानमा राख्दै खेल अकादमीमा शुरु गर्न चिन्हित गरिएका यी केही साहसिक खेलहरू हुन्‌। यस नयॉं पहलले हाम्रा युवाहरूलाई यी साहसिक क्षेत्रमा परिपक्व बन्ने बाटो खोल्नेछ जहॉंबाट उनीहरू कुनै प्रकारको साहसिक खेल स्पर्धा अनि आयोजनका लागि प्राविधिक रूपमा युक्त हुनेछन्‌, जसले पर्यटकहरूलाई मनोरञ्जन त प्रदान गर्ने नै छ, साथै स्वरोजगारको माध्यम पनि प्रशस्त पार्नेछ।

माननीय अध्यक्ष महोदय, राज्य सरकारले पाल्जर स्टेडियममा कृत्रिम घॉंस बिछ्‌याई यसलाई देशकै विश्वस्तरीय स्टेडियमको रूपमा स्थापित गराउन रु. 5 करोड पहिलेबाटै अनुमोदित गरिसकेको जानकारी गराउन पाउँदा धेरै खुशी लागेको छ। यसका अतिरिक्त म नाम्चीमा भाइचुङ स्टेडियम अनि मगन स्टेडियम निर्माणका लागि यस वित्त वर्षमा रु. 3 करोडको प्रावधान राख्न चाहन्छु। खण्ड प्रशासनिक केन्द्रहरूमा कूल 16 वटा सामुदायिक खेल मैदानको निर्माण कार्य पनि यसै वित्त वर्षमा ग्रहण गरिनेछ।

पृष्ठभूमिमा विस्मयकारी हिमालयसॅंगै सिक्किम अद्वितीय प्राकृतिक सौन्दर्यले पावन छ। आकर्षक स्थलका साथमा शान्ति अनि सत्कारशील मानिसहरू रहेको सिक्किमलाई व्यापक सङ्‌ख्यामा व्यवसायिक चलचित्र निर्माणको प्रमुख केन्द्रको रूपमा पनि प्रवर्धन गरिनेछ। यस कार्यलाई सुगम बनाउन तथा स्थानीय प्रतिभाहरूलाई प्रेरित गर्न म यस वित्त वर्षका लागि सिक्किमको जनजीवन, जीवनशैली, संस्कृति तथा परम्परा प्रस्तुत गर्ने स्थानीय फिल्म निर्माताहरूलाई अनुदान प्रदान गर्न रु. 50 लाखको प्रावधान राख्न चाहन्छु।

सम्पूर्ण सम्पर्क

राज्यको वास्तविक आर्थिक विकास तब मात्र सम्भव बन्दछ जब सडक, वायुमार्ग अनि रेलमार्गसहित परिवहन अनि सञ्चार सञ्जाल गुणस्तरीय हुँदछ। भौगोलिक रूपमा भूपरिवेष्ठित राज्य भएको हुँदा सिक्किमलाई नितान्त रूपमा सबै प्रकारको सम्पर्क प्रणाली मूलधारा भारतसित जोड्‌नको निम्ति आवश्यक छ। यसबारे विस्तार नगरी म के घोषणा गर्न चाहन्छु भने 2015 सम्म सिक्किममा दुवै सतह अनि वायुमार्गको श्रेष्ठ सम्पर्क स्थापित हुनेछ।

1. भारतीय वायुपोत प्राधिकरणको अधीनमा ग्रीनफिल्ड एयरपोर्टको निर्माण पाकिममा युद्धस्तरमा चलिरहेको छ जुन जुलाई 2012 सम्म पूरा हुनेछ।

2. सुबुकदेखि रम्फूसम्म रेलमार्गको निम्ति शिलान्यास कार्य पूरा भइसकेको छ। यो परियोजना रु. 3380 करोडको लागत खर्चमा 2015 सम्म पूरा हुने आशा गरिएको छ।

3. राष्ट्रिय राजमार्ग 31-ए-लाई दुइमार्गी बनाउने काम प्रगतिमा छ।

4. सिलगढीदेखि चालसा हुँदै वैकल्पिक राजमार्ग निर्माणको काम विचाराधीन छ।

5. पश्चिम बङ्गालको सुबुकदेखि गान्तोक र भारत-चीन सीमाको नथुलासम्म वैकल्पिक राजमार्ग निर्माण गरिनेछ।

6. राज्य राजमार्गको विस्तार अनि नयॉं सडक निर्माण कार्य पनि सुदूर अनि दुर्गम भेकसम्म सम्पर्क पुऱ्याउने ध्येयले पीएमजीएसवाई अन्तर्गत समेटिँदैछन्‌।

माननीय अध्यक्ष महोदय

म यस खण्डलाई सकारात्मक दृष्टिकोणका साथ अन्त्य गर्न चाहन्छु। अधिकांश सम्पर्क साधनका परियोजनाहरू चालू रहने परियोजनाहरू भएका हुनाले हामीलाई निर्बाध रूपमा राष्ट्रिय मूलधारासित पूर्णरूपले सम्पर्कित बन्न केही समय अवश्यै लाग्नेछ। म राज्य सरकारका साथै केन्द्र सरकार निकायका अधिकारीहरूलाई सामूहिक रूपमा काम गर्दै परियोजनाहरू जनताको फाइदा अनि बढी देशको सीमावर्ती राज्यको सुरक्षा खातिर काम समयमै पूरा गर्ने ध्येयले काम गर्न आह्वान जनाउन चाहन्छु।

मीडिया विकास

सिक्किमको लोकतान्त्रिक कार्यप्रणालीमा सञ्चार माध्यम महत्त्वपूर्ण अङ्ग हुन्‌। सञ्चार माध्यमका सदस्यहरूकै कडा मेहनत अनि इमान्दारिताको परिणामस्वरूप सरकारले नियमित रूपमा सुझाउ, प्रतिसूचना अनि अन्य महत्त्वपूर्ण घटनाक्रमबारे जानकारी पाइरहेको छ। यसैको परिणामस्वरूप हामीले हरेक गतिविधिमा हाम्रो कार्यक्रमको प्रभावबारे आकलन अनि पुनःआकलन गर्ने अवसर पाइरहेका छौं। चौथो स्तम्भद्वारा दिइएको अपार योगदानलाई ध्यानमा राख्दै म राज्यमा सञ्चार माध्यमको थप विकासका लागि रु. 50 लाखको विनिधान पेश गर्न चाहन्छु।

माननीय अध्यक्ष महोदय

नयॉं विचार अनि प्रक्रियाहरू आदान-प्रदान गरिसकेपछि, म अब यस ओजस्वी सदनमा अनुमोदनका लागि वित्त वर्ष 2010-11 का लागि बजेटको केही मुख्य अंश पेश गर्न चाहन्छु। म रु. 4046.71 करोडको कूल बजेट पेश गर्न चाहन्छु जसमा रु.1175.00 करोड राज्य योजनाअन्तर्गत तथा रु.2306.90 करोड गैर योजना लेखाअन्तर्गत छ। यो बजेट गत वर्षको तुलनामा 13.80 प्रतिशत धेरै छ। गत वर्षको तुलनामा यस वर्ष योजना राशिमा 12.44 प्रतिशत र गैर योजना विनिधानमा 11.30 प्रतिशतको वृद्धि भएको छ। यस बजेटमा म कूल खर्च रु.4046.71 करोड प्रस्तावित गर्न चाहन्छु जसमा रु.1715.05 करोड योजना खाताअन्तर्गत छन्‌ भने यसमा एनएलसीपीआर, एनईसी र सीएसएसका अतिरिक्त प्राप्तिहरूका प्रावधान पनि सामेल छन्‌ जुन पछि खर्चमा कटौतीद्वारा समायोजन गरिनेछ। जहॉं हाम्रो राजस्व प्राप्तिमा उल्लेखनीय प्रगति दर्ता गरिएको छ, प्रतिबद्ध देनदारीमाथि थपिएको ठूलो भार चिन्ताको विषय बनेको छ। वेतन संशोधनको प्रभावका साथै बकायाहरूको भुक्तानीबाट सिर्जिएको सहवर्ती देनदारीलाई कुशलतापूर्वक नियोजन गर्न आवश्यक छ।

यी सबै अपरिहार्य विकासक्रम हुन्‌ जुन हामीले मितव्ययिता उपाय अनि गैर योजना खर्च कटौती जस्ता कडा कदमद्वारा सम्बोधित गर्नुपर्नेछ। भारत सरकारद्वारा निर्धारित वित्तीय सुधारका कदमहरू राज्यको वित्तीय मामिला प्रबन्धनमा अनुशासन स्थापित गर्न अनुपालन अनि ग्रहण गरिनुपर्नेछ। राजकोषीय घाटा घटाउन तथा राज्यको ऋणभार तरलीकृत गर्ने निरन्तर प्रयासलाई पनि सम्बोधित गरिनुपर्नेछ। वित्तीय सुधारका मानकहरूको कार्यान्वयन, विशेष गरी वित्तीय सुधार तथा बजेटीय प्रबन्धन योजनाका सन्दर्भमा दिइएका उपायहरू निगरानी गरिनुपर्नेछ तथा यस उद्देश्यका लागि गैर योजना खर्च कटौती गर्न मात्र नभएर राजस्व परिचालन अनि ऋण प्रबन्धनका लागि उपयुक्त प्राधिकरण गठन गरिनुपर्नेछ।

एघाह्रौं योजनाकालको आधार वर्ष (2006-07) का लागि राजस्व सिर्जना रु.344.93 करोड थियो जुन अहिले रु.571.98 करोड पुगेको छ भने यो 65.82 प्रतिशत वृद्धि हो। यो प्रदर्शनी हाम्रो कर आधारलाई विस्तार गर्ने तथा राजस्व सङ्कलन अभियानमा सुधारको परिणाम हो। यसबाहेक राज्यको राजकोषमा महत्त्वपूर्ण योगदान जलविद्युत परियोजनाबाट पनि भएको छ जुन राज्यको कूल गैर कर राजस्वमा 52.67 प्रतिशतको अंश बन्दछ र कूल 360.72 करोड हुँदछ। हामीले लटरी सञ्चालनलाई पनि अनलाइन लटरी शुरु गरेर अरू फॉंटिलो बनाएका छौंै। यी नयॉं विकासक्रमले उत्साहजनक फल दिएको छ। लटरीबाट आज हाम्रो आमदानी रु. 60 करोड बनेको छ, जुन एघाह्रौं योजनाकालको शुरुमा रु. 50 करोडमात्र थियो। माननीय अध्यक्ष महोदय, म ओजस्वी सदनलाई के पनि जानकारी गराउन चाहन्छु भने मूलभूमिमै क्यासिनो सञ्चालन गर्ने सिक्किम अग्रगामी राज्य बनेको छ। सिक्किम क्यासिनो गेम (कन्ट्रोल एण्ड ट्याक्स) ऐन, 2002 पारित हुनसॅंगै एउटा क्यासिनो परिसर गान्तोकमा परिचालित छ भने केही थप आवेदन विचाराधीन छ। यो ऐतिहासिक कानून राज्यमा पॉंचतारे होटल विकासको निम्ति निवेशकहरू आकर्षित गर्ने ध्येयले पारित गरिएको थियो।

यस बजेटमा मैले जनलेखासहित रु. 8535.42 करोडको प्रस्तावित सकल राजस्व प्राप्तिको विपरीत रु. 8535.77 करोडको खर्च पेश गरेको छु। रु.211.26 करोड कर राजस्व स्रोतबाट अनि रु.1274.57 करोड गैर राजस्व स्रोतबाट गरी बजेटमा सकल राजस्व प्राप्ति गठन हुँदछ। प्रस्तुत बजेटमा एनईसीबाट प्राप्त हुने रु.101.00 करोड, संसाधनको अच्यूत कोषबाट प्राप्त हुने रु.139.11 करोड, रु.298.34 करोड केन्द्र प्रायोजित योजनाहरूबाट तथा जनलेखाबाट रु.4515.42 करोड सामेल छन्‌। यसका अतिरिक्त रु.526.10 करोड केन्द्रिय अनुदान प्याकेजबाट योजनाहरूका लागि निर्धारित विनिधानको प्रावधान पनि राखिएको छ।

माननीय अध्यक्ष महोदय, अब म राजकोषीय वर्ष 2010-11 को बजेटमा निर्धारित राजस्व प्राप्ति र खर्च पेश गर्न चाहन्छु ः

(करोडमा)

क) राजस्व प्राप्ति

1. राज्यको राजस्व रु. 1485.83

ळ) कर राजस्व रु. 211.26

ळळ) गैर कर राजस्व रु. 1274.57

2. अनुदान रु. 1598.96

3. अंश लाग्ने करमा राज्यको भाग रु. 500.36

4. संस्थानहरूबाट ऋण रु. 385.12

5. केन्द्रिय अनुदानबाट ऋण रु. 4.04

6. अग्रिम भुक्तानी अनि ऋणहरूको असुली रु. 0.83

7. जनलेखा रु. 4560.28

कूल प्राप्ति रु. 8535.42

ख) खर्च

1. राज्यको वार्षिक योजना रु. 1175.00

2. केन्द्र प्रायोजित योजना रु. 298.34

3. गैर योजना खर्च रु. 2306.90

4. केन्द्रिय संसाधनको अच्यूत कोष रु. 139.11

5. पूर्वोत्तर परिषद्‌ रु. 101.00

6. जनलेखा रु. 4515.42

कूल भुक्तानी रु. 8535.77

ग) घाटा (-) रु. 0.35

शुरुवाती शेष (2010-11) (+) रु. 123.32

अन्त्य शेष (2010-11) (+) रु. 122.97

माननीय अध्यक्ष महोदय,

विकासको हरेक कोणमा हामीले अप्रत्याशित माइलखुट्टी स्थापित गर्नसकेका चौं। परिणाम हासिल गर्न हामीले अङ्गीकार गरेका विकासीय रणनीतिहरू दुवै देशभित्र अनि बाहिर पनि कदर भइरहेका छन्‌। जनतालाई सबै बुनियादी आवश्यकता उपलब्ध गराइसकेपछि, हाम्रो अर्को लक्ष्य हुनेछ गुणस्तरीय सेवा र पूर्वाधार प्रदान गर्नु।

1. स्वास्थ्य अनि स्वच्छताको सम्बन्धमा सिक्किम आज देशकै अग्रपङ्‌क्तिको राज्य घोषित छ भने राज्यमा सम्पूर्ण स्वच्छता कार्यक्रम पूर्णरूपले कार्यान्वयन गरेवापत्‌ महामहिम भारतकी राष्ट्रपतिबाट निर्मल राज्यको पुरस्कार हत्याइसकेका छौं।

2. ग्रामीण सम्पर्कको सन्दर्भमा सिक्किम देशकै पहिलो राज्य बनेको छ भने इण्डिया टूडे समूहले हाम्रो यस प्रयासलाई सदर गर्दै ग्रामीण सडकका लागि भारत निर्माण पुरस्कारले सम्मानित गरिसकेको छ।

3. स्वच्छ खाने पानी उपलब्ध गराउने सन्दर्भमा पनि हामी एकपटक फेरि देशकै प्रथम राज्य बनेका छौं जहॉं 99 प्रतिशत गाउँ समेटिएका छन्‌।

4. ग्रामीण विद्युतिकरणको सम्बन्धमा पनि हामी देशकै अग्रणी राज्य बनेका छौं र हामी ग्रामीण विद्युतिकरणमा भारत निर्माण पुरस्कारद्वारा राष्ट्रिय मान्यता पाएका छौं।

5. शिक्षाको सन्दर्भमा पनि हामीले कैयौंपटक राष्ट्रिय मान्यता पाइसकेका छौं भने लघु राज्यको वर्गमा हालै मात्र पनि इण्डिया टूडे समूहबाट सम्मानित भएका छौं।

6. स्वास्थ्य सेवाको सन्दर्भमा पनि हामी देशकै अव्वल राज्य ठहरिएका छौं र धेरै राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छौं जसमा जेआरडी टाटा स्मारक पुरस्कार 2008 सामेल छन्‌।

7. पर्यावरण प्रबन्धन अनि संरक्षणको सम्बन्धमा पनि सिक्किमले पहिलेबाटै विशेष मान्यता दुवै राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा पाइसकेको छ।

8. सामाजिक न्याय तथा सशक्तिकरणको सन्दर्भमा पनि महिलासहित सबै वाञ्चित वर्गलाई रचनात्मक कार्य अनि अंश प्रदान गर्ने सिक्किम देशकै प्रथम राज्य बनेको छ।

9. कम सङ्‌ख्यामा गरीबी रहेको सम्बन्धमा पनि सिक्किम देशकै सर्वेश्रेष्ठ सानो राज्य स्थापित बन्नपुगेको छ जहॉं प्रति व्यक्ति आमदानी राष्ट्रिय औसतभन्दा पनि धेरै छ। हाम्रो अर्को लक्ष्य हरेक सिक्किमेको प्रति व्यक्ति आमदानी रु.1 लाख बनाउनु हुनेछ।

10. पूर्वाधार संसाधनको सम्बन्धमा पनि सिक्किममा श्रेष्ठ सुविधाहरूले युक्त छ र क्षेत्रकै सम्मेलन राजधानीको रूपमा दरिन पुगेको छ। विद्यमान संसाधनका अतिरिक्त चालू वित्त वर्षमै अन्य पूर्वाधार सुविधाहरू जस्तै राज्य सङ्‌ग्रहालय तथा चित्रकला दीर्घा, पर्यावास केन्द्र, राज्य पुस्तकालय, सूचना भवन, उद्योग भवन अनि पर्यटन भवन निर्माण प्रक्रिया पूरा गर्नेछौं अथवा थाल्नेछौं।

11. शान्ति र सद्‌भावको सम्बन्धमा पनि सिक्किम देशकै अग्रपङ्‌क्तिको राज्य स्थापित छ भने सम्पूर्ण देशकै निम्ति पथप्रदर्शक बमेको छ।

माननीय अध्यक्ष महोदय

सिक्किम आज हरेक क्षेत्रमा देशकै अव्वल अनि श्रेष्ठ राज्यको रूपमा स्थापित छ। अब हामी विकास प्रक्रियालाई मिशन पद्धतिद्वारा राज्यमा सिर्जना गरिएका अनि जुटाइएका नागरिक सुविधाहरूका साथै पूर्वाधारहरूको गुणस्तर पक्षलाई सम्बोधित गर्ने दिशामा काम गर्नेछौं। उचित तालिम, ज्ञान अनि सीप प्रदान गरी हामी सिक्किमे जनतालाई अरू उत्पादक अनि सक्रिय बनाउँदै सिक्किमलाई हरेक पक्षबाट राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा श्रेष्ठ अनि अव्वल राज्यको रूपमा स्थापित गर्न काम गर्नेछौं। हाम्रो कोशिश उपलब्धिहरूलाई संस्थापित गर्दै जनताको पूर्ण खुशियालीमा रूपान्तरित गर्नेतर्फ रहनेछ।

सिक्किम अहिले भौतिक साथै तात्त्विक आवश्यकताको परिधिमा निर्भरतादेखि स्वनिर्भरतातर्फ उदीयमान चरणबाट गुज्रिरहेको छ। राज्यको आफ्नै संसाधन अनि आर्थिक क्षमतालाई दीर्घकालीन उपयोगका लागि विवेकसम्मत्‌ तरिकाले उपयोग गरिनुपर्नेछ। जोगाउन सकिने सबै तहमा सरकारी खर्च बचाउन म कडा मितव्ययी कदम चाल्ने प्रस्ताव पेश गर्न चाहन्छु। यस अर्थमा म सरकारी तन्त्रलाई अरू बढी उत्तरदायी बन्दै राज्यको आर्थिक स्वास्थ्यतर्फ योगदान दिन आह्वान जनाउन चाहन्छु।

माननीय अध्यक्ष महोदय

सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले चौथोपटक सरकार गठन गर्न रेकर्ड जीत दर्ता गरेको छ। सन्‌ 1994 मा 19 सीटबाट यसपछिका क्रमिक चुनाउहरूमा पार्टीले विपूल जनमतका साथ अरू धेरै आसन कब्जा गर्नसक्यो भने आज यस सदनको पूर्ण क्षमता एसडीएफकै पक्षमा रहेको छ। यस उच्च मञ्चले पनि लोकतन्त्रमाथि अपार शक्ति प्रदर्शन गर्दछ र लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने सही नेतृत्त्वले जनमतको कदर तथा उनीहरूको निर्णयको सम्मान गर्नसक्नुपर्दछ।

तथापि, केही व्यक्तिहरूले राज्य सरकारलाई दोष्याउँदै छवि धमिल्याउने प्रयास गरिरहेका छन्‌। म उनीहरूलाई सोध्न चाहन्छु, के म जननेताका रूपमा आफ्नो कर्तव्यबाट चुकेको छु? मलाई यहॉं अब्राहम लिङ्कनको स्मरण हुन्छ, जसले एकपटक भनेका थिए,

"प्रायः सबैले विपत्तिको सामना गर्नसक्दछन्‌, तर यदि उक्त व्यक्तिको चरित्र जॉंच्नु छ भने, उसलाई शक्ति देउ।'

आदरणीय सिक्किमे जनता, तपाईंहरूले मलाई गत 16 वर्षदेखि सरकारको मुखियाको रूपमा सेवा गर्ने अवसर दिनुभयो। के मैले आफैलाई परिवर्तन गरें त? तपाईंहरूलाई थाहा छ, मैले आफ्नो कडा मेहनत, निष्ठा अनि इमान्दारीद्वारा अग्निपरीक्षा उत्तीर्ण गरेको छु। कुनै पनि परिप्रेक्ष्यमा मैले मेरा विरोधीहरूलाई अस्तित्त्वमा रहनु र उपयुक्त हुनुको तर्क बुझाउनु छैन, न त म उनीहरूको राजनीतिक पतनलाई जोगाउन इच्छुक छु। म आफैलाई इर्ष्या, डाह अनि निराधार ईबीबाट मुक्त अनि टाढा निष्पाप रहेको ठान्दछु।

माननीय अध्यक्ष महोदय

जायज कारणका लागि युद्ध अवश्यम्भावी थियो। अर्जुनले तर्क त गरे, तर अन्त्यमा हार मान्दै अन्यायी कौरवहरूबाट शासनको बागडोर लिएर छाड्‌ने भगवान्‌ कृष्णको तर्कअघि नतमस्तक बने। महाभारतबाटै उक्त उद्वरण लिँदै म यहॉं के भन्न चाहन्छु भने मैले स्वयं अनि सबैको हितमा अर्जुनद्वारा प्रतिपादित सिद्धान्त "अघि बढ' अनि "राम्ररी बढ' पालन गर्दै नीति र न्यायबीच विशुद्ध तालमेल कायम राखेको छ। म मेरा विरोधमा रहेका जनतालाई पनि "अस्वीकृतिको मानसिकता' बाट बाहिरिने आह्वान जनाउन चाहन्छु। लोकतान्त्रिक प्रणालीमा आवश्यक ठहरिएअनुरूप हामीले जनमतको सम्मान गर्दै सत्यलाई स्वीकार गरी दुवै वचन अनि कार्यमा बढी दायित्त्व वहन गर्नुपर्नेछ। सिक्किमको उत्तम शान्ति र सौहार्दको वातावरणमा हामीले सामूहिक रूपमा हाम्रा जनताको उज्ज्वल भविष्यका लागि काम गर्नुपर्नेछ। यो नै आधार हो जसमाथि लोकतन्त्र जीवन्त अनि समृद्ध बन्दछ।

माननीय अध्यक्ष महोदय, यति शब्दका साथै म आन्तरिक हृदयबाट मेरो सरकारको यो बजेट सिक्किमे जनतालाई समर्पित गर्न चाहन्छु।

धन्यवाद

जय सिक्किम

जय भारत

Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies