HOME

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

माननीय अध्यक्ष महोदय, उपाध्यक्ष महोदय तथा यस ओजस्वी सदनका माननीय सदस्यगण,
जनताका भविष्यलाई दिशाबोध गराउन यस प्रकारको निरन्तरता संयोगवश मात्र विधान अनि जनशक्तिबाट प्राप्त हुँदछ। संयोगले मात्र यस प्रकार राज्यको भविष्यलाई पूर्ण प्रतिबद्धताका साथ नयॉं दिशा दिनका साथै इतिहास रचना गर्न अनि त्यसलाई संरक्षित गर्न यस धरतीको गौरवमय ठाउँमा हामी अवसर पाउँदछौं। माननीय अध्यक्ष महोदय, सिक्किम डेमोक्रेटिक फ्रण्टले 12 दिसम्बर, 1994 मा जब प्रथमपटक शासनभार सम्हाल्न पुगेको थियो, त्यसताक हाम्रो काम गर्ने क्षमताका साथै जनताको आकाङ्‌क्षामा खरो उत्रने विषयमा आशङ्का अनि प्रश्न गर्नेहरू धेरै थिए। र आज पनि यहॉं यदि कसैलाई जनताले सुसूचित अनि सचेत निर्णय लिने विषयमा आशङ्का भए तथा सिक्किमे जनताको भविष्य सुरक्षित गर्ने प्रसङ्गमा हाम्रो क्षमतामाथि प्रश्न खडा गरिरहेका भए, उत्तर यही हो।
माननीय अध्यक्ष महोदय, म यस अवसरमा उनीहरूलाई आन्तरिक हृदयबाट कृतज्ञता तथा आभार प्रकट गर्नचाहन्छु ः
क) सिक्किमे जनतालाई उनीहरूको म अनि मेरा पार्टीप्रति विश्वास साथै भरोसा गर्दै आशीर्वाद दिएकोमा।
ख) मेरा मित्रहरूलाई, पार्टी कार्यकर्ताहरूका साथै पार्टीको सबै तहका मित्रगणलाई मेरो नेतृत्त्वमा अटल विश्वास राखिदिएकोमा। 
ग) केन्द्रमा मुख्य चुनाउ आयुक्तका साथै उनका सहयोगीहरूलाई देशमा स्वतन्त्र अनि निष्पक्ष चुनाउ सफलतापूर्वक सम्पन्न गराएकोमा।
घ) सिक्किमका मुख्य चुनाउ अधिकारी अनि उनका सक्षम टोलीलाई राज्यमा स्वतन्त्र अनि निष्पक्ष चुनाउ गराई लोकतान्त्रिक प्रक्रियाको गरिमा र मर्यादालाई अक्षुण्ण राखेकोमा।
ङ) राज्यका मुख्य सचिवका साथै पुलिस महानिर्देशकलाई राज्यमा चुनाउ प्रक्रिया सफलतापूर्वक सञ्चालन गराउन समग्र दिशानिर्देश अनि निगरानीका लागि। 
च) राज्यमा सफलतापूर्वक मतदान सम्पन्न गराउन दिन-रात खट्‌दै आफ्नो मताधिकार कुनै भय अनि शङ्काबिनै उपभोग गर्नसकेकोमा राज्य तथा केन्द्र सरकारका अधिकारी अनि कर्मचारीवर्गलाई। 
छ) यस चुनाउलाई शान्तिपूर्ण साथै ऐतिहासिक बनाउन सहयोग गरेकोमा विपक्षका सबै सम्मानित नेता अनि कार्यकर्तालाई, अनि
ज) सबै राजनीतिक दलका नीति अनि कार्यक्रम राज्यभरी प्रवाहित अनि सम्प्रेषित गर्दै जनतालाई आफ्नो मताधिकार प्रयोग गर्न शिक्षित तुल्याएकोमा सञ्चार माध्यमका आदरणीय सदस्यवर्गलाई।
माननीय अध्यक्ष महोदय
जनताद्वारा हाम्रो पार्टीप्रति देखाइएको विश्वास यसअघिको बजेट सत्रमा यस ओजस्वी सदनमा प्रस्तुत गरिएका पारदर्शी, लोकतान्त्रिक साथै न्यायसङ्गत मार्गचित्रलाई अनुमोदन गरिएको स्पष्ट सङ्केतको रूपमा मानिलिनुपर्दछ। नागरिक समाजका सबै तहबाट हाम्रो पार्टीले पाएको विपूल जनमतले हामीलाई अझ धेरै कडा मेहनत गर्दै हाम्रो पार्टीको घोषणा पत्रमा उल्लेखित परिकल्पनालाई साकार रूप दिन हाम्रो सरकारलाई अरू बढी प्रेरित अनि प्रोत्साहित गर्नेछ। म यस विधानसभाभित्रका मेरा मित्रगणलाई आफ्नो नयॉं कार्यभारका लागि यस अवसरमा स्वागत जनाउँदै पार्टीको घोषणा-पत्रमा प्रतिबिम्बित प्रतिबद्धताको सम्मान र कदर गर्दै हाम्रो सरकारको चौथो कार्यकालमा राज्यको उत्तरोत्तर विकास अनि सबै नागरिकको बढी हितमा आधारित लक्ष्य अनि उद्देश्य प्राप्तिका लागि सक्रिय रूपमा काम गर्न आग्रह गर्दछु। 
वित्त वर्ष 2009-2010 को बजेट प्रत्येक सिक्किमेलाई समर्पित गर्न उभिनका साथै म, आफ्नो प्रतिबद्धतामा अडिग रहने अनि जस्तै विकट स्थितिको पनि सामना गर्दै मेरो प्रतिज्ञा पथमा विचलन सिर्जना गर्ने निम्नकोटिको प्रलोभनको विपरीत सिक्किमे जनताका साथै मेरा महान्‌ राष्ट्र भारतको विश्वास अनि आस्था डगमगाउन नदिने सङ्कल्प यहॉं दोहोऱ्याउन चाहन्छु। म, मेरा विधायकगणलाई स्वनिर्भरता अनि आत्मसुधारको मूल्य अङ्गीकार गर्न, मेहनत र अनुशासनको मूल्य बुझ्नका साथै मितव्ययता अनि निजी दायित्त्वबोधको पनि आह्वान गर्नचाहन्छु। यसका कारण धेरै सरल छन्‌, सिक्किमे जनताले हामीलाई राज्य अनि राष्ट्र निर्माणको महान्‌ कार्य सम्हाल्न चौथोपटक पनि योग्य सम्झेका छन्‌। यसर्थमा, हाम्रो प्रयास खुल्ला अनि हाम्रो पहल सामान्यभन्दा माथिको हुनुपर्नेछ। 
पन्ध्र वर्षको अवधि ः असल निवेशको विगत
माननीय अध्यक्ष महोदय
चौथोपटक राज्यको शासनभार सम्हाल्न पुग्नुसॅंगै मलाई यहॉं बृहत्‌ आयतनमा सार्वजनिक अभिव्यक्ति दर्शाउन मन लागेको छ। राजनीतिलाई दर्शनको पनि आमा भनिन्छ भने एउटा समाज कसरी अग्रगमन वा प्रतिगमनतर्फ बढ्‌दछ भन्ने कुरा मूलरूपमा विशेष राज्य वा क्षेत्रमा तत्समयमा राजनीतिले कस्तो रूप धारण गरेको छ भन्ने कुरामाथि निर्भर गर्दछ। सिक्किमका जनता, र विशेष गरी अघिल्ला पिँढीले सिक्किम पुरातनधाराबाट देशकै सबैभन्दा प्रगतिशील राज्यको रूपमा स्थापित हुँदैगएको महसुस गरेका छन्‌। विश्वको सबैभन्दा बृहत्‌ लोकतन्त्रमा सामेल भए पनि, सिक्किम, यहॉंलाई थाहा नै छ, भारतीय सङ्‌घमा सबैभन्दा कान्छो हो। स्वाभाविक रूपमा विलयपछि शुरुका केही वर्ष सिक्किमलाई लोकतान्त्रिक प्रक्रियामा तालमेल बसाउन लागेको थियो भने बिस्तारै जनताले आफ्नो लोकतान्त्रिक अधिकार उपभोग गर्न र स्वतन्त्र अनि मर्यादित जीवन जिउने परिवेश पाउनथाले। 
तथापि, हामीमा परिपक्वतासॅंगै लोकतान्त्रिक अनुभूति बढ्‌दै जॉंदा, भनिन्छ सिक्किमले त्यस्तो राजनीतिक नेतृत्त्व पनि भोग्नुपऱ्यो, जसले जनतालाई मखमलको पञ्जाभित्र फलामको हातले शासित गर्नखोजे। जनताका लागि असीम काम गर्ने लोकतान्त्रिक जनादेशले क्रमान्तरमा तानाशाही प्रवृत्तिलाई जन्म दियो, जसले लोकतान्त्रिक प्रणालीमा प्रदान गरिएको सामान्य समझदारी अनि असहमतिको पनि घॉंटी निमोठ्‌ने काम शुरु गऱ्यो। अन्त्यमा परिणाम के भयो भने लोकतन्त्रको क्रमशः पतन हुँदै यहॉं अल्पतन्त्रवाद स्थापित हुनपुग्यो। आफ्नो पदसॅंग पाएको अधिकार अनि क्षमतालाई उनीहरूले त्यसताक जनतालाई निर्ममतापूर्वक शासित गर्ने बिर्तामा पाएको परम अधिकार सम्झन थाले। र, त्यसताक राजनीतिक परिवेशमा अनुभूत गरिएको निसासिँदो स्थितिका साथै लोकतान्त्रिक परिवेशको पुनर्स्थापना गर्ने जनाकाङ्‌क्षाको प्रतिफल थियो सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको जन्म।

माननीय अध्यक्ष महोदय
हामीले जनताको आत्मसम्मानमा लागेको घाउ भर्न र जाती पार्न थालेको अभियानले पन्ध्र वर्षको यात्रा पार गरिसकेको छ भने भोकालाई खाना, अमूकहरूलाई अभिव्यक्ति, घरविहीनलाई घर, भूमिहीनलाई भूमि अनि सबैलाई अवसर, शिक्षा, स्वास्थ्य तथा स्वाभिमान अनि मर्यादा, सामाजिक न्याय अनि कानूनको राज, शान्ति, सुरक्षा अनि स्वच्छ परिवेशका साथै अशक्तहरूलाई सशक्त बनाउने काम निर्बाध जारी छ। हामीले क्रमागत रूपमा हाम्रो समाजलाई कसरी प्रगतिशील बनाउने, कसरी प्रत्येक घर परिवारलाई संसाधनयुक्त बनाउने तथा प्रत्येकलाई कसरी समर्पित अनि अरू बढी सिर्जनशील बनाउने कोशिश गऱ्यौं भन्ने कुरा म यहॉं संक्षिप्तमा विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। 
लोकतन्त्रको पुनःखोज
हामीले लोकतन्त्र पुनर्बहालीको दाबी गर्दै आएका छौं भने आज, उक्त दाबीलाई जनताले संविधानमा प्रत्याभूत गरिएका अधिकारहरू खुल्ला रूपमा जसरी उपभोग गरिरहेका छन्‌, त्यसैले प्रतिस्थापित गर्दछ। सिक्किम डेमोक्रेटिक फ्रण्टले सिक्किमे जनतामाझ पाएको लोकप्रियता र स्वीकारोक्ति ऐतिहासिक मान्नुपर्दछ। यहॉंलाई जानकारी भएकै कुरा हो, हामीले 1994 मा 32 मध्ये 19 आसन जितेर सरकार बनाएका थियौं। यसपछि भएका क्रमशः 1999 अनि 2004 का चुनाउमा हाम्रो आसन सङ्‌ख्या बढ्‌दै गयो भने हालै सम्पन्न चुनाउमा हामी पूर्ण बहुमत ल्याउन सफल भयौं। यो नै राज्य अनि राष्ट्रको हितमा जनतालाई सचेत निर्णय लिनसक्ने बनाउन सशक्तिकृत गरिएको श्रेष्ठ उदाहरण हो। 
राजनीतिक कथनमा परिमार्जन
आजका दिनमा हामीले त्यति ध्यान नदिएका तर सामाजिक-राजनीतिक परिवेशमा महसुस गरिएका प्रमुख परिवर्तनमा हामी हरेक राजनीतिक कथनमा परिमार्जन आएको पाउँछौं। यसमा साधारण राजनीतिक बहसदेखि लिएर राजनीतिक मञ्चबाट उकेलिएका उच्च राजनीतिक हॉंक सामेल छन्‌। प्रयोग गरिने भाषादेखि लिएर त्यसमा लाग्ने साङ्केतिक अनि लाक्षणिक अर्थमा आमूल परिवर्तन आएको छ जुन असभ्यदेखि सभ्य अनि बर्बरदेखि मानवीय गुणले युक्त बन्नपुगेको छ। मैले सधैं नै सचेतपूर्वक कुनै व्यक्तिको मर्यादालाई उच्च राख्ने कोशिश गरेको छु, जुन म बोल्दा अनि जनतासित अन्तरक्रिया गर्दा स्पष्ट झल्किन्छ। यसै कुराले पनि सामाजिक-सांस्कृतिक पृष्ठभूमिमा पारस्परिक सम्मान अनि समझदारीका साथ बॉंच्नुपर्दछ भन्ने सकारात्मक तरङ्ग सिर्जना गरेको छ। 
राजनीतिक पूँजीको विकास
सिक्किमका जनताले सिक्किम डेमोक्रेटिक फ्रण्टको छातामुनि एकल नेतृत्त्वमा आस्था र विश्वास कायम राख्ने सही निर्णयका कारण धेरै फाइदा कमाएका छन्‌। विगत पन्ध्र वर्षमा उनीहरूले जसरी बुनियादी तहदेखि भारतीय संसदसम्मका लागि जनप्रतिनिधि चयन गर्ने क्रममा अनुकूलता दर्शाएका छन्‌। परिणामस्वरूप, केन्द्रिय नेतृत्त्व पङ्‌क्तिले पनि पार्टीगत आधारलाई पर राख्दै गत पन्ध्र वर्षसम्म सिक्किममा स्थिर सरकार चलेको देखेका छन्‌। लोकतन्त्रको पुजारी रहेको हाम्रो विश्वासपात्रता केन्द्रमा स्थापित भइसकेको छ, जसले हामीलाई इमान्दारीसाथ राष्ट्रिय स्तरमा पनि राजनीतिक पूँजी निर्माण गर्न सघाउ पुऱ्याएको छ। सिक्किमे जनताले आफ्ना धेरै माग पूरा भएको स्पष्ट देखेका छन्‌ जसबारे पहिले विभिन्न आधारमा बहस गरिन्थ्यो। यहॉंहरूलाई अवगत भएकै कुरा हो, हामीले धेरै भावी परियोजना अख्तियार गरेका छौं। हामीले धेरै परियोजना पूरा गर्न केन्द्र सरकारका साथै विश्व समुदायबाट पूर्ण सहयोग पाएका छौं भने हाम्रा उपलब्धिहरू उनीहरूले सराहना गर्दैआएका छन्‌। 

प्राथमिकताहरू खुट्याउनु
माननीय अध्यक्ष महोदय, सिक्किमे जनता साक्षी छन्‌, हामीले देशको योजना प्रक्रियामा भाग लिनथालेको 1970 को अन्त्यतिर मात्र हो। सिक्किमजस्तो राजतान्त्रिक एकल व्यक्ति शासन विगतमा भोगेको कलिलो लोकतन्त्रमा नयॉं त्राण भर्ने काम त्यसताकका सरकारले गर्नसकेनन्‌। सिक्किम जस्तो पाहाडी राज्यको पृष्ठभूमिमा हाम्रा कमजोरी अनि सबल पक्षहरू खुट्याउँदै नयॉं विकासीय हस्तक्षेप प्रतिपादन गर्न त्यसताकका सरकारले ध्यान पुऱ्याउन सकेनन्‌। यसो हुँदा, हामीले सत्ताभार सम्हाल्नसाथै त्यस प्रकारको विकासतर्फ उदासीनताको ओखती खोज्दै हामीभित्र निहित क्षमताको बलमा व्यवसायिक अनि व्यवहारिक पहलद्वारा विकासलाई नयॉं दिशा दिने प्रयास शुरु गऱ्यौं। सिक्किम प्राकृतिक संसाधनले समृद्ध रहेको कुरालाई ध्यानमा राख्दै हामीले राज्यको सर्वाङ्गीण विकासका लागि प्राथमिक क्षेत्रहरूको पहिचान गऱ्यौं। यसमा दीर्घकालीन आधारमा पर्यापर्यटन, जलविद्युत उत्पादन, बागवानी, फूलखेती, आतिथ्य क्षेत्र, स्वच्छ लघु उद्योगलगायत औषधि कारखाना सामेल छन्‌। सिक्किमे जनतालाई जानकारी भएकै कुरा हो, हामीले यी क्षेत्रहरूको विकासमा धेरै अग्रता हासिल गरिसकेका छौं। 
स्पष्ट रूपमा निर्देशित अर्थनैतिक मार्गचित्र
भनिन्छ राजनीति नै अर्थनीति पनि थियो र छ पनि। हामी पनि "तपाईंले के खर्च गर्नुहुन्छ भन्ने भन्दा कसरी खर्च गर्नुहुन्छ' भन्ने अर्थनैतिक सिद्धान्तबारे सचेत छौं। सिक्किमलाई आत्मनिर्भर बनाउनुको अर्थ सिक्किमका प्रत्येक घर-परिवार अनि व्यक्ति स्वनिर्भर बन्नुपर्ने कुराका पक्षधर हौं। यसको अर्थ, राज्यको रूपमा सिक्किम र सिक्किमे जनता आर्थिक रूपले सुदृढ हुनुपर्नेछ। र, यो हाम्रो आन्तरिक राजस्व सङ्कलन बढाउनसके मात्र सम्भव हुनेछ। यो हामीले थप राजस्व सिर्जनाका साथै वित्तीय मितव्ययता अनि खर्च कटौतीको दुइ सूत्रीय पहलद्वारा गर्नसक्नेछौं। 
सामाजिक-सांस्कृतिक पुनरूत्थान
भनिन्छ खानुको निम्ति मात्र मान्छे जिउँदैन। अन्तरनिहित विषयमा आत्मसम्मान अनि मर्यादा पनि सामेल छ जुन मान्छेको सामाजिक-सांस्कृतिक जीवनशैली, विश्वास अनि आस्था तथा युगौंदेखि चलिआएको रीतिथिति र परम्पराको पृष्ठभूमिमा विकास हुँदछ। सिक्किमे जनताका धेरै यस्ता सामाजिक -सांस्कृतिक धरोहर उचित संरक्षण र राज्यबाट सम्वर्धनको अभावमा निस्ताइसकेका थिए। यस सम्बन्धमा कुनै चुडान्त फसेला लिँदै तुरुन्तै काम नगरिए, सिक्किमको वास्तविक परिचय दिने यस्ता सिक्किमे लोकका जीवनशैली, खाद्य व्यवहार साथै धेरै संस्कृति अनि परम्परा इतिहासको पानामा समेटिनपुग्ने महसुस हामीले गऱ्यौं। सामाजिक-सांस्कृतिक धरालत पुनर्जीवित गर्नु त्यति सजिलो काम थिएन, साथै हाम्रा पिता-पुर्खाले जगेडा गरिदिएका समृद्ध धरोहर गुमाउने पक्षमा पनि हामी थिएनौं। सोहीपरी हामीले जनसाधारणका संस्कृति अनि परम्पराको पुनरूत्थान प्रभावी रूपमा गराउन हामीले शुरु गऱ्यौं भने धार्मिक अनि सांस्कृतिक पर्वहरूका दिन राज्य विदा घोषित गर्ने काम, हाम्रा आदरणीय द्रष्टाहरूलाई उनीहरूका योगदानको कदर गर्दै स्कूलहरूको नामाकरणदेखि लिएर हाम्रा लोक कलाकार, सङ्गीतकार अनि पारम्परिक वैद्यहरूलाई पनि सम्मान गर्ने काम हामीले थाल्यौं। एकजना अङ्‌ग्रेजी कवि अनि सांस्कृतिक समालोचकले भनेका छन्‌, "संस्कृतिले मशिनहरूभन्दा पर हेर्दछ, घृणालाई घृणा गर्दछ; संस्कृतिको एउटै मनोवेग हुँदछ, र त्यो हो मिठास र नरमपनको।' जसरी हामीले हाम्रो संस्कृति र परम्परालाई समयको पतझडबाट पार लगाउने काम गरेका छौं, हामीले हाम्रो सांस्कृतिक लहरलाई समालोचकहरूले बखानेझैं, समग्र मानवताको जीवन्त अनुभूतिका लागि मिठास भर्न फैलाउन बल दिएका छौं। 
कमजोर वर्गमाथि विशेष ध्यान
विगतका प्रथालाई चट्ट भुल्दै, सिक्किम डेमोक्रेटिक फ्रन्टले कमजोर तप्काका मानिसहरूको विकासमाथि विशेष ध्यान केन्द्रित गरेको छ। गरीब साथै सीमान्तकृत वर्गको उत्थानका लागि व्यापक कार्यक्रम थाल्दै हामीले निर्बाध रूपमा उनीहरूको न्यूनतम आवश्यकता पूरा गर्ने दिशामा ध्यान दिनका साथै मर्यादा र सम्मानपूर्वक जीवन जिउने परिवेश सिर्जना गरेका छौं। उनीहरूको कल्याणका लागि धेरै चुडान्त फसेलाहरू लिएका छौं, जसमा मजदूरहरूको दैनिक ज्याला रु. 20 बाट बढाएर रु. 150 बनाउने, सिक्किमेका लागि भूमि ब्याङ्क योजना, निवृत्ति भत्तामा चौगुणा वृद्धि, विधवा पुनर्विवाह योजना आदि सामेल छन्‌। महिला समुदायका लागि शुरु गरिएका कल्याणकारी योजनाहरू अभूतपूर्व साथै धेरै कोणबाट इतिहास रच्ने किसिमका छन्‌। 
इच्छाअनुसारको भविष्य 
भविष्यले हामीलाई सङ्केत दिइरहेको छ, र वास्तवमै त्यो भविष्य जहॉं जनताको हेरविचार मात्र नभएर उनीहरूलाई श्रेष्ठतम्‌ मानवसॅंगै खुशी अनि सन्तुष्ट बनाउन लक्षित छ। जहॉं निस्वार्थ भावका मानिसहरू आफ्नो मात्र नभएर अरूको निम्ति पनि बॉंच्ने गर्दछन्‌। त्यो भावी समाज जुन हाम्रो विचार, हाम्रो काम साथै हाम्रो इमान्दारी अनि लगनयोग्यको बन्दछ। सरल भाषामा भन्नुपर्दा, हामीले परिकल्पनाहरू तय गर्दै 2015 सम्म हासिल गर्ने लक्ष्यहरू परिभाषित गरिसकेका छौं। तीहरू हुन्‌‌‌ सिक्किमलाईः
1.
गरीबीमुक्त राज्य बनाउने।
2.
निरक्षरमुक्त राज्य बनाउने।
3.
रोगमुक्त राज्य बनाउने। 
4.
भ्रष्टाचारमुक्त राज्य बनाउने।
5.
पर्यापर्यटन गन्तव्य बनाउने।
6.
शून्य बेरोजगार क्षेत्र बनाउने।
7.
अवसरहरूको भूमि बनाउने।
8.
उत्पादक राज्य बनाउने।
9.
श्रेष्ठतम्‌ कल्याण राज्य बनाउने।
10.
प्रशन्नतापूर्ण राज्य बनाउने।

अनुभवले हामीलाई लक्ष्य निर्धारण गर्नु महत्त्वपूर्ण हुन्छ भन्ने सिकाएको छ। र, ती लक्ष्यहरू हासिल गर्न हामीलाई अरू धेरै सिर्जनशील साथै समय-समयमा नयॉं हस्तक्षेपका पहल रचना गर्न व्यस्त राख्दछ भन्ने पनि सिकाएको छ। यो बजेट पनि हाम्रो विकासीय कार्यक्रमलाई मूर्त रूप दिन र 2015 सम्म ती परिकल्पना अनि लक्ष्य हासिल गर्दै आर्थिक विकासलाई टेवा प्रदान गर्दै राज्यलाई देशमै विकासका हरेक सामाजिक-आर्थिक कोणका सूचकाङ्कमा श्रेष्ठतम्‌ राज्यको रूपमा स्थापित गराउन परिलक्षित छ। 

कृषि
राज्यमा कूल भूमिको 14 प्रतिशत भाग मात्र खेतीयोग्य रहेको कुरालाई ध्यानमा राख्दै कृषि अनि सम्बन्धित क्षेत्रमा वैज्ञानिकतम साथै प्राविधिक आगतलाई विकासीय रणनीतिको मुख्य आधारका रूपमा रेखाङ्कित गर्ने काम जारी रहनेछ। ठूलो आकारको भूमि स्वामित्त्व हुनेहरूमध्ये क्षमताधारी सरोकारवालाका लागि व्यवसायिक रूपमा सम्भाव्य लगानी आवश्यकता सम्बोधित गर्न हाम्रो विकासीय पहल हुनेछ भने, कूल कृषक समुदायमध्ये परिणामात्मक प्रतिशतमा रहेका लघु तथा मध्यम वर्गीय कृषकहरूको आवश्यकतालाई विकासीय प्राथमिकताको स्वरूप प्रदान गर्दै उन्नत कृषि प्रविधिलगायत उच्च लाभांश दिने उत्पादको व्यवस्था गर्न एकिकृत प्याकेज उपलब्ध गराउन विशेष पदक्षेप अङ्गीकार गरिनेछ। 
वर्ष 2007-08 मा शुरु गरिएको राष्ट्रिय कृषि विकास योजना कृषि तथा सम्बन्धित क्षेत्रको समग्र अनि एकिकृत विकास गर्ने ध्येयले विकसित कार्यक्रम रहेको छ जसले राज्यभरी वार्षिक 4 प्रतिशतको दरले बढत दर हासिल गर्ने लक्ष्य राखिएको छ। ध्वजवाहक कार्यक्रमहरूले पनि अपेक्षित उत्पादक परिणाम दिइरहेको कुरामा म विश्वस्त छु। राष्ट्रिय कृषि विकास योजनालाई कृषिलगायत बागवानी, पशु पालन, माछा पालन, सहकारी, सिञ्चाई आदिको तर्कसङ्गत एकिकरणको रूपमा ग्रहण गर्नसकिन्छ भने यसमा सम्बन्धित क्षेत्रकर्मी, पञ्चायत, स्वयंसहायता समूह अनि कृषकहरूजस्ता सबै सरोकारवालालाई समेट्‌दै अर्थपूर्ण क्षमता विकासको सहायक कार्यक्रम सामेल छ। यी सबै अन्तर सम्बन्धित कृषि गतिविधिलाई यस महत्‌ क्षेत्रको विस्तृत विकास गर्न सुनियोजित तरिकाले अख्तियार गरिएको जिल्ला योजनाअन्तर्गत कृषक समुदायको बढी हित अनि फाइदाका लागि एकिकृत गरिएको छ। सम्बन्धित विभागीय अधिकारीगण, पञ्चायतवर्ग, गैर सरकारी संस्थानहरूका साथै प्रमुख सरोकारवालालाई यस योजनाअन्तर्गत यस प्रमुख क्षेत्रभित्र पर्ने सबै गतिविधिको दीर्घगामी विकासमा सामेल योजनाहरूको फाइदा उठाउन म आह्वान गर्नचाहन्छु।
फूलखेती
माननीय अध्यक्ष महोदय,
मेरो सरकारद्वारा शुरु गरिएको अग्रपहलको फलस्वरूप राज्यको फूलखेती क्षेत्रको सम्भाव्यताको खोज अनि पहिचान गरिसकेको छ भने यसले विश्वव्यापी रूपमा मान्यता पनि पाएको छ। हाम्रो राज्यले खूबै जोशपूर्ण तरिकाले धेरै राष्ट्रिय अनि अन्तरराष्ट्रिय प्रदर्शनीहरूमा भाग लिँदै राज्यको समृद्धशील अनि विविधतापूर्ण पुष्प संसाधन जानकार गराउने काम गरेको छ। हामीले यस क्षेत्रको विकासका सम्बन्धमा प्राकृतिक संसाधनको सम्भाव्यताबारे राष्ट्रिय साथै अन्तरराष्ट्रिय स्तरमा उपस्थिति दर्ता गरिसकेका छौं। राज्यको उत्कृष्ट पुष्प संसाधनका साथै यस फाइदाकारी क्षेत्रमा निवेश गर्न इच्छुक अग्रोन्मुख लगानीकर्तालाई ध्यानमा राख्दै स्थानीय पुष्प कृषकहरूको बढी फाइदाका लागि विवेकसम्मत तरिकाले प्रयोगमा ल्याउन आवश्यक छ। यहॉं हाम्रा बेरोजगारहरू साथै महिला जगत्‌ कुनै हिचकिचाहट बिनै फाइदा उठाउन अघि आउनुपर्नेछ। मेरो सरकारले प्राविधिक तालिम, बजार व्यवस्थापन सहयोगका साथै वित्तीय सहायती आदिजस्ता आवश्यक सहयोगी प्रबन्ध मिलाइदिएको छ ताकि सम्भावित सरोकारवालाहरूले यस उदाउँदो आर्थिक अवसरको फाइदा उठाउन सकून्‌ र सिक्किमलाई फूलखेतीको स्वर्ग नै स्थापित गर्नसकून्‌। यो सपनालाई यस लाभकारी क्षेत्रसित सम्बन्धित सबै सरोकारवालाहरूको सक्रिय सहयोग अनि सहभागिताद्वारा साकार तुल्याउनुपर्नेछ। 
यो लक्ष्य हासिल गर्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन बागवानी विभागलाई गम्भीरतासाथ सहयोगीका रूपमा काम गर्ने पूर्ण अधिकार प्रदान गरिएको छ। मैले यी नीतिगत पहलहरू हरेक मञ्चमा रेखाङ्कित गर्दैआएको छु र म सबै सम्बन्धित अधिकारीगणलगायत सम्भाव्य सरोकारवालाहरूलाई यस अभियानमा सक्रिय सहभागी बन्दै सिक्किमलाई हिमालयको फूलखेती क्षेत्रमा प्रमुख गन्तव्य स्थापित गर्न अघि आउन आह्वान गर्नचाहन्छु। 
औषधीय वनस्पति/जडीबुटीको दोहन
कृषि क्षेत्रलाई विविधता प्रदान गर्न औषधीय साथै सुगन्धयुक्त वनस्पतिको खेतीले देशभरी नै उत्कृष्ट परिणाम दिइरहेको छ। आयुर्वेद, युनानी अनि सिद्धजस्ता पारम्परिक चिकित्सा पद्धतिले समग्र उपचारका सम्बन्धमा लोकप्रियता हासिल गरिरहेको छ भने यसको माग बढ्‌नका साथै प्राकृतिक पर्यावासमा यी वनस्पतिहरूको अत्याधिक दोहन हुनथालेकाले यी औषधीय वनस्पतिहरूको खेतीलाई प्रेरित गर्नथालेको छ। हाम्रो सरकारले वैज्ञानिक तरिकाले व्यवसायिक रूपमा यी औषधीय वनस्पतिहरूको दोहन गर्ने जमर्को लिएको छ जहॉं यो कॉंचो सामग्रीलाई देशभरी औषधि, कान्तिवर्धक प्रशाधन उद्योगमा आपूर्ति गर्नसकिनेछ। यी अन्तरनिहित प्राकृतिक संसाधनको विवेकसम्मत्‌ तरिकाले दोहन गर्दै सम्बन्धित जैव चक्रभित्र यी सङ्कटग्रस्त समृद्ध संसाधनको पारिस्थितिकी अनि आर्थिक दीर्घगामिता सुनिश्चित गर्दै बुनियादी तहका सरोकारवालासम्म फाइदा पुऱ्याउनुपर्नेछ। औषधीय वनस्पतिमा बढ्‌दो वैश्विक रुचिले दीर्घ माग सिर्जना गरेको छ भने वर्ष 2002 मा मात्रै विश्व व्यापारमा औषधि वनस्पतिको मूल्य 1034 मिलियन अमेरिकी डलर बराबर रहेको थियो। धेरै प्रचलित र अन्तरराष्ट्रिय बजारमा धेरै राम्रो मूल्य पाउने यार्सागुम्पाको व्यवसायिक तरिकाले दोहन गर्न हाम्रो सरकारले नियमहरू तर्जुमा गरेको छ।
केही लगनशील शिक्षित युवावर्गका साथै गैर सरकारी सङ्गठनहरूले औषधीय वनस्पतिको हाम्रो संवेदनशील संसाधनको संरक्षणका साथै सूत्रबद्ध दोहनतर्फ निर्दिष्ट अभियान शुरु गरेको कुरा खूबै प्रेरक अनि प्रोत्साहक मान्नुपर्दछ। मैले निरन्तर रूपमा हाम्रो समृद्ध प्राकृतिक संसाधनको आफ्नै पर्याप्रणाली क्षेत्रमा दीर्घता प्रदान गर्नुपर्ने कुरामा बल दिँदैआएको छु भने यी दुर्लभ जैविक संसाधनको व्यवसायिक दोहन अनि दीर्घता प्रदान गर्न प्रभावी शोध एवं विकास पहल गरिनुपर्ने कुरा रेखाङ्कित गर्दैआएको छु। हामीले वन अनि पर्यावरण क्षेत्रमा मानव अनि पर्यावरणबीच सामाञ्जस्यपूर्ण सन्तुलन कायम गर्दै पर्यामैत्री लक्ष्य हासिल गर्न र देशको शीर्ष जैवविविधता केन्द्रको स्थान गौरवपूर्ण राख्न पहल गर्नुपर्नेछ। 
जलविद्युत उत्पादन
हामीले पर्याचक्र, पर्यावरण, सामाजिक-सांस्कृतिक अनि जनसङ्‌ख्या सुरक्षालाई ध्यानमा हामीसित उपलब्ध जलविद्युत संसाधनको दोहन गर्न मार्गचित्र तयार पारिसकेका छौं। हामीसित 8 हजार मेगावाटको अथाह जलविद्युत क्षमता छ भने हामी विवेकसम्मत्‌ तरिकाले विभिन्न जलविद्युत परियोजना निष्पादनको दिशामा अघि बढिरहेका छौं, जसको स्थापित क्षमता 5 हजार मेगावाट अहिलेसम्म आँकिएको छ। जलविद्युत परियोजनामा निवेशक सहभागीमध्ये एनएचपीसीसहित स्वतन्त्र जलविद्युत विकासकर्ताहरू सामेल छन्‌। 510 मेगावाटको टिस्टा जलविद्युत परियोजना अनि 60 मेगावाटको रङ्गीत जलविद्युत परियोजनाका साथै राज्य क्षेत्रभित्र विभिन्न लघु अनि सूक्ष्म जलविद्युत परियोजना परिचालनले राज्यको जलविद्युत उत्पादन क्षमतालाई धेरै टेवा प्रदान गरेको छ। विकासको विभिन्न चरणमा रहेका जलविद्युत परियोजनाहरूबाट कूल 5 हजार मेगावाट बिजुली उत्पादनसॅंगै हामीले रु. 1 हजार करोड राजस्व आर्जन गर्ने लक्ष्य निर्धारण गरेका छौं। मेरो सरकारले, हरेक जलविद्युत परियोजना निर्माण क्रममा अनुमोदन प्रक्रियालाई अरू धेरै पारदर्शिता कायम गर्ने र पर्यावरण अनि पर्याचक्र सुरक्षालाई विशेष ध्यान दिने अडान स्पष्ट पारिसकेको छ। 
मेरो सरकारले प्रत्येक जलविद्युत परियोजनाका लागि निरापत्ति प्रदान गर्नअघि परियोजना क्षेत्रमा बसोबासो गर्ने सबै सरोकारवालाको विश्वास अघिबाटै जित्ने काम गर्नेछ। जलविद्युत संसाधन दोहन गर्ने हाम्रो पहल रोजगार अवसरहरू सिर्जना गर्नका साथै राज्यको हरेक सामाजिक-आर्थिक गतिविधिसित सम्बन्धित विकासीय गतिविधिलाई सम्बोधित गर्न आवश्यक राजस्व आर्जनमा केन्द्रित छ। म के आश्वस्त पार्न चाहन्छु भने हामीले सिक्किमलाई सामाजिक अनि आर्थिक आधारका हरेक सूचकको सर्वोच्च बढत दर हासिल गर्ने सपना सॉंच्दै अग्रगामी अनि प्रदर्शनकारी राज्यको रूपमा स्थापित गर्ने सोचेका छौं र म वचन दिँदछु, यो परिकल्पना हाम्रो पहुँचभन्दा टाढा छैन। जनताबाट पाएको विपूल जनमत अनि सहयोगको फलस्वरूप यो लक्ष्य पार गर्न हामी सक्षम छौं। 
पर्यापर्यटन ः हाम्रो सबल पक्ष
पर्यटन उद्योग गुणात्मक रूपमा विकास भइरहेको छ भने अझै पनि बढ्‌दो पर्यटक सङ्‌ख्यालाई अँटाउनसक्ने पूर्वाधार उन्नयन चिन्ताकै विषय छ। सिक्किमले आफ्नो अशान्त अनि अनिश्चिततापूर्ण छिमेकी पार्वत्य पर्यटन गन्तव्यको तुलनामा सुरम्य अनि शान्तिपूर्ण रहेको प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित गरिसकेको छ। आतिथ्य क्षेत्रमा प्राविधिक रूपमा विशेषज्ञता हासिल पर्याप्त मानव संसाधन विकास गर्ने पहललाई प्राथमिकताको रूपमा रेखाङ्कित गरिसकिएको छ भने म यस ओजस्वी सदनलाई के जानकारी गराउन चाहन्छु भने पर्यटन विभागको अधीनमा रहेको होटल प्रबन्धन संस्थानद्वारा सञ्चालित कार्यक्रमहरूको रोजगार सम्भावना धेरै प्रेरक रहिआएको छ। हामीले यी पहललाई अरू प्रगतिशील अनि बल दिँदै अघि बढाउनुपर्नेछ। राज्यमा हालैका वर्षहरूमा फस्टाएको पर्यटन उद्योगको अर्थनैतिक उपलब्धिहरू जगजाहेर छ। हामीले अघि आएका यी अवसरहरूलाई सही दिशा अनि समुचित परिप्रेक्ष्यमा आत्मसात गर्नुपर्नेछ। 
यस उर्ध्वगामी पक्षबाट अधिकाधिक लाभांश प्राप्त गर्ने साथै स्थानीय युवाहरूको फाइदाकारी रोजगारलाई सम्बोधन गर्ने दिशामा हाम्रो विकासीय रणनीति अनि कार्यक्रमहरू नियोजित गरिनुपर्नेछ। हाम्रो पहल पर्यटन क्षेत्रमा श्रेष्ठ प्रदर्शक राज्यको रूपमा रहेको छवि कायम राख्दै राज्यको सबै पक्षलाई समेट्‌दै पर्यावरणमुखी, जनमुखी अनि समुदायमुखी पर्यटन प्रोत्साहनमा केन्द्रित हुनुपर्नेछ। मनमोहक वन्यप्राणी अनि वनस्पतिको धनी, सुरम्य नदीहरूका साथै आनन्ददायक हिमालय शृङ्‌खलासहितको समृद्ध जैवविविधताले सिक्किमलाई पर्यटकहरूको निम्ति स्वर्ग नै तुल्याएको छ। हाम्रो राज्यले राष्ट्रिय पर्यटन मानचित्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ भने हामीले यस निर्णायक स्थितिको फाइदा उठाउँदै स्थानीय हित अनि अर्थनीतिलाई बल प्रदान गर्न हाम्रो निवेश रणनीतिलाई अरू अग्रगामी बनाउनुपर्नेछ।
ऐतिहासिक महत्त्व बोकेका हाम्रा समृद्ध सांस्कृतिक अनि धार्मिक धरोहरका फलस्वरूप हाम्रो राज्यलाई तीर्थाटन पर्यटन सञ्जालभित्र वैश्विक रूपमै सामेल गरिएको छ। हाम्रो राज्यलाई देशको बौद्ध तीर्थाटन सञ्जालभित्र प्रमुखतासाथ सामेल गरिएको छ भने चीनको तिब्बत स्वायत्त केन्द्रमा अवस्थित मानसरोवर झीलको तीर्थाटनको सम्भावना अरू धेरै बढेर गएपछि, पर्यटक सङ्‌ख्या बढेर जाने सम्भावनाको परिप्रेक्ष्यमा निवेश पनि त्यति नै धेरै हुने अपेक्षा गर्नसकिन्छ। साम्ड्रूप्छेमा 135 फीट अग्लो गुरु पद्मसम्भवको मूर्ति स्थापनाले पर्यटकहरूको चासो यसतर्फ धेरै बढेर गएको छ भने राज्यमा तीर्थाटन प्रोत्साहित गर्न पूर्वाधार जुटाउने दिशामा मेरो सरकारको यो ठोस पहल थियो। यस ऐतिहासिक परियोजनाले हामीलाई राज्यको धार्मिक अनि सांस्कृतिक संसाधन प्रदर्शित गर्ने यस्ता अरू धेरै परियोजना अङ्गीकार गर्न प्रेरणा अनि प्रोत्साहन प्राप्त भएको छ। यस्ता धेरै परियोजना जसमा शिरिजङ्‌घाको सालिग, भगवान शिवको सालिगका साथै सोलोफोकमा ज्योतिर्लिङ्ग चारधाम अनि आदिकवि भानुभक्तको सालिग निर्माण कार्य युद्ध स्तरमा चलिरहेका छन्‌। राभङ्लामा भगवान्‌ बुद्धको विशालकाय मूर्तिको निर्माण कार्य समाप्तितिर बढिरहेको रहेको छ भने यसको उद्‌घाटनसॅंगै निकट भविष्यमा सिक्किम तीर्थाटनको सम्बन्धमा एउटा अलौकिक स्थानकै रूपमा स्थापित हुने प्रत्याशित छ। 
हामीले हरेक निर्वाचन क्षेत्रमा मनोरञ्जन प्रदान गर्ने पर्यटन केन्द्र विकास गर्ने कुरामा बल दिएका छौं भने केहीको निर्माण कार्य पूरा भइसकेको छ र केही योजना एवं निष्पादनको प्रक्रियामा छ। उदाउँदो पर्यटन उद्योगबाट सिर्जना भएका फाइदाहरू आफ्नो पक्षमा तुल्याउन गाउँले स्तरका सरोकारवालासॅंगै गैर सरकारी सङ्गठनका सेनाहरू अघि आउनुपर्नेछ, र म विश्वास दिलाउन चाहन्छु, मेरो सरकारले यस उद्योगलाई हरेक गाउँ अनि घर परिवारसम्म पुऱ्याउन आवश्यक नीति अनि तर्कसम्मत्‌ संरचना उपलब्ध गराउनेछ। म मेरा विधायक मित्रहरूलाई सरकारको यस महत्‌ अभियानलाई सघाउ पुऱ्याउँदै पर्यटनलाई पर्यामैत्री अनि पर्यावरणीय दृष्टिकोणले दीर्घगामी उद्योगको रूपमा मान्यता प्रदान गर्न आह्वान गर्दै राज्यभरीका गाउँ-घर अनि परिवारलाई यसमा सम्मिलित गराउँदै यसबाट अर्जित फाइदा आफ्नो पक्षमा उठाउन सहभागी बनाउन आग्रह गर्नचाहन्छु। 

पर्यावरण सम्भरण
हाम्रो सरकारको नीति सदा सिक्किमलाई समृद्ध जैव विविधतासॅंगै जलचर, थलचर अनि वायुचर वन्यप्राणी संसाधनसहितको उद्यान राज्यको रूपमा रूपान्तरित गर्न केन्द्रित छ। यी प्रयासहरूलाई अरू बल प्रदान गर्न स्मृति वन अनि हरित अभियानअन्तर्गतका कार्यक्रमहरू जारी रहनेछन्‌। 
मौसम परिवर्तनको जटिल समस्याप्रति अन्तरमनको चिन्तालाई सम्बोधित गर्न मैले इमान्दार प्रयास जारी राखेको छु भने प्रोफेसर एसआइ हसनैनको अध्यक्षतामा सिक्किम हिमनदी आयोग गठन गरिसकेको छु। यस पहलले केन्द्र सरकारद्वारा राष्ट्रिय अभियान योजनाअन्तर्गत मौसम परिवर्तनको नकारात्मक असरको सामना गर्न तय लक्ष्य हासिल गर्न सघाउ पुग्ने आशा गरिएको छ। मेरो सरकारले पर्यावरण अनि पर्याचक्र सुरक्षाको सम्बन्धमा रेखाङ्कित गरेको यो सबैभन्दा प्राथमिक विषय पनि हो। मौसम परिवर्तनका सम्बन्धमा विशेषज्ञहरूद्वारा रेखाङ्कित गरिएका सिफारिशअन्तर्गत ठोस मैला-कुचैला प्रबन्धन अनि पर्यावरण मैत्री व्यवहारमा आधारित जैविक खेतीतर्फको प्रयासलाई हामी अरू बल प्रदान गर्नेछौं।
हाम्रा जनतालाई यसबाट हुनसक्ने सम्भावित विध्वंश अनि नकारात्मक असरबारे सचेत गराउँदै पर्यावरणमैत्री अनि दीर्घगामी विकासीय गतिविधि अङ्गीकार गर्न शिक्षित तुल्याउनुपर्ने समयको माग साथै जल्दोबल्दो विषय रहेको छ। हाम्रो हिमालयको संवेदनशील परिस्थितिकी तन्त्रमाथि मौसम परिवर्तनको भयावह प्रभावको रोकथाम गर्न अति महत्त्वपूर्ण छ भन्ने महसुस गरेको छु भने सम्बन्धित कार्यान्वयन एकाइ अनि गैर सरकारी सङ्गठनहरूलाई यस अभियान पूरा गर्न आवश्यक संसाधन यस बजेटमा प्रावधान राख्ने आश्वासन दिनचाहन्छु।
पूर्वाधार विकासमा प्रगति
माननीय अध्यक्ष महोदय
सिक्किमजस्तो भूपरिवेष्ठित राज्यमा अपर्याप्त पूर्वाधार नै विकासीय पहलहरूमा प्रमुख बाधा रहेको हामीले अनुभव गरेका छौं। तथापि, केन्द्र सरकारको सहयोगको फलस्वरूप हामीले गत पन्ध्र वर्षको अवधिमा यो दूरी धेरै कम गर्न सफलता हासिल गरेका छौं। धेरै प्रमुख परियोजना निर्माणाधीन छन्‌। यी सबै पूर्वाधार विकासका प्रगतिमाथि अविराम निगरानी जारी छ। यी गतिविधिहरूलाई राष्ट्रिय राजमार्ग 31-ए को उन्नयनसहित सहायक कार्यक्रमहरूसित एकिकरण गरिनेछ। हामी अविराम रूपमा केन्द्र सरकारलाई राज्यको पूर्वाधार अवरोधहरूबारे अवगत गराउँदै प्राथमिकता साथ समयबद्ध विधि अप्नाइदिने कुरामा बल दिनेछौं। 
नथुलाबाट अन्तरराष्ट्रिय कारोबार शुरु गराउने ऐतिहासिक उपलब्धि हाम्रो सरकारले हासिल गरेको छ भने सीमा सम्बन्धमा गुणात्मक सुधार आएको छ र कुनै प्रकारको सुरक्षा खतरा देखिएको छैन। हालमा कारोबार तुलनात्मक रूपमा सन्तोषजनक नरहे पनि सीमापारीय व्यापार शुरु गराउन हाम्रा अन्तरराष्ट्रिय छिमेकीले सकारात्मक कूटनीतिक पहल गरेको छ। हामी कारोबारी सामग्रीहरूको सूची दुवै आयात अनि निर्यातको सम्बन्धमा अरू बढाउने प्रयास गर्नेछौं जसले निश्चय नै कारोबारको परिमाण बढाउने आशा गर्नसकिन्छ। आउँदा वर्षहरूमा हुने उच्च परिमाणका कारोबार अनि मागअनुरूप हाम्रा भौतिक पूर्वाधारहरू जस्तै सुचारू अनि व्यवस्थित सडक मार्ग, भण्डारण क्षमतालगायत अन्य सम्बन्धित सुविधालाई पर्याप्त रूपमा विकास गर्न आवश्यक छ। 
पाकिममा ग्रीनफील्ड हवाई अड्डा निर्माण परियोजनालाई निष्ठापूर्वक कार्यान्वयन गरिँदैछ भने हामीले यो परियोजना 2012 सम्म पूरा गराउन उचित निगरानी प्रणाली स्थापित गरेका छौं। 
राष्ट्रिय राजमार्गलाई द्विमार्गी स्तरमा उन्नयन गर्दै काम पूरा गराउने सम्बन्धमा हामीले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणसमक्ष दृढतापूर्वक पहल गरिरहेका छौं। हामीले केन्द्र सरकारलाई पनि हाम्रो धेरै पुरानो वैकल्पिक राजमार्ग निर्माणको काम चॉंडोभन्दा चॉंडो निष्पादन गरिदिन आग्रह गरिरहेका छौं, जसले सिक्किमलाई मूलधारासित जोड्‌ने एकमात्र जीवन रेखामा गतिरोध उत्पन्न भए विकल्प प्रदान गर्नेछ। 
केन्द्र सरकारले सैद्धान्तिक रूपमा सिक्किमलाई रेलमार्गले जोड्‌ने परियोजनाको अनुमोदन गरे पनि यसलाई व्यावहारिक तुल्याउन केन्द्रिय रेल मन्त्रीलाई सक्दो चॉंडै यस परियोजनाको काम शुरु गर्न माग गरिरहनेेछौं। राज्य मार्गहरूमा ढल निकासी, सडक मार्ग चौडा गर्ने, अलकत्र बिछ्‌याउनेदेखि लिएर सडक मार्गको ढलानमा सुधार अनि संवेदनशील विन्दुहरूमा सुरक्षा उपायजस्ता विभिन्न सुदृढिकरण कार्यक्रमलाई समयबद्ध तरिकाले अङ्गीकार गरिनेछ। राज्यको सुदूर गाउँहरूसम्म विस्तारित ग्रामीण सडक सञ्जालहरू क्रमबद्ध तरिकाले बाह्रमासे सडक मार्गको रूपमा बढोत्तरी गरिनेछ।
मैले अघिबाटै उल्लेख गरेअनुरूप नीतिगत आधारमा हामीसित लगानीमैत्री परिवेश छ, जसले निजी लगानीकर्तालाई पर्यटन क्षेत्रमा निवेश गर्न आकर्षित गर्नेछ। मलाई यहॉं जानकारी दिन पाउँदा हर्षबोध हुँदछ, हाम्रो राज्यको वभिन्न स्थानमा केही यस्ता होटल अनि रिसोर्ट निर्माण भएका छन्‌ जसले सबै श्रेष्ठतम्‌ अनि उच्चस्तरीय मापदण्ड पूरा गर्दछ। राज्यका विभिन्न स्थानमा यस्ता सुविधाहरू विकास गर्नसकिने अझै धेरै अवसरहरू छन्‌। 
शिक्षा
माननीय अध्यक्ष महोदय,
हाम्रो सरकारले मानव सशक्तिकरणका साथै सुरक्षाको आधारशीला राख्न शिक्षालाई सर्वव्यापी बनाउनुपर्ने कुरालाई अविराम रूपमा रेखाङ्कित गर्दैआएको छ। हाम्रो सरकारको गुणस्तरीय शिक्षा प्रदान गर्ने अथक प्रयासको फलस्वरूप साक्षरता दर 68.80 सकारात्मक प्रतिशत (2001 को जनगणना) हासिल गर्न सफल भएको छ भने उल्लेखयोग्य 82 प्रतिशतको आँकडा छुन लागेको छ। बालिकाहरूको स्कूल भर्नामा पनि उत्साहजनक वृद्धि भएको छ भने ताजा आँकडाअनुसार प्रतिसय बालक 101 बालिका भर्ना दर अहिले छ भने 1975 मा प्रति 1 सय बालक 51 जना बालिका मात्र स्कूल जाने गर्दथे। यी बुनियादी सूचकहरू शिक्षा क्षेत्रमा वास्तवमै उत्साहजनक मान्नुपर्दछ। हाम्रो शिक्षा प्रणालीलाई गुणात्मक साथै समकालीन पाठ्यक्रममा शिक्षा प्रदान गर्दै हाम्रा विद्यार्थीहरूलाई 21 औं शताब्दीको प्रतिस्पर्धी चुनौतीको सामना गर्नसक्ने हिसाबले अभिमुखीकरण गर्न आवश्यक छ। 
सिक्किम विश्वविद्यालयको स्थापना एउटा प्रमुख माइलखुट्टी मान्नसकिन्छ जसले उच्च शिक्षा क्षेत्रमा विकासीय शिक्षा कार्यक्रम सूत्रपात गराउन महत्‌ भूमिका निर्वाह गर्नेछ। संस्कृत महाविद्यालय अनि शेडाबाहेक अन्य सबै सरकारी अनि निजी महाविद्यालयहरूलाई केन्द्रिय विश्वविद्यालयको अधीनमा सम्बद्ध गरिएको छ। हाम्रो सरकारले विश्वविद्यालयलाई आवश्यक पूर्वाधार जुटाउन सबै प्रकारको सहयोग प्रदान गरिरहनेछ भने याङयाङमा विश्वविद्यालय परिसर विकास गर्न अधिग्रहण गरिएको भूमिका लागि क्षतिपूरणको निम्ति बजेटीय प्रावधान राखेको छ। 
सिक्किमको राजनीतिक स्थिरता अनि स्वस्थकर मौसमले सिक्किमलाई शिक्षा आदर्श केन्द्रको रूपमा स्थापित गरेको छ। यो पनि विकासको सम्भावित क्षेत्रमध्ये एक हो, जसलाई समुचित तरिकाले दोहन गर्न आवश्यक छ। हामी यस विशेष क्षेत्रमा विकासीय पहलमा निवेश गर्न निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्नचाहन्छौं। हाम्रो सरकारले हरेक शैक्षणिक क्षेत्रमा उच्च शिक्षाका लागि उदाउँदा युवाहरूका आशा अनि अभिलाषा साकार तुल्याउन राज्यभरी नै श्रेष्ठतम्‌ संस्थानहरू स्थापना गरेर ती सुविधाहरू सुलभ तुलाउने प्रयास गर्नेछ। राज्यमा विभिन्न पाठ्यक्रमका लागि थप महाविद्यालयको स्थापनाका सम्भावनाहरू प्रशस्त छन्‌, र उल्लेखयोग्य कुरा के छ भने हाम्रा शैक्षणिक पूर्वाधार सञ्जालले राज्य बाहिरका विद्यार्थीहरूलाई पनि धेरै आकर्षित तुल्यउँदै आएको छ। 
दुवै निजी अनि सार्वजनिक क्षेत्रमा शैक्षणिक संस्थानहरूको बढत अनि सम्भरणले समानुपातमा हाम्रा जनसमुदायमा आर्थिक लाभांश उत्प्रेरित गर्न सकारात्मक भूमिका निर्वाह गरिरहेको छ। तादोङ सरकारी महाविद्यालय अनि नाम्ची महाविद्यालयमा गणित, भौतिकशास्त्र, रसायन शास्त्र अनि जैवशास्त्रमा सम्मान र सिक्किम सरकारी महाविद्यालयमा एलएलएम पाठ्यक्रमको शुरुवात हाम्रो सरकारको उच्च स्तरको गुणात्मक शिक्षा व्यवसायिक रूपमा योग्य अनि प्रतिबद्ध शिक्षक जमातबाट उपलब्ध गराउने ध्येय अनि विचार परिलक्षित गर्दछ। सबै तहमा शिक्षकहरूको नियुक्तिका सम्बन्धमा हामी निर्धारित योग्यता अनि मापदण्डमा कुनै प्रकारको सम्झौता गर्नेछैनौं भने शिक्षा प्रणालीमा गुणस्तर सुनिश्चित गराउने हाम्रो प्रयास हाम्रो शिक्षा नीतिमा अविराम रेखाङ्कित रहिरहनेछ। 
शिक्षाको सबै तहमा उच्च गुणस्तर कायम राख्ने र हाम्रा मेधावी युवा जमातलाई 21 औं शताब्दीको प्रतिस्पर्धी चुनौती सामना गर्नसक्ने बनाउन, हाम्रा शिक्षक जमातको आफ्नो सम्बन्धित विषयमा क्षमता उन्नयन गर्न प्रेरक योजना अनि सहुलियतद्वारा सम्बोधित गरिनेछ। हामी प्राथमिक स्तरदेखि उच्चतर तहसम्मै कम्प्युटर शिक्षा शुरु गर्ने कोशिशमा निरन्तर लागिपर्नेछौं। हाम्रा भावी कर्णधारहरूको उन्नतिका यी सबै पहलमा बीपीएल वर्गमा पर्ने विद्यार्थीहरूलाई वित्तीय सहयोग प्रदान गर्ने तथा उच्च शिक्षाका लागि अन्यलाई सरल अनि सुलभ ऋण व्यवस्थाजस्ता सहयोगी कार्यक्रम पनि हामीले तर्जुमा गरेका छौं। हाम्रो पार्टीको घोषणा पत्रले शिक्षा सुरक्षाका साथै सबै बाल-बालिकाका लागि शिक्षाको सुलभता सुनिश्चित गराउने कुरा निर्देशित गरेको छ भने मैले शिक्षा क्षेत्रसित सम्बन्धित उल्लेख गरेका यी सबै पक्ष यस परिकल्पनालाई साकार तुल्याउन केन्द्रित छ। हामीसित राज्यभरी पूर्ण कम्प्युटर सुविधायुक्त चालीसवटा सामुदायिक सूचना केन्द्र छन्‌ जसले ग्रामीण समुदायलाई कम्प्युटर साक्षरता अनि इण्टरनेट सुविधा उपलब्ध गराइरहेका छन्‌। यी पहलहरू सरकारको आफ्नो अभियानअन्तर्गत कम्प्युटर साक्षरता प्रोत्साहित गर्दै राज्यभरी प्रविधि उद्यान स्थापित गर्न र सूचना प्रविधिसित हाम्रा मानिसहरूलाई एकाकार तुल्याउन परिलक्षित छ। 
सबैका लागि सुफत स्वास्थ्य स्याहार
हाम्रो सरकारले सबै नागरिकलाई सरल अनि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यभरी ग्रामीण स्वास्थ्य केन्द्रसहित बुनियादी पूर्वाधार जुटाउने पहल शुरु गरेको छ। विस्तृत स्वास्थ्य स्याहार सेवाको सम्बन्धमा वितरण प्रणालीलाई मोबाइल अस्पताल सेवाहरूको विस्तारीकरणले थप बल प्रदान गर्नेछ। एक वर्षसम्मका शिशुहरूलाई निशुल्क हेपाटाइटिस बी खोप लगाउने सिक्किम देशकै पहिलो राज्य बनेको छ। यी सबै गतिविधि राज्यका हरेक नागरिकलाई विस्तृत स्वास्थ्य सुरक्षा उपलब्ध गराउने सरकारको अभियानमा सघाउ पुऱ्याउन लक्षित छन्‌। हाम्रो विशेष जोर सुरक्षात्मक स्वास्थ्य कार्यक्रमलाई सम्बोधन गर्नका साथै अस्पतालहरूमा अत्याधुनिक नैदानिक एवं शल्यक्रिया उपकरणहरू जुटाउँदै बुनियादी स्वास्थ्योपचार सेवा उपलब्ध गराउन केन्द्रित रहनेछ। 
सबै जिल्ला अस्पतालमा आवश्यक सुविधा बढोत्तरीका साथै संसाधनयुक्त बनाउन र चाहिँदो चिकित्सक अनि विशेषज्ञ र प्यारा मेडिकल बल उपलब्ध गराउन निवेश गर्न जरुरी देखिएको छ भने यसको निम्ति आवश्यक बजेटीय प्रावधान राखिएको छ। हामीले एसटीएनएम अस्पताल परिसरलाई उन्नयन, पुनर्निर्माण अनि विस्तार गर्दै यस धरोहर केन्द्रलाई अत्याधुनिक सुविधाले सम्पन्न बनाउन तथा उपचार र आयुर्विज्ञान शोध कार्यक्रमलाई प्रोत्साहित गर्न यसमा टेलिमेडिसिन सुविधा उपलब्ध गराउन नयॉं दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) सॅंग प्राविधिक समझदारीको कार्यक्रम पनि अङ्गीकार गर्ने कुरामा बल दिएका छौं। 
औद्योगिक विकास 
वैश्विक आर्थिक मन्दीका विपरीत राज्यमा लगानी मैत्री परिवेशका कारण सिक्किममा औद्योगिक विकासले अनुबोधक बढत अनि विकास गरेको छ। कुनै पनि औद्योगिक परियोजनालाई अनुमोदन अनि निरापत्ति प्रदान गर्नअघि हाम्रो औद्योगिक नीतिले पर्यावरण अनि पर्याचक्र मैत्री पक्षलाई प्राथमिकताका साथ निर्देशित गर्नेछ। राज्यमा नयॉं औद्योगिक विकासको सन्दर्भमा हामी समावेशी बढतको चिन्तालाई सम्बोधित गर्नेछौं ताकि हाम्रा स्थानीय नागरिकहरूले पनि सहभागी बन्दै उक्त औद्योगिक बढत प्रक्रियाको फाइदा उठाउन सकून्‌। हामीसित उपलब्ध पर्याप्त मानव संसाधनलाई लक्ष्य गर्दै क्षमता विकास कार्यक्रमलाई सरकारको ध्वजवाहक कार्यक्रमको रूपमा अङ्गीकार गर्नेछौं ताकि हाम्रा युवाहरूले यहॉं सिर्जना भएका रोजगार अवसरहरूको फाइदा उठाउनसकून्‌। राज्यमा निवेश आकर्षित गर्न हामीले राष्ट्रिय साथै अन्तरराष्ट्रिय मञ्चमा उद्योगपतिहरूसॅंग शृङ्‌खलाबद्ध अन्तरक्रिया गर्दैआएका छौं भने केही उद्योगले हाम्रो राज्यमा निवेश गर्ने इच्छा गरेका पनि छन्‌। हामी उनीहरूलाई आन्तरिक हृदयबाट स्वागत जनाउन चाहन्छौं, तथापि, उनीहरूको उद्योग हाम्रो सरकारको पर्यावरण अनि पारिस्थितिकी तन्त्रको सुरक्षाको सम्बन्धमा अख्तियार गरिएको नीतिअनुकूल हुनका साथै स्थानीयहरूलाई रोजगार अवसर प्रदान गर्ने हुनुपर्नेछ। 
हामी कम उत्पादन तर उच्च मूल्य उत्पादका पर्यावरणमैत्री उद्योगहरूका साथै खाद्य प्रशोधन क्षेत्रलाई प्रोत्साहित गर्ने पक्षमा छौं। राष्ट्रिय रूपमा जैविक राज्यको रूपमा मान्यता पाएपछि, सिक्किममा खाद्य प्रशोधन उद्योगको सम्भावना अरू धेरै बढेर गएको छ भने हामीले यस निर्णायक स्थानको सबै सरोकारवालाको हित अनि फाइदामा दोहन गर्नसक्नुपर्दछ। हामीसित राज्यको अधीनमा केही यस्ता सार्वजनिक एकाइहरू छन्‌ जसको प्रदर्शन सन्तोषजनक छैन र हामीले यी रूघ्न उद्योगहरूको पुनरूत्थान वा विनिवेशका लागि समयबद्ध रणनीति अख्तियार गर्नुपर्नेछ। निवारणका जे-जस्तै विकल्प अप्नाइए पनि हामी यी उद्योगहरूका कर्मचारी अनि मजदूरहरूको हित अनि कल्याणलाई अदेखा गर्नेछैनौं र उनीहरूको पुनर्वासमा पर्याप्त ध्यान पुऱ्याउनेछौं। राज्यमा स्थापित हुने कुनै पनि औद्योगिक एकाइमा स्थानीयहरूको रोजगार सुनिश्चित गराउने हामीसित आवश्यक वैधानिक प्रावधान पनि छ। राज्यलाई कृषि निर्यात क्षेत्रको रूपमा विकास गर्ने हाम्रो प्रयासले फल दिन थालेको छ र हामी फूल, अदुवा, डल्ले खोर्सानी, गरेण्डल, जैविक चिया, सुन्तलालगायत विभिन्न औषधीय वनस्पति अनि जडीबुटी निर्यात गर्ने सम्भावित स्रोतका रूपमा स्थापित भइसकेका छौं। यी क्षेत्रहरूबाट सिर्जना भएका सम्भावित फाइदा बढाउन र दोहन गर्न, हामीले राज्यका प्रत्येक गाउँलाई समेट्‌ने गरी सहकारी कृषि प्रणालीलाई सुदृढ बनाउँदै सिक्किमे कृषि समुदायको फाइदाका लागि नयॉं हरित क्रान्तिको सूत्रपात गर्नुपर्नेछ। 
ग्रामीण पुनर्जागरण
गरीब-निमुखा साथै भुक्तभोगीहरूको सुरक्षा हाम्रो प्राथमिक चिन्ता अनि सम्बोधनको विषय रहिरहनेछ। ग्रामीण आवास योजना, घर उन्नयन अनि मुख्यमन्त्री आवास योजनाअन्तर्गतका अन्य गतिविधि राज्यभरीका हरेक सुपात्र परिवारलाई समेट्‌न परिलक्षित रहनेछ। जातिविशेष पर्यटन व्यवसायमा सङ्लग्न गाउँहरूलाई वास अनि शौचालय पूर्वाधार व्यवस्था गर्न सहयोग प्रदान गरिनेछ। हामीले गरीबी रेखामुनिका परिवारहरूलाई चामल, नून, तेल, दाल अनि चिनी आदि जस्ता आवश्यक खाद्यान्नमा छूट दरमा नियन्त्रित मूल्यमा उपलब्ध गराउने आवश्यक प्रावधान बनाएका छौं। यी सेवाहरू उपलब्ध गराउने वितरण प्रणालीलाई जात, जातिगोष्ठी वा राजनीतिक आबद्धताको सम्बन्धमा पक्षपाती हुनेछैन। हामीले समावेशी ब्याङ्कीय सुविधा शुरु गर्ने पनि योजना तर्जुमा गरेका छौं, जहॉं सरकारले प्रत्येक योग्य सिक्किमे परिवारका आमाको नाममा जमाखाता खोल्ने र परिवार स्वास्थ्य वीमासहित सरकारबाट पाउने हरेक प्रकारको नगदी सहायताजस्ता सहुलियत यसै खातामार्फत प्रदान गर्ने तय गरेको छ। 
जनता मेला कार्यक्रममार्फत्‌ गरीब अनि निमुखाहरूलाई सहुलियत प्रदान गर्ने क्रम राज्यभरी जारी रहनेछ। कार्यक्रमअन्तर्गतका लाभहरूमा ग्रामीण आवास सहायता, इन्दिरा आवास योजना, मुख्यमन्त्री स्वरोजगार योजना, निवृत्ति भत्ता, मुख्यमन्त्री अन्त्योदय अन्नदान योजना, एलपीजी वितरण, कृषि लघु उपकरणसहित उच्च उत्पादक बीउहरू, पशुपालन, लुगा सिउने मशीन र भूमिहीनलाई भूमि आदि यसमा सामेल रहनेछन्‌। 
हाम्रो जनसङ्‌ख्याका वञ्चित वर्गका साथै भुक्तभोगीहरूलाई घर बनाउन नगद, छाना छाउने च्यादर अनि पुराना घरहरूको मरम्मति अनि बढोत्तरीका लागि प्रदान गरिने सहुलियतजस्ता सुरक्षा पहलले ती वञ्चित वर्गको जीवन स्तरमा सुधार ल्याउन महत्‌ भूमिका निर्वाह गरेको छ। भूमिहीनहरूलाई भूमि प्रदान गर्ने योजना शुरु गरिनाले लक्षित वर्गमा राहत अनि सुरक्षाको आभास दिलाएको छ। हाम्रो सरकारको प्रत्येक समष्टिमा आदर्श ग्राम विकास गर्ने प्रयोगले सिर्जनशील अनि विकासमुखी पहलको रूपमा सराहना पाएको छ। वर्तमान बजेटमा यी इन्दिरा आवास योजना, ग्रामीण आवास योजना, मुख्यमन्त्री आवास योजना अनि भूमिहीनहरूलाई भूमि प्रदान गर्नेजस्ता कल्याण गतिविधिका लागि पर्याप्त प्रावधान राखेको छ। 
ग्रामीण विकासको रणनीति विशेष रूपमा राज्यका प्रत्येक ग्रामीण एकाइको दीर्घ आधारमा सामाजिक-आर्थिक उत्थानमा केन्द्रित अनि प्रेरित हुन आवश्यक छ। हाम्रो ध्यान राज्यका प्रत्येक एकल परिवारमा लक्षित हुनुपर्नेछ। ग्रामीण स्तरका शासन प्रणालीलाई पर्याप्त वित्तीय अनि प्रशासनिक अधिकार प्रदान गर्दै आफ्नो क्षेत्र विशेषको समस्या सम्बोधन गर्न पञ्चायतहरूलाई सशक्तिकृत गरिएको छ ताकि बढी जनहितमा उनीहरूले आवश्यक सेवा उपलब्ध गराउन सकून्‌। हाम्रो परिकल्पना प्रत्येक गाउँलाई अग्रगामी, आर्थिक रूपमा उत्पादनशील, सामाजिक अनि राजनीतिक रूपमा सचेत र दीर्घगामी, तथा हरेक मानव गतिविधिमा प्रगतिशील अनि प्रतिस्पर्धी बनाउनु रहेको छ। यी लक्ष्यहरू साकार तुल्याउनसके यसले ग्रामीण अर्थनीतिलाई सशक्त अनि समृद्ध तुल्याउँदै ग्रामीण भेकबाट शहरतिरको पलायन अनि बसाइँ सराई रोकथाम गर्नमा मद्दत पुऱ्याउनेछ। ग्रामीण विकासका लागि हाम्रो गाउँ अनि जनमुखी कार्यक्रम शहरी अनि ग्रामीण अन्तरमा सुधार ल्याउन स्पष्ट रूपमा रेखाङ्कित हुनेछ। 
पञ्चायती राज संस्थानहरूमा वित्तीय अनि प्रशासनिक अधिकारको विकेन्द्रिकरण प्रक्रिया पूरा गर्नका साथै निर्देशित गरिसकिएको छ भने संविधानको 74 औं संशोधनअनुरूप शहरी स्थानीय निकायहरूलाई संस्थागत गर्ने प्रक्रिया चॉंडै गरिनेछ। यस सम्बन्धमा नियमहरू बनाउनेदेखि लिएर नगरपालिका क्षेत्रहरूको पुनर्सीमाङ्कन अनि आरक्षण व्यवस्था आदि अगस्त, 2009 को प्रस्तावित चुनाउलाई ध्यानमा राख्दै युद्धस्तरमा गरिँदैछ। शहरी स्थानीय शासन व्यवस्थाको शुरुवात अनि सञ्चालनसॅंगै शहरी विकास प्रशासनमा सामूहिक विचार अनि पहलले अभिप्रेरित प्रक्रियाले उल्लेखनीय रूपान्तरण बोध गराउनेछ। शासनको यस रूपान्तरण प्रक्रियालाई टेवा प्रदान गर्न शहरी विकास तथा आवास विभाग शीर्ष एकाइको रूपमा रहनेछ भने संवैधानिक प्रावधानअन्तर्गत स्थापित यस लोकतान्त्रिक संस्थानलाई नीति अनि परिवेश विकास गर्न र प्रदान गरिएको कार्यभार प्रभावी रूपमा निष्पादन गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ। 
शहरी विकास 
मैले भर्खरै मात्र रेखाङ्कित गरेका विकासीय रणनीति गत वर्षको बजेट प्रस्तुतिलाई ध्यानमा राख्दै तय गरिएको छ। सम्पूर्ण राज्यको विकास संरचना नगर राज्यको अवधारणालाई एकाकार गर्दै पर्यामैत्री, विस्तृत, एकिकृत अनि जनमुखी हुनुपर्ने कुरामा बल दिइएको छ भने जहॉं हरेक विकासीय गतिविधि सेवा, पूर्वाधार सुविधा, रोजगार अवसर आदिमा शहर अनि गाउँबीचको दूरी घटाउने हिसाबले समग्र अनि समानुपातिक तरिकाले निर्देशित गरिनेछ। जिल्ला मुख्यालयलगायत महकुमाहरूमा अवस्थित सबै नगरक्षेत्र अनि राज्यभरी अधिसूचित नगर केन्द्रहरूलाई जवाहरलाल नेहरू शहरी नवीकरण अभियान कार्यक्रमअन्तर्गत शहरी विकासको एकिकृत प्याकेजमा सामेल गरिएको छ। विकासीय हस्तक्षेपका यी क्षेत्रहरूमा हामीले गान्तोकसहित सबै नगरक्षेत्रको निम्ति गुरुयोजना तर्जुमा गर्न सिङ्गापुर सरकारको प्राविधिक विशेषज्ञता लिने निधो गरेका छौं भने शहरी पूर्वाधार विकाससहित सेवा वितरणमा निजी क्षेत्रको उद्यमशील विशेषज्ञता हासिल गर्न पूर्ण पारदर्शिता अप्नाइनेछ। हामीले राज्यभरी रहेका असङ्‌ख्य गैर सरकारी संस्थानहरूको क्षमतालाई राज्यको नागरिक सेवा वितरणका लागि प्रयोगमा ल्याउन निर्भर हुनुपर्नेछ, विशेष गरी शहरी फोहोर-मैलाको उचित प्रबन्धनको सम्बन्धमा।
राज्यको शहरी क्षेत्रमा जनसङ्‌ख्या वितरणको गहन अध्ययन गर्दा विशेष रूपमा पूर्वमा कूल जनसङ्‌ख्याको सर्वाधिक 88 प्रतिशत केन्द्रिकरण रहेको पाउँछौं जसपछि दक्षिणमा 9 प्रतिशत, पश्चिममा 2 र उत्तरमा 1 प्रतिशत रहेको पाउँछौं। जनसङ्‌ख्याको चाप विशेष गरी राजधानी गान्तोक वरिपरि केन्द्रित रहेको पाउँछौं जुन राज्यको प्रशासनिक साथै व्यवसायिक केन्द्र हुनका साथै अप्रत्याशित बढतका कारण हो भन्ने स्पष्ट छ। रोजगार अनि व्यवसायिक अवसरहरूका साथै उच्च गुणस्तरका कारण पनि ग्रामीणबाट शहरी क्षेत्रमा पलायन उग्र बन्नपुगेको हुँदा राजधानीमा नगर प्रशासनमाथि धेरै चाप सिर्जना गरेको छ। आवासको कमी, सडकमा भीडदेखि लिएर ढल निकासी अनि स्वच्छता र शौचालय आदिमा बढ्‌दो चाप एउटा गत्तिलो चुनौती भएर अघि आएको छ। यी गम्भीर चिन्ताका विषय हुन्‌, जसको सम्बोधन आवश्यक महसुस गरिएको छ। 
गान्तोक नगरमा हरेक पक्षले चरम नाघेको छ भने राजधानीलगायत वरपरका क्षेत्रमा अनियन्त्रित प्रवसनलाई ध्यानमा राख्दै गान्तोकको भीड कम गर्न विकेन्द्रित गर्ने वैकल्पिक पूर्वाधार सुविधाहरू विकास गर्न जरुरी छ। गान्तोकमाथिको बढ्‌दो चाप कम गर्न हामीले निकट क्षेत्रहरूमा आवासीय कोलोनीलगायत स्याटेलाइट टाउनशीप विकास गर्न नियोजित अनि विस्तृत योजना तर्जुमा गर्नुपर्नेछ। यो काम खूबै इमान्दारीसाथ सम्झौता नगरी अङ्गीकार गरिनुपर्नेछ। राजधानी गान्तोकमा अब कुनै प्रकारको नागरिक सुविधा अनि पूर्वाधार विकास गर्ने ठाउँ छैन भन्ने कुरा बोध गरिनुपर्नेछ। यी सबै चिन्ता राजधानीको अनियन्त्रित अनि अनियोजित विकास जसले कुनै पनि दिन विकट आपदा निम्त्याउनेछ भन्ने कुरालाई ध्यानमा राख्दै अघि सारिएको छ। 
गान्तोकको गान्धी मार्गमा निर्माण गरिएको मनमोहक अनि सुरम्य मल मेरो सरकारको शहरी सुन्दरीकरणको एउटा नमूना हो जुन राज्यभरीका अन्य नगर क्षेत्रमा पनि गरिनेछ। नाम्ची शहरलाई यस्तै सुन्दरीकरण योजनाअन्तर्गत नयॉं स्वरूप प्रदान गरिएको छ भने यस्तै सुन्दरीकरण योजना रम्फूको निम्ति पनि निधो गरिएको छ जहॉंको सीमा प्रवेश द्वारलाई राज्यको पहिचान झल्काउने पारम्परिक वास्तुकलाद्वारा पुनः नयॉं स्वरूप प्रदान गरिनेछ। यसै गरी यस सीमा नगरमा सिक्किमे अनुभूति अनि स्वादमा पर्यटकहरूलाई स्वागत जनाउन अन्य सुधारका कामहरू गरिनेछन्‌। राज्यभरी शहरी क्षेत्रहरूमा विकास गरिएका नागरिक सुविधा अनि पूर्वाधारहरूको सुरक्षा अनि संवर्द्धनका लागि हामीले गैर सरकारी संस्थानलगायत सबै सरोकारवालाको सक्रिय सहभागितालाई पनि आत्मसात गर्नुपर्नेछ। 
महिला समुदायको सशक्तिकरण
सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिकलगायत रोजगार अनि कानुनी सुरक्षाको सम्बन्धमा महिला जमातलाई विस्तृत सुरक्षा उपलब्ध गराउने परिकल्पनालाई ध्यानमा राख्दै हामीले, उनीहरूको सामाजिक न्याय, समानता अनि मर्यादापूर्ण सुनिश्चित गराउने अनुकूल परिवेश सिर्जना गरेका छौं। महिलाहरूको हित अनि सुरक्षाका खातिर, हामीले गरीब महिलाहरूका लागि प्रसूती भत्ता, सरकारी सेवामा कार्यरत महिलाहरूका लागि तीन महिने मातृत्त्व विदा, सरकारी नोकरीसहित शैक्षिक संस्थानहरूमा भर्नामा आरक्षणजस्ता नीतिगत पहल शुरु गरेका छौं। महिला अनि शिशु कल्याणतर्फ हाम्रो चिन्ता प्राथमिकताका रूपमा अनि सिक्किमलाई कुनै प्रकारको रोगबाट मुक्त राज्य बनाउने परिकल्पनाका साथ रेखाङ्कित गर्ने काम जारी रहनेछ। हामीले शिशु मृत्यु दर 1994 को 72 प्रति हजारको तुलनामा 30 प्रति हजारसम्म ल्याउने सफलता हासिल गरेका छौं। हामीले पारिवारिक सम्पत्तिमा छोरी-चेलीको पनि बराबर हक लाग्ने कानुनी प्रावधान बनाएका छौं। यी रचनात्मक पहल ऐतिहासिक हुनका साथै हाम्रो समाजमा नारीहरूको मर्यादा र अधिकार सुरक्षित तुल्याउन माइलखुट्टी साबित हुने परिलक्षित छ। 
शान्ति अनि कानूनको राज
सिक्किमलाई शान्तिपूर्ण र कानून-व्यवस्थाको समस्या नरहेको राज्यको रूपमा स्थापित गर्ने काम गरेका छौं। हामीले लोक अदालत, उपभोक्ता अदालत, उत्पीडन अदालत, मानव अधिकार अदालत, परिवार अदालत अनि महिला आयोग आदिजस्ता संस्थानहरूको स्थापनाद्वारा कानूनको शासनलाई अझ सुदृढ तुल्याएका छौं। सरकारी काम कुरामा पारदर्शिता अप्नाउने प्रसङ्गमा सूचनाको अधिकार कुनै पक्षपात वा भयबिनै कार्यान्वयन गरेको कुराले उजागर गर्दछ। न्यायिक प्रणालीका लागि भौतिक पूर्वाधार राज्यभरी जुटाउने काम भइरहेछ भने निशुल्क कानुनी परामर्शका साथै गरीबहरूका लागि सचेतना शिविरहरू राज्यका हरेक कुनामा आयोजन गरिँदैछ।
युवाशक्तिलाई दिशानिर्देश
भविष्यका कर्णधार मानिएका हाम्रा युवाशक्तिको निम्ति व्यवसायिक क्षेत्रका साथै करिअर अघि बढाउने प्रसङ्गमा सम्बोधन गर्ने काम जारी रहनेछ। विभिन्न व्यवसायिक क्षेत्रमा रोजगार अवसरको फाइदा उठाउन हाम्रो सरकारले युवाहरूका लागि क्षमता विकासको रचनात्मक पहल शुरु गरेको छ। मुख्यमन्त्री स्वरोजगार योजना सफल प्रयोग थियो जसले युवा जमातलाई उत्पादनशील गतिविधिमा संलग्न भई आफ्नो करिअर अघि बढाउन सघाउ पुऱ्याउँछ। हाम्रा युवा जमातलाई आफ्नो भविष्य उज्ज्वल तुल्याउन आफ्नो मेधा, दक्षता अनि विशेषज्ञता निर्देशित गराउन विभिन्न रचनात्मक योजना शुरु गरेका छौं। हाम्रो ध्वजवाहक कार्यक्रमअन्तर्गत पर्ने क्षमता विकास कोष, करिअर विकास कोष अनि क्षमता विकास योजना अहिलेसम्म सफल रहेको छ। यी प्रयासहरूलाई हामीले अघि बढाउँदै युवाहरूका लागि जीविका धान्न आवश्यक दक्षता हासिल गर्नका लागि उचित परिवेश अनि पहुँच स्थापित गर्नुपर्नेछ। सबै विभागलाई सम्बन्धित व्यवसायिक क्षेत्रमा युवाहरूको क्षमता विकास गराउने लक्ष्य तय गरिनेछ। देश अनि राज्यको हितमा सेवा गर्न प्रायोगिक अनि उत्पादनशील नागरिक सिर्जना गर्न हाम्रा युवाहरूको क्षमता विकास गराउने मेरो अग्रइच्छाले कहिल्यै धोका खानेछैन। 
आर्थिक उत्कर्ष
राज्यको आर्थिक सूचकाङ्क उल्लेखयोग्य रहेको छ। सकल राज्य घरेलु उत्पाद 1995 मा रु.426 करोड थियो भने 2007 को चालू दरमा यो रु.1,730 करोड पुगेको थियो। हामीले दशौं योजनाकालमा सन्तोषजनक 10 प्रतिशतको बढत दर कायम राख्नसक्यौं भने प्रतिव्यक्ति सूचकाङ्क 1995 को रु. 8905 बाट बढेर 2007 मा रु. 29,561 पुगेको थियो। राज्यको कर अनि गैर कर राजस्व सिर्जना 1994-95 को रु.44.72 करोडको तुलनामा बढेर रु. 436 करोड पुगेको छ। हाम्रो आन्तरिक राजस्व सङ्कलन प्रक्रियालाई अरू तेज गर्न धेरै कडा वित्तीय अनुशासन अनि मितव्ययता विधि अङ्गीकार गरेका छौं। 
निश्चित भविष्य
माननीय अध्यक्ष महोदय
गत पन्ध्र वर्षको उल्लेखनीय उपलब्धिको पृष्ठभूमिमा, स्वाभाविक रूपमा प्रश्न उठ्‌नसक्छ, अब के?... भन्ने। माननीय अध्यक्ष महोदय, गत पन्ध्र वर्षको अवधिमा हामीले आर्जन गरेको बहुमूल्य अनुभूतिका आधारमा हाम्रो सामूहिक प्रयासलाई अरू वैज्ञानिकतम, अरू व्यवसायिक अनि अरू प्रतिफलदायी बनाउन सिक्ने कि नसिक्ने, गर्ने कि नगर्ने भन्ने प्रश्न खडा हुँदछ। राज्यका आदरणीय नागरिकहरूलाई जानकारी गराउन चाहन्छु, 20 मईको दिन शपथ ग्रहणलगत्तै हामीले राज्यको विस्तृत अनि उत्तरोत्तर विकासका लागि धेरै नयॉं अनि अग्रगामी कार्यक्रम, नयॉं परियोजनाहरू अनि धेरै कल्पनीय नीतिगत पहल ग्रहण गरेका छौं। यस अर्थमा, हामीले 66 दिनको अवधिमा जति हासिल गरेका छौं, त्यसलाई मूर्त रूप दिँदै विगतका उपलब्धिहरू सुदृढ गर्नेछौं। ती सबैलाई निम्न प्रकार प्रस्तुत गर्ने अनुमति चाहन्छु ः
सर्वसमावेशी विकास ः प्रमुख कुँजी
1.
विगत पन्ध्र वर्षमा सन्तुलित विकासका लागि एसडीएफ सरकारले गरेको सर्वसमावेशी पहललाई अझ सुदृढ बनाउनुपर्नेछ। हाम्रो सरकारको प्रशासन मानवीय गुणले युक्त अरू वैज्ञानिकतम हुनेछ। यो जनमुखी, युवामुखी, गाउँमुखी, भविष्यमुखी अनि पर्यावरणमैत्री रहिरहनेछ। 
2.
विद्यमान सबै परियोजना अनि कार्यक्रमहरू प्राथमिकतासाथ पूरा गरिनेछ।
3.
हाम्रा जनताका लागि खाद्य सुरक्षा सुनिश्चित गराउन अथक प्रयास जारी रहनेछ। वास्तवमा, साग-सब्जीलगायत अण्डा, माछा, मासु, दूध अनि फूलफलको हाम्रो घरेलु माग हामी आफै पूरा गर्ने कोशिश गर्नेछौं। 
4.
सिक्किमलाई 2015 सम्म पूर्ण जैविक राज्य तुल्याउन हामी गम्भीरताका साथ लागिपरेका छौं। यस दिशामा धेरै प्रगति भए पनि यस अभियानलाई साकार तुल्याउन निर्बाध काम गरिरहनेछौं। 
5.
जनताका बुनियादी आवश्यकता पूरा गर्ने हाम्रो आधारगत नीतिलाई थप सुदृढ बनाउँदै उच्च जीवन स्तर र आराम प्रदान गर्न काम गर्नेछौं। 
6.
आउने दिनमा आइपर्ने सबैभन्दा ठूलो चुनौती जल सुरक्षाको हुनेछ। हाम्रो जस्तो राज्यमा पनि यसका लक्षणहरू विश्वभरी बहसको विषय बनेको अहिलेको जल्दोबल्दो समस्या वैश्विक उष्मीकरण अथवा ग्लोबल वार्मिङले स्पष्ट रूपमा देखाउन थालिसकेको छ। यसका अतिरिक्त, पहिलेबाटै शुरु गरिएका पहलहरूका साथै हामीले गाउँघरमा धारा-पॅंधेराहरूको मानचित्रण कार्य शुरु गरेका छौं ताकि ती जलस्रोतहरू सुकेर नजाऊन्‌। 
7.
संसाधनहरूको बाहिर निकासी अनि कोषको चुहावट रोक्न प्रभावी प्रणाली तर्जुमा गरिनेछ। हामी निर्धारित गरिएका कोषहरू उचित अनि अरू वैज्ञानिक तरिकाले परिणाममुखी कार्यक्रमहरूका लागि मात्र खर्च गर्नेछौं। 
8.
सम्बन्धित विभागहरूद्वारा तय गरिएका राजस्व सङ्कलन लक्ष्य अझ धेरै बढाउन पर्नेछ भन्ने हामी महसुस गर्दछौं। 
9.
राज्यभरीका नागरिक सुविधा अनि सार्वजनिक सम्पत्तिहरूको उचित निगरानीका साथै रखरखाउ अनि उचित प्रयोगको सम्बन्धमा कडा निगरानी राखिनेछ। 
10.
नाम्चीमा भाइचुङ स्टेडियममा सबै आधुनिक सुविधायुक्त बनाउने हिसाबले निर्माण कार्य शुरु गर्नेछौं। यसका लागि चालू वित्त वर्षमा रु. 1 करोडको बजेट प्रावधान म यहॉं राख्न चाहन्छु। 
11.
यसका साथै हामीले गान्तोकमा बहुतले वाहन बिसौनी निर्माण गर्ने पनि निर्णय लिएका छौं, जसका लागि यस वित्त वर्षमा म रु. 1 करोडको प्रावधान राख्न चाहन्छु। 
12.
गान्तोकमा धेरै समयदेखि कमी महसुस गरिएको सूचना भवनको निर्माण पनि हामी थाल्नेछौं। यसका लागि पनि म रु. 1 करोडको यस वित्त वर्षमा प्रावधान राख्न चाहन्छु। 
13.
राज्यमा चेनरेजिगको सालिग निर्माणका लागि रु. 1.50 करोड अनि उत्तरेमा कृत्रिम पोखरी र तेञ्जिङ-हिलेरी उद्यानका लागि म रु. 1 करोडको बजेटी प्रावधान यहॉं राख्न चाहन्छु। 
14.
भालेढुङ्गामा चॉंडोभन्दा चॉंडो स्काईवकको निर्माण कार्य शुरु गरिनेछ जसका लागि यस वित्त वर्षमा म रु. 1 करोडको प्रावधान राख्न चाहन्छु। 
15.
टाशीलिङ सचिवालयमा परिसर भवन निर्माणका लागि म रु. 4.00 करोडको प्रावधान राख्न चाहन्छु। 
16.
सरकारले रु. 2.21 करोडको कूल बजेटीय प्रावधानमा पर्यावास केन्द्र, राज्य कला दीर्घा अनि राज्य सङ्‌ग्रहालय पनि निर्माण गर्नेछ। 
17.
सांस्कृतिक पर्यटन, ग्रामीण पर्यटन अनि होमस्टेको अवधारणालाई नयॉं शताब्दीको दीर्घगामी नयॉं व्यवसायको रूपमा प्रोत्साहित गर्नेछ। 
स्वास्थ्य कार्यक्रम 
माननीय अध्यक्ष महोदय,
मेरो सरकारको सपना हाम्रा नागरिकहरूका लागि भौतिक रूपमा स्वस्थ मात्र नभएर सामाजिक, मानसिक, नैतिक अनि आध्यात्मिक तवरमा पनि स्वस्थ राख्ने विस्तृत स्वास्थ्य सुरक्षाको परिवेश सिर्जना गर्नुरहेको छ जसले समग्र समाजलाई उद्‌बोधित राज्यको रूपमा रूपान्तरित गर्नेछ। 
सिक्किमका 45 वर्ष उमेर नाघेका प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा योजनाअन्तर्गत समेट्‌ने नवीनतम योजना शुरु गर्ने पनि हाम्रो सरकारको विचार छ, जसको कार्यान्वयनका लागि आवश्यक औपचारिकताहरू तर्जुमा गरिँदैछ। सिक्किमे जनताको स्वास्थ्योपचार आवश्यकता पूरा गर्न हामीले काम चलाउ स्वास्थ्य वीमा योजना शुरु गर्ने विचार गरेका छौं। यसका लागि उपयुक्त बजेटीय प्रावधान राखिनेछ। 
हाम्रो समाजमा अनिवार्य रूपमा सालेनी स्वास्थ्य जॉंच गराउने चलन अझ पनि विकास भएको छैन। यस अर्थमा, हामीले स्वस्थ सिक्किमका लागि मुख्यमन्त्री विस्तृत वार्षिक एवं सम्पूर्ण स्वास्थ्य जॉंच (सीएटीसीएच) को महत्त्वकाङ्‌क्षी कार्यक्रम ग्रहण गरेका छौं, जसमा गाउँदेखि राज्य स्तरमा हरेक नागरिकलाई सामयिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। यसमा अन्यबाहेक (क) क्षेत्रगत रूपमा जनतामा रूघ्नता अर्थात्‌ बिमारीको तथ्यगत अध्ययन गरी उनीहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउन प्रभावी पहल गर्नु, (ख) कुनै गहन लक्षण नदेखिए पनि रोगहरू खुट्याउन सघाउ पुऱ्याउँदै शुरुमै नैदानिक अनि प्रभावी उपचारद्वारा दीर्घगामी रोगको रोकथाम गर्नु, र (ग) वार्षिक रूपमा नैदानिक तथ्याङ्क ताजा गर्नु। भारतवर्षमै यस प्रकारको विस्तृत स्वास्थ्य कार्यक्रमको थालनी गर्ने सिक्किम पहिलो राज्य बन्ने जानकारी यस ओजस्वी सदनलाई गराउन पाउँदा मलाई हर्षबोध भएको छ। 
हाम्रो सरकारले राजधानीमा सैद्धान्तिक रूपमा 5 सय पलङयुक्त अत्याधुनिक अस्पताल निर्माण गर्ने अनुमोदन गरिसकेको छ। यस सम्बन्धमा योजना निर्धारण अनि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम शुरु भइसकेको छ। यी पूर्वाधार विकास राज्यवासीलाई नवीनतम चिकित्सा सेवा अनि सुविधा उपलब्ध गराउन परिलक्षित छ। यस विशेष परियोजनाका लागि म रु. 3.00 करोडको प्रावधान राख्न चाहन्छु। 
एक वर्षसम्मका शिशुहरूलाई निशुल्क हेपाटाइटिस बी खोप लगाउने सिक्किम देशकै पहिलो राज्य बनेको थियो। हामी यस कार्यक्रमलाई अझ विस्तार गर्दै दश वर्षसम्मका नानीहरूलाई समेट्‌ने बनाउनेछौं। 
मुख्यमन्त्री जीवन रक्षा कोष कार्यक्रमअन्तर्गत महिला अनि शिशुलगायत गरीब अनि हतभागी तथा शारीरिक रूपमा अक्षमहरूका लागि विशेष स्वास्थ्य तथा उपचार स्याहार प्याकेज गठन गरिएको छ। यसमा तरुण महिलाहरूका साथै बूढा-पाकाहरूलाई भिटामिन निशुल्क रूपमा उपलब्ध गराउने प्रावधान सामेल छ। यसका साथै हामीले स्वास्थ्य जोखिमबाट नागरिकहरूलाई पूर्ण रूपले सुरक्षित राख्न सोही प्रकारका स्वास्थ्य कार्यक्रम थालेका छौं। संक्षिप्तमा तीहरू हुन्‌ः
1.
मुख्यमन्त्री पौष्टिक आहार योजना जसअन्तर्गत बीपीएल परिवारलाई महिनामा चार केजी मिश्रित दाल सित्थैमा प्रदान गरिनेछ र यसको निम्ति म रु. 1 करोडको बजेट प्रावधान राख्न चाहन्छु। 
2.
मुख्यमन्त्री जीवन रक्षक कोष
3.
मुख्यमन्त्री नेत्रज्योति योजना जसअन्तर्गत अभावग्रस्तलाई सित्थैमा चश्मा प्रदान गरिनेछ। 
4.
मुख्यमन्त्री श्रवणशक्ति समृद्धि योजना जसअन्तर्गत अभावग्रस्तलाई निशुल्क रूपमा श्रवण तन्त्र अर्थात्‌ सुन्नसक्ने उपकरण उपलब्ध गराइनेछ। 
5.
महिलाहरूमा रक्तअल्पता अनि नानीहरूमा कुपोषणको रोकथाम गर्न पॉंच वर्षे विशेष कार्यक्रम शुरु। 
शिक्षा क्षेत्रको पुनः अभिमुखीकरण
माननीय अध्यक्ष महोदय
एक्काइसौं शताब्दीमा प्रवेशसॅंगै हामी वैश्विकरण अनि उदारीकरणका नयॉं चुनौतीहरू सम्मुखिन भएका छौं। नयॉं युगको सूत्रपातसॅंगै अघि आएका चुनौती अनि आवश्यकता पूरा गर्न हामीले हाम्रो शिक्षा प्रणालीलाई पुनः अभिमुख गर्नुपर्ने महसुस गरेका छौं। राष्ट्रिय स्तरमा पनि प्रस्तावित स्कूल पाठ्यक्रम परिवर्तनका साथै मूल्याङ्कन प्रणाली आदिको सम्बन्धमा ताजा बहस शुरु भएबारे हामी अनभिज्ञ छैनौं। ज्ञान आयोगका अध्यक्ष साम पित्रोदाअनुसार विश्वभरी 2 सय वर्ष पुराना शिक्षा प्रणाली चलिरहेका छन्‌ भने अब हामीले 2050 को लक्ष्य लिएर स्कूल अनि विश्वविद्यालयहरूको योजना तयार गर्नुपर्नेछ। 
हामीलाई प्रायः भन्ने गरिन्छ, "यदि शिक्षा महॅंगो छ भन्ने ठानिन्छ भने अज्ञानता नै रोज्नु पर्नेछ।' यसको अर्थ स्पष्ट अनि सारगर्भित छ। सोहीअनुरूप, हामीले प्रथम दिनदेखि नै सबै वर्गका मानिसमा शिक्षाको पहुँच सुलभ गराउने काम थालेका छौं। वास्तवमा हामीले हाम्रा मानिसलाई साक्षर अनि शिक्षित तुल्याउन धेरै सहुलियत प्रदान गर्न शुरु गरिसकेका छौं। शिक्षालाई अरू सर्वव्यापी बनाउन हालै मात्र शुरु गरिएका नयॉं योजनाहरूबारे म यस ओजस्वी सदनलाई पुनः स्मरण गराउन चाहन्छु ः
क) प्रत्येक जिल्लामा पॉंचौं श्रेणीमा श्रेष्ठ दर्जा अनि अङ्क ल्याउनेका लागि राज्यका श्रेष्ठ निजी स्कूलमा निशुल्क भर्ना अनि पूर्ण छात्रवृत्ति।
ख) राज्य स्तरमा प्राथमिक तहमा श्रेष्ठ अङ्क अनि ल्याउने दस विद्यार्थीलाई देशकै श्रेष्ठ निजी स्कूलमा निशुल्क भर्ना अनि पूर्ण छात्रवृत्ति।
ग) मुख्यमन्त्री निशुल्क छात्रवृत्तिअन्तर्गत विश्वको शीर्ष 20 विश्वविद्यालयमा भर्ना लिनसक्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति। 

माननीय अध्यक्ष महोदय
र भारतमा, 10 प्रतिशतभन्दा कम जनसङ्‌ख्याले मात्र उच्च शिक्षा हासिल गर्नसक्छन्‌। यो धेरै संवेदनशील स्थिति हो जहॉं देशका 50 प्रतिशत जनसङ्‌ख्या 25 वर्ष आयुभन्दा कमका छन्‌। 
र देशका 450 विश्वविद्यालय अनि 18 हजार महाविद्यालयबाट 25 लाखजना सालेनी उत्तीर्ण हुनेगरेका भए पनि अधिकांशमा रोजगार पाउनका लागि आवश्यक दक्षता हुँदैन। 
र केवल पॉंच प्रतिशत कार्यबल व्यवसायिक रूपमा तालिम प्राप्त छन्‌। यसको तुलनामा जर्मनीमा 70 प्रतिशत व्यवसायिक रूपमा तालिम प्राप्त कार्यबल छ भने जापानमा 80 प्रतिशत र कोरियामा 95 प्रतिशत छन्‌। चीनले पनि भारतको 10 हजार भारतीय प्रविधि संस्थानको तुलनामा 5 लाख व्यवसायिक तालिम संस्थान स्थापना गरेको छ। 
र हालैको रिपोर्टअनुसार भारतले "प्रतिभान्तर' अर्थात्‌ कामको निम्ति आवश्यक उचित दक्षताको कमीको सामना-2012 भित्रै पचास लाखभन्दा धेरैको गर्नुपर्नेछ भने यस अवधिमा 13 लाख गैर दक्ष अनि सीपविहीन स्कूल बाहिरिने अनि निरक्षरहरू हुनेछन्‌। 

माननीय अध्यक्ष महोदय
शिक्षा क्षेत्रमा अहिलेसम्मको सबैभन्दा धेरै विनिधान तय गरेका छौं भने माथि उल्लेखित तथ्याङ्कको सन्दर्भमा यो अपवाद बन्नेछ। तथापि, राज्य सरकारले मात्र सबै शिक्षित मानव बललाई समेट्‌न भने सक्नेछैन। हामीले उनीहरूलाई जीवनभरी काम लाग्ने हिसाबले दक्ष बनाउने अनि पुनः क्षमतावान्‌ बनाउने विस्तृत कार्यक्रम अख्तियार गरेका छौं। 
शिक्षकहरूको तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ। यसैअनुरूप हामी चॉंडै सोरेङमा थप बीएड कलेज अनि नाम्चीमा डीआइईटी केन्द्र स्थापना गर्न लागिरहेका छौं। यहॉं तालिम अनि कक्षा चॉंडै शुरु हुनेछ। यस सम्बन्धमा म रु. 1 करोडको बजेट प्रावधान राख्न चाहन्छु। 
ज्ञान आयोगको गठन
माननीय अध्यक्ष महोदय
राज्यमा गुणस्तरीय शिक्षाको मुद्दालाई सम्बोधन गर्न हामी सही दिशामा अघि बढिरहेका छौं। विभिन्न मानिसबीच विचार अनि मतैक्यमा अन्तर हुनसक्छ, तर लक्ष्य अलग हुनसक्दैन। राज्यमा हामीले स्कूलका पूर्वाधारहरूमा थप सुधार ल्याउनुपर्नेछ साथै शिक्षण अनि पाठ्य परिवेशमा सुधार, प्राथमिक तहमा उत्तीर्ण हुन गणित अनि विज्ञानलाई अनिवार्य विषय बनाउने साथै उच्चतर तहमा हिन्दी, नेपाली अनि अङ्‌ग्रेजी भाषाका शिक्षकको नियुक्ति आदिका सिफारिशमाथि काम गरिनेछ। 
राज्यमा लघु साथै दीर्घकालीन उपायका लागि विशेषज्ञ अनि व्यवसायिकबाट आवश्यक सुझाउहरू हामीलाई खॉंचो पर्नेछ। यस अर्थमा, यस वित्तीय वर्षको निम्ति रु. 20 लाखको बजेटीय प्रावधानमा राज्य सरकारले ज्ञान आयोग गठन गरेको जानकारी म यस ओजस्वी सदनलाई दिनचाहन्छु। 
हाम्रा नानीहरूलाई संसारकै श्रेष्ठतम्‌ शिक्षाद्वारा युक्त बनाउने दिशामा हामीले स्वस्थ बहस राज्यमा शुरु गर्नुपर्ने महसुस गरिएको छ। ग्रीक दार्शनिक एरिस्टोटलले सही नै भनेका थिए, "शिक्षा समृद्धिको गहना अनि विकट स्थितिको आश्रय हो।'
क्षमता विकास पहल
विविध क्षेत्र अनि व्यवसायमा आवश्यक तालिम प्रदान गर्न सिक्किम सरकारले पूर्ण क्षमतायुक्त क्षमता विकास निर्देशालय स्थापना गरेको छ। वर्ष 2003 मा शुरु गरिएको क्षमता विकास कोष परियोजनाको रचनात्मक पहलबाट आर्जन गरेको आधारअनुरूप सरकारले यसो गरेको हो। उक्त कोष राज्यका युवाहरूलाई विविध क्षेत्रमा सीप अनि क्षमता विकास गराउन निर्देशित थियो। परिणाम धेरै उत्साहजनक अनि सकारात्मक आउन थालेका छन्‌ भने सरकारी नोकरी खोज्नेहरूको सङ्‌ख्यामा तुलनात्मक कमी आएको छ। राज्यमा विभिन्न रोजगार मेलाहरू आयोजन गर्नबाहेक निर्देशालयले युवाहरूलाई देशभित्र अनि बाहिर निश्चित रूपमा रोजगार पाउने हिसाबले तालिम प्रायोजन गर्दैआएको छ। 
आफैद्वारा पूर्वाधार विकास अनि अवसरहरूको सिर्जनाले राज्यवासीको अर्थनीतिक विकासमा बल प्रदान गर्नेछैन भन्ने कुरा सरकारले बोध गरेको छ। सरकारलाई दक्ष मानव संसाधन चाहिएको छ, जो शिक्षित हुनका साथै विभिन्न क्षेत्रमा उपलब्ध विभिन्न अवसरको फाइदा उठाउनसक्ने छन्‌। अर्को, हाम्रा युवाहरूले एउटै काममा झुण्डिरहने मानसिकता त्याग्दै अरू भावी क्षमता भएका काम अनि सेवा क्षेत्रमा आबद्ध हुनुपर्ने पनि आवश्यकता महसुस गरिएको छ। यसैअनुरूप, सरकारले शिक्षित साथै अशिक्षित, कृषक अनि उद्यमीहरूलाई आफ्नो सीप बढाउन विशेष तालिम लिन प्रेरित गरिरहेको छ ताकि हाम्रो प्राकृतिक क्षमता अनि समृद्ध जलवायु अन्तरलाई सही रूपमा हाम्राहरूले नै उपयोगमा ल्याउन सकून्‌। 
म क्षमता विकास कार्यक्रमहरूका लागि बजेट योजना प्रावधानअन्तर्गत पर्याप्त व्यवस्था गर्नचाहन्छु। 
सर्वव्यापी वित्तीय समावेशन
माननीय अध्यक्ष महोदय
वित्तीय क्षेत्रमा भावी कार्यक्रमका रूपमा हामीले 1 लाख परिवारलाई वित्तीय समावेशी परियोजनाअन्तर्गत समेट्‌ने मार्गचित्र तयार गरेका छौं। योजनाअन्तर्गत परिवारको महिला सदस्यका नाममा हामी कुनै पनि राष्ट्रियकृत वा श्रेष्ठ निजी ब्याङ्कको कारोबार संवाहक मार्गमार्फत्‌ गैर शृङ्गारिक ब्याङ्क खाता खोल्ने विचारमा छौं। निवृत्ति भत्तादेखि लिएर महिला सशक्तिकरण अनुदान, रोजगार ग्यारेन्टी योजना अनि परिवारले पाउने अन्य वित्तीय अनुदान योजनाअन्तर्गका नगद सहुलियत यसमार्फत्‌ सोझै ब्याङ्क खातामा जमा गरिनेछ। यस परियोजनाले परिवारका धेरैमा 6 जना सदस्यको वीमा पनि समेट्‌नेछ, जसमा जीवन, स्वास्थ्यलगायत दुर्घटना अनि सामूहिक दुर्घटना सामेल रहनेछन्‌। यसको मूल उद्देश्य आम जनतामा वित्तीय अनुशासन ल्याउनका साथै आर्थिक स्थितिमा सुधार र गाउँ अनि जिल्लालाई समयबद्ध तरिकाले शत प्रतिशत रूपमा वित्तीय समावेशन हासिल गर्नुरहेको छ। यी सबै कार्यक्रमले सबै सरोकारवालालाई समेट्‌दै वित्तीय समावेशीकरण अघि बढाउन मद्दत मिल्नेछ। यस परियोजनाका लागि म रु. 4.00 करोडको बजेट प्रावधान राख्न चाहन्छु। 

अनाथहरूका लागि आवास
हालै मात्र युनाइटेड पीस फेडरेशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मैले 148 मिलियन अनाथहरूप्रति सहानुभूति जताएको थिएँ। उनीहरू स्याहार अनि मायाका भोका छन्‌। उनीहरूलाई परिवार चाहिएको छ, अनाथालय होइन। भनिन्छ, शुरुवात घरबाटै हुन्छ। यस अर्थमा हामी त्यस्ता हतभागीहरूलाई पूर्ण स्याहारको प्रबन्ध मिलाउन प्रतिबद्ध छौं। स्याहारको अर्थ, उनीहरूलाई घरकै न्यानोपन, परिवारकै स्नेह अनि माया, निशुल्क गुणस्तरीय शिक्षालगायत उनीहरूलाई सम्पूर्ण मानवको रूपमा विकसित हुन चाहिने हरेक सुविधा उपलब्ध गराउनु। मेरो विचारमा कुनै पनि बाल-बालिका जीवनको आवश्यक सुविधा अनि स्याहारबाट वञ्चित हुनुहुँदैन। 
सरकारले राज्यमा महत्‌ परियोजनाको रूपमा अनाथालय स्थापना गर्नेछ। उनीहरूलाई श्रेष्ठतम्‌ सुविधा प्रदान गर्न बढीभन्दा बढी ध्यान दिइनेछ ताकि भगवान्ले आफ्नै स्वरूपमा सृष्टि गरेका ती बालकहरूमाथि पर्याप्त ध्यान दिनसकियोस्‌ अनि आफ्नो जीवन सम्पूर्णतामा उनीहरू जिउन सकून्‌। यस उद्देश्यका लागि म यस वित्त वर्षमा रु. 1 करोडको प्रावधान राख्न चाहन्छु।
ग्रामीण विकास कार्ययोजना
माननीय अध्यक्ष महोदय,
शहरी योजना निर्धारण गर्दा हरेक बजार अन शहरमा उच्चतम अनि उत्कृष्ट सुविधा र सेवाहरू उपलब्ध गराउन ध्यान केन्द्रित रहेको हुन्छ। गाउँबाट शहर पलायन हुने अविराम क्रमले शहरी क्षेत्रहरूमा उग्र रूपले भीड बढ्‌दो छ। हाम्रै पहलबाहेक शहरी क्षेत्रहरूको रूपरेखा भविष्यलाई ध्यानमा राख्दै तयार गर्न सिङ्गापुरको व्यवसायिक परामर्श लिने निधो गरेका छौं। यसमा हाम्रो भौगोलिक आधारलाई ध्यानमा राख्दै शहरी नागरिक सुविधाहरू स्थापना र पुनर्स्थापना गर्ने पक्ष सामेल रहनेछ। 
यसै गरी हाम्रा गाउँहरू प्राकृतिक रूपमा पातलो अनि कोही ठाउँ घना रूपमा बसोबासो रहेको छ। अहिलेसम्म गाउँ-घरमा पूर्वाधार विकास अनि नागरिक सुविधा उपलब्ध गराउन त्यति नियोजित तरिका अप्नाइएको छैन। राज्य सरकारले यस अर्थमा, विस्तृत रूपमा परिभाषित गाउँ विकास विकास कार्य योजनाअन्तर्गत रूपरेखा तयार पार्ने निधो गरेको छ। यसको मूल उद्देश्य हाम्रा शहरी क्षेत्रहरूलाई सिङ्गापुर र गाउँहरूलाई स्वीजरल्याण्डकै हाराहारीमा विकास गर्नु हो। यस सम्बन्धमा हामी स्वीजरल्याण्डको फ्रेबर्ग विश्वविद्यालयका प्रो. बरनार्ड डाफलनसित गम्भीर छलफल गरिरहेका छौं जसलाई गाउँ विकास कार्ययोजना तयार गर्ने अभिभारा सुम्पिएको छ। यो काम ग्रामीण प्रबन्धन तथा विकास विभागले कार्यान्वयन गर्नेछ भने यस वित्त वर्षमा यसका लागि रु. 50 लाखको प्रावधान राख्न चाहन्छु। 
पर्यावरण तथा मौसम परिवर्तनको मुद्दा 
सिक्किमले भारतको केवल 0.2 प्रतिशत भूभाग ओगटेको भए पनि यहॉं 26 प्रतिशत जैव विविधता उपलब्ध छ। हामीले राज्यको 44 प्रतिशत भूभागलाई संरक्षित क्षेत्र घोषित गरेका छौं, जसमा राष्ट्रिय उद्यान अनि अभयारण्यलगायत जैवतन्त्र आरक्षण सामेल छन्‌। सरकारले राज्यको वन संसाधनको प्रबन्धन साथै संरक्षणका साथै पर्याचक्र कायम राख्न र दिगो विकास हासिल गर्ने दिशामा ठोस प्रयास थालेको छ। राज्य सरकारले नीतिगत आधारका रूपमा दीर्घतालाई ध्यानमा राख्दै स्वच्छ विकास प्रणाली (सीडीएम) अन्तर्गत विकासीय कार्यक्रमहरू अङ्गीकार गर्दैआएको छ। 
माननीय अध्यक्ष महोदय
सिक्किम देशमै उत्कृष्ट विचार अनि कार्यक्रमको प्रतिपादक रहेको छ। हालै मात्र हामीले राज्यका 6 लाखभन्दा धेरै बासिन्दालाई आह्वानसहित "पृथ्वीको निम्ति 10 मिनट' नामक हरित अभियान चलायौं। माननीय अध्यक्ष महोदय, 15 जुलाई, 2009 को दिन जब घडीमा कॉंटा 10.30 मा पुग्यो, तब हामीले राज्यमा मात्र नभएर देश अनि विश्वमै दस मिनटमा 6 लाख 10 हजार बिरुवा रोपेर कीर्तिमान स्थापित गऱ्यौं। यस देश अनि विश्वमा हामी यस नवीनतम विचारका प्रत्युत्पादक बन्यौं। हामी यो कुरा सिक्किम, भारत अनि विश्वका जनतासम्म पुऱ्याउन चाहन्छौं। 
सिक्किम स्वच्छ अनि सफा पर्यावरणको उत्पादक पनि हो। प्रकृतिसित मिलेर कसरी जिउने भन्ने उदाहरण सिक्किमले प्रस्तुत गरेको छ। यो देशमै उत्कृष्ट नमूना हो। हामी हरित अभियानअन्तर्गतका सबै कार्यक्रमलाई अघि बढाउँदै समय समयमा नयॉं पहल रचना गरी हाम्रो हरित अभियानमा नयॉं जोश अनि त्राण भर्ने कोशिश गर्नेछौं। 
उपभोक्तावाद ः एक विद्रूप आविर्भाव
वैश्विकरण अनि उदारीकरणका विश्वभरीका मानिसको जीवनशैलीमा नाट्य रूपान्तरण आएको कुरा जगजाहेर छ। सिक्किम पनि यसबाट अछुतो रहनसकेको छैन। आफ्नो भौतिक सन्तुष्टिका लागि आफूमात्र धेरैभन्दा हसुर्ने मानिसहरूमा प्रवृत्ति विकास भएको छ। अनि अर्कोतिर, हामीले काम गर्न छोडेका छौं। हामी नयॉं कुरा रचना गर्न, पर्याप्त खाद्यान्न उत्पादन गर्न अक्षम बनेका छौं र हाम्रो बढत अवरुद्ध भएको छ। लेखिका अरून्धती रोयले यसलाई "कल्पनाको अन्त्य' घोषित गरेकी छिन्‌ र हामी शून्यतामा चिप्लिने जोखिममा छौं। 
माननीय अध्यक्ष महोदय
उपभोक्तावादको अर्थ, मेरो हिसाबले आवश्यकीय खपतका सामानहरूमा मात्र नभएर बौद्धिक, शैक्षणिक अनि भावनात्मक रूपमा पनि परनिर्भर हुनु हो। म यहॉं साधारण कुरा मानिएको भए पनि के प्रकाश पार्न चाहन्छु भने हामीले उपभोक्तावादको संस्कृतिबाट आफूलाई मुक्त नगरेसम्म विकास सम्पूर्ण र समग्र हुनेछैन। विकासको अन्तिम लक्ष्य र मानव प्रयास भनेको नै सबैका लागि खुशियाली सुनिश्चित गराउनु हो। हामीलाई थाहा छ, अमेरिका विश्वमै सबैभन्दा शक्तिशाली राष्ट्र हो, तर अमेरिकीहरू सबैभन्दा खुशी भने अवश्यै छैनन्‌। खुशियालीको सूचकाङ्कमा अमेरिका पराजित छ। 
यसै कुरालाई ध्यानमा राख्दै म सधैं नै सिक्किमे जनतालाई सिक्किम उत्पादक राज्य बनाउनुपर्छ भन्ने आह्वान गरिरहन्छु, र जसबारे म यहॉं मेरा विधायक मित्रहरूसित पनि बॉंड्‌न चाहन्छु। हामीले सबै काम अति गम्भीरतासाथ शुरु गर्दै हाम्रो घरेलु कारोबार अनि कामका लागि आवश्यक मानव बल तयार गर्नुपर्नेछ। यसका लागि हामीले सरकारको नीति अनि कार्यक्रम, क्षमता विकास अनि सीप विकास कार्यक्रमलाई चुडान्त बनाउन गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेछ। यो विचार शत प्रतिशत मानव बल तयार गर्न निहित रहनेछ जो उच्च दक्षतायुक्त हुनेछन्‌। 
यसका अतिरिक्त हामीले हाम्रो कामका लागि आफ्नै बौद्धिक पूँजी विकास गर्नुपर्नेछ। मानव बल योजनाअन्तर्गत हामीले धेरै कार्यक्रम प्रतिपादन गरिसकेका छौं। हाम्रो विचार श्रमको सम्मान कायम गर्नका साथै प्रति व्यक्ति खुशियाली वृद्धि गर्नु रहेको छ। 
सुदृढ समाजको आधारशीला
माननीय अध्यक्ष महोदय
आज मलाई कहीं कतै लागेको छ, हामीसित जुन सामाजिक-सांस्कृतिक सम्बन्धका साथै परिवारमा जुन प्रकारको प्रगाढता छ, त्यो नै बलियो समाजको आधारशीला हो। वास्तवमा हामीले सिक्किमे समाजमा विद्यमान दुवै पारिवारिक अनि परिवार बाहिरको सम्बन्धलाई अरू व्यापक अनि प्रगाढ बनाउन मात्र नभएर मानव अनि प्रकृतिबीच पनि त्यस्तै सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता महसुस गर्दछु। 
म यस ओजस्वी सदनमा के कुरा दोहोऱ्याउन चाहन्छु भने यदि समाज कमजोर भए, शक्ति, अवसर अनि इनामहरू केही औंलाभरीका मानिसको हातमा सीमित बन्नेछ भने अरू सबै निस्सार अनि अवसरहीन रहनेछन्‌। यसै कुरालाई ध्यानमा राख्दै हामीले बलियो समाजको धरातल बसाउनुपर्नेछ ताकि हरेक व्यक्तिले जीवनको उतार-चढाउलाई त्यति नै धैर्यता अनि मर्यादित तरिकाले सामना गर्नसकून्‌।
हाम्रो सामाजिक धरातललाई कमजोर तुल्याउने धेरै यस्ता सामाजिक गतिरोधहरूले मुख बाइरहेका छन्‌। दुर्व्यसनी, एचआइभी/ एड्‌स अनि आत्महत्या जस्ता सामाजिक रोगको निवारण कडा रूपमा गरिनुपर्नेछ। हाम्रो समाज बाहिरी जगत्‌सित अन्तरक्रियाका लागि खुल्ला रहेको हुँदा हामीले आफ्नो धरातलमा पकड तर बलियो राख्नुपर्नेछ। 
एकातिर जहॉं हामीले राज्यलाई त्वरित विकास अनि बढतको दिशामा अग्रसर गराएका छौं, हामीले नयॉं पिँढीसित अरू धेरै नजिकमा सम्बन्ध कायम राख्दै नियमित अन्तरक्रियाको पहल पनि शुरु गर्नुपर्नेछ। 
समावेशी बढत
माननीय अध्यक्ष महोदय
राज्य सरकार समावेशी विकासमार्फत्‌ सबै प्रकारको आर्थिक-सामाजिक लक्ष्य हासिल गर्न प्रयासरत रहनेछ। राज्यको सर्वाङ्गीण विकासका लागि सरकारभित्र अनि बाहिरका आधारहरूलाई समेटिनेछ। केन्द्रिय वित्त मन्त्रीले विकास प्रक्रियालाई अरू बढी समावेशी बनाउँदै आम आदमीलाई केन्द्र गरी बुनियादी सुविधा अनि अवसरहरू सिर्जना गर्ने कुरामा बल दिएका छन्‌। यो कुरा, हामीलाई थाहा छ, हाम्रो निम्ति कुनै नौलो कुरा होइन। हामीले अघिबाटै गरिआएको कुराले अब राष्ट्रिय स्तरमा पनि प्राथमिकता पाउन थालेको कुरा हाम्रो निम्ति धेरै उत्साहजनक अनि प्रेरणादायी मान्नुपर्दछ। 
राज्य सरकारले अतिरिक्त राजस्व सङ्कलनका हरेक उपाय अङ्गीकार गर्नेछ। पर्यापर्यटनजस्ता सेवा क्षेत्रको प्रोत्साहनबाट पाइएको बल धेरै साहसवर्द्धक छ। हाम्रा सबै जलविद्युत परियोजनामार्फत्‌ हामीले देखेका आर्थिक सम्भावनाहरूले हाम्रो राज्यलाई अवश्यै स्वनिर्भर बनाउनेछ। यस अर्थमा, सिक्किमे जनताको बढी हितमा, हामीले हाम्रो बाटोमा आइपर्ने बाधा अनि अडचनहरू खूबै सतर्कतापूर्वक पार गर्नुपर्नेछ। माननीय सदस्यगणलाई जानकारी भएकै कुरा हो, केन्द्रिय विद्युत मन्त्री श्री सुशीलकुमार शिन्देले हालै मात्र 510 मेगावाटको टिस्टा चरण पॉंच जलविद्युत परियोजना राष्ट्रलाई समर्पित गरे। राज्यका लागि राजस्व आर्जन गर्नबाहेक हामी देशको ऊर्जाको भोक मेटाउने दिशामा अतुलनीय योगदान दिनेछौं भने आउने वर्षहरूमा 1 लाख मेगावाट बिजुली उत्पादन गर्ने सन्दर्भमा पनि उल्लेखनीय योगदान दिनेछौं। 
सामूहिक जिम्मेवारी - सबै रोगको उपचार
माननीय अध्यक्ष महोदय
हामीले 21 शताब्दीका ज्वलन्त यथार्थलाई एकाकार गर्ने अनि बुझ्ने समय आएको छ। आजभन्दा पचास वर्षअघिको तुलनामा मानिसहरूको सोचाइ अनि जीवनशैलीमा आकाश पातालको अन्तर आएको छ। तर खेदको कुरा, हाम्रो प्रशासनको काम गर्ने प्रणाली त्यही पचास वर्ष पुरानै छ। हामीले मानिसलाई श्रेष्ठ सेवा दिनसक्नुपर्दछ कारण उनीहरूलाई समयबद्ध, प्रभावी, वैज्ञानिकतम्‌ अनि गुणस्तरीय सेवाका साथै गुणस्तरीय पिउने पानी, पर्याप्त बिजुली अनि चिल्ला सडकहरू चाहिएको छ। हामीले यी कुराहरूको बोध गर्नका साथै मानिसहरूको उन्नत जीवनशैली अनि अपेक्षाअनुरूप सेवा प्रदान गर्नसक्नुपर्दछ। 
नयॉं करारका कारण प्रतिष्ठित अमेरिकी राष्ट्रपति थियोडर रूजभेल्टले एकपटक भनेका थिए, "तिमीसित जे छ अनि तिमी जहॉं छौं, त्यहीअनुरूप के गर्नसक्छौ, त्यही गर।' यसै प्रेरक शब्दबाट उद्धरण लिँदै हामीले आफ्नो दायित्त्व अनि जिम्मेवारी अरूको सामाजिक प्रतिष्ठा अनि मर्यादाका बावजुद अन्तिम ठहरिने हिसाबले काम गर्नुपर्नेछ। यसको अर्थ कुनै पनि प्रयास तुच्छ छैन, न त कुनै व्यक्ति साना अनि गौण छन्‌। हामी यस ओजस्वी सदनमा वार्षिक बजेट अनुमोदन गर्न भेला भएका छौं। हामी खर्च गरिने हरेक पैसाका लागि जवाफदेयी छौं, किनभने यो जनताकै पैसा हो। सबै कार्यान्वयन अधिकृतहरूले आर्थिक-सामाजिक यथार्थलाई आत्मसात गर्नुपर्नेछ, ताकि खर्च गरिएका हरेक पैसा बढी जनहितमा र निर्धारित लक्ष्य हासिल गर्न निर्देशित होस्‌। म शासनतन्त्रका सबै एकाइ अनि प्रशासनका सबै अधिकारीगण, नागरिक समाजका सदस्य, विपक्षी दलका सदस्यहरूलाई आफ्नो हिसाबले योगदान दिन आह्वान गर्नचाहन्छु। हरेक कुरा सही ठाउँमा राखिसकिएपछि अब हरेक कुरा यहॉंहरू सबैको हातमा छ।
सबै कुरा सम्हालिएपछि
माननीय अध्यक्ष महोदय,
सिक्किमका जनताले आफ्नो बहुमूल्य मताधिकारको उपयोग गर्दै नेता अनि पार्टीलाई आउँदो पॉंच वर्षसम्मका लागि राज्यको गतिविधि सम्हाल्न पठाएका छन्‌। र जनतालाई थाहा छ हामीले राज्