|
|
|
नाम
| |
|
नाम |
गायत्री |
|
| |
व्यवसाय |
|
|
| |
ठेगाना |
|
|
| |
फोन |
|
|
| |
ई-मेल |
|
|
पत्रकारितको क्षेत्रले सॉंचेको आशा | प्रेसको प्रभाव केन्द्रको सरकारदेखि गाउँको परिवारसम्म परिरहेको छ । प्रेस-समाचारपत्र वा सञ्चारमाध्यमका कारण सरकारका नीति, कार्यक्रम र व्यवस्थापनमा परिवर्तन आउँछ भने सामान्य भन्दा सामान्य नागरिकको वातावरण पनि परिवर्तन हुने गर्छ। यति हो , सञ्चार माध्यामले आफ्नो \" ट्रयाक\'-बाहिर गएर कार्य गर्नु हुन्न। तर दुर्भाग्यपूर्ण विषय के रहेको छ भने वर्तमानमा यस क्षेत्रमा कार्यरत \"कर्मी\'हरूले न त पूर्ण न्याय नै पाई रहेका छन् न यथेष्ठ चिन्हारी। चाहे त्यो प्रतिष्ठाको क्षेत्रमा होस वा आर्थीक दृष्टीबाट। सञ्चार माध्यमलाई लाई गाली गर्नुपर्यो भने हात धोएर लागिन्छ तर \"स्याबास\' भन्नुपर्दा स्यालले जस्तै पुच्छर लुकाएर भागिने एक सरहको परम्परानै हाम्रो समाजमा व्याप्त भईसकेकोले आजको युवा पिढी यस क्षेत्रमा पाईला राख्न अघि सयौं चोटी सोच्न बाध्य छ । आर्थीक रूपमा विपन्न मानिने यस क्षेत्रमा सम्मान पनि गुमाउने एक सरहको आशंका अझै जान सकेको छैन।
सञ्चारमाध्यमबाट भूल हुन्न भन्ने तर्क पनि होइन यो तर भूल गराइन बाध्य गराउने वा समाचार पत्रलाई \"ट्रयाक\' बाहिर जान लगाउनेहरू पनि हाम्रै व्यवस्थामा रहिआएका हुनाले बेला बेला समाचारपत्रको छवि मा औंला उठने गर्छन्। प्रेसबाट भएका कमजोरीको रेकर्ड राख्न यत्रतत्र चित्रगुप्तहरू उभिएका हुन्छन् तर कमजोरीको काऱण खुट्याउको कोही हुन्न्न । स्वभावतः कमजोरी गर्नका लागि सञ्चारमाध्यमको स्थापना भएको हुँदैन तर होडबाजी र तानातानको प्रतीस्पर्धा जब सञ्चार माध्यामले पाईला राख्छ उसले आफ्नै छवि धमिल्याउन लागेको हुन्छ भन्ने कुरो कसैले बुझीरहोका छैन् व बुझ्न चाहेर पनि ग्रहण गरिरहेका छैन्।
असल कामका लागि जसको जन्म भएको छ उसले सकारात्मक काम गर्नै पर्छ, यसको अभिलेखीकरणको के अर्थ भन्ने मान्यतालाई चुनौती दिन पनि सकिन्न । तर सञ्चारमाध्यमले गरेका असल कामका लागि उसलाई चिन्हारी नदिएका कारण समाजलाई नोक्सान हुन जान्छ, यतातिर कसैको ध्यान पुगेको छैन । सञ्चारमाध्यमले निरन्तर गरेको पैरवीका कारण भएका परिवर्तनका लागि यसलाई स्याबासी दिनु पनि एक प्रकारले यस क्षेत्रमा खटने वा परिश्रम गर्नेहरूको उत्साह बढाउनु हो भन्ने कुरो सबैले बुझ्न आवश्यक छ।
सञ्चारमाध्यमले ठूल ठूला जनआन्दोलनहरू सफल पार्न र लोकतन्त्र स्थापना गर्न वा शान्ती कायम गर्नमा वैश्विक स्तरमा वा ग्रामीण स्तरमा खेलेको भूमिका को बखान गरिरहनु पर्दैन । तर यसको साटो आज पनि पत्रकार उग्रवादीको गोली खान बाध्य छन्, अपहृत भएर वर्षौं प्रताडित बनिरहेका छन्।
तर्क सोझो छ सञ्चारमाध्यमले असल कामका लागि स्याबासी पाउनै पर्छ । यसले गलत गर्दा आलोचना गर्न पनि आनाकानी गर्नु हुन्न । पछिल्लो एक दशक यता हाम्रै राज्यमा सञ्चारमाध्यमको एक धार निकै व्यावसायिक बनेर अघि बढेको यथार्थलाई सबैले सकारात्मक दृष्ठिले हेर्नु पर्छ । निर्विदवाद कुरो हो सरकारी शंशाधनको खपतका निम्ति एकातिर \"पत्रकारिता\' गर्ने समूह पनि जीवितै छ भने अर्कातिर जिउँदो पत्रकारिता गर्ने पत्रकारहरू पनि सयौं चुनौती सामना गर्दै अघि बढिरहेका र आजको समयामा यसप्रती युवा पुस्ताले देखाएको चासोलाई मार्ने काम नगरिए भविष्यमा पत्रकारिताको क्षेत्र अझ मौलाएर वा अझ फराकिलो भएर जाने निश्चित छ।
पहिलेका एकथरी पत्रकारहरू सामाजिक नेतृत्व गर्न हच्किन्थ्येे, एक प्रकारले मेसिनजस्तो सूत्रबद्ध पत्रकारिता गरिन्थ्यो । तटस्थ र निष्पक्षका नाममा कुनै निर्जीव टेलिफोनसरह खबर मात्र आदानप्रदान गरिन्थ्यो। तर आज ऊ विवेकशील पत्रकारिता गर्छ र यो नै पत्रकारिताको दिशामा देखिएको सकरात्मक परिवर्तन हो। निष्पक्ष भनिने पत्रकारिताले खराब पक्षको पोषण गर्ने तथ्य आजको व्यावसायिक पत्रकारले बुझेको छ । पाठकलाई भ्रममा मात्र राख्ने कुरो लेखेर समाचारपत्रलाई बिकाउने काम मात्र पत्रकारिता होईन भन्ने कुरो अब सबैले बुझ्न थालेका छन् र बिस्तारै भएपनि खोलिएको यो चेतनाले अन्तत् सामाजिक फाईदानै हुन्छ न कि पत्रकार वा प्रेसको व्यक्तिगत फाईदा। पत्रकारितालाई अति व्यावसायिक बनाउनेहरूले प्रतिष्ठा र अर्थ कमाएको ईतिहास छैन र तिनीहरूले समयको अन्तरालमा निकै नराम्रो धोका खाईसकेका छन् बिशेष गरी कलममा मात्र टिक्न खोज्नेहरू। उनीहरूले न त क्षमता अभिवृद्धिका लागि सामयिक तालिम पाए न त पत्रकारिताको पूरा स्वाद नै लिन सके ।
हिजोको पत्रकार बिहानभरि कुनै नेता वा शक्ति केन्द्रको ढोका ढुकेर मुखपत्र चलाउँथ्यो, आफूलाई पत्रु साबित गर्थ्योे र अन्त्यमा दाताले दिएको समाचार बोकेर ल्याउँथ्यो । तर आजको पत्रकार जनताको आवश्यकताअनुसार कार्यक्रम चलाउँछ, समाचार र पारिश्रमिक एकसाथ कमाउँछ । प्रस्ट छ, हिजो र आजको पत्रकारमा को बढी व्यावसायिक भनेर कसी लगाउनु नै पर्दैन । पित्तल र सुन परैबाट चिनिन्छ ।
हिजोका पत्रकार सबै पित्तल थिए भन्ने होइन । हिजो सुन बन्न बढी कठिन थियो । मानसिक तत्परता र र्समर्पणका कारणले मात्र कोही असली पत्रकार बन्न सक्थ्यो । तर आज अवसरहरू छन् । आज परिकल्पना र ध्येय बनाउन सक्ने पत्रकारका लागि आधारहरू तयार छन्। हिजो व्यावसायिकताका लागि वातावरण नै थिएन, आज अव्यावसायिकताका लागि वातावरण छैन । यसैले आज जुन विकाश पत्रकारिताको क्षेत्रले चाख्न भर्खरै थालेको छत्यो स्वादलाई बेस्वादिलो नबनाउँ भन्ने कुरको उठानमात्र हो यो।
| | Publication Date : 31-01-2009 | महिला हिंसाविरुद्धको हिंसा रोक्न सञ्चार माध्यमले गहन भूमिका निर्वाह गर्न सक्छ | महिला हिंसाविरुद्ध वैश्विक अभियान सञ्चालन हुनथालेको डेढ दशक भईसकेको छ। एउटा अभियान चलाइएको यतिका वर्ष भइसकेपछि त्यसको परिणामको अपेक्षा गर्नु स्वाभाविक मान्नुपर्छ । तर, अहिले हामीले सोच्नैपर्ने मुद्दा के हो भने यत्तिका लामो समयसम्म चलाइएको अभियानले हाम्रो समाजमा देख्न सकिने के परिवर्तन आयो ? विधानपालिका र अन्य सरकारी-गैर सरकारी निकायहरूमा महिलाको सन्तोषजनक उपस्थिति देख्न पाईए पनि महिला विरूद्धको हिंसामा गिरावट आउनुको साटो बढोत्तरी भएको स्पष्ठ देखिन्छ।
सामान्यतया लिङ्गको आधारमा हुने विभेद भन्नाले कुनै खास लिङ्गलाई लक्षित गर्दैन । अर्थात पुरुष वा महिला दुवैमाथिको हिंसा भनेर बुझिन्छ । तर, हाम्रो समाजमा लिङ्गको आधारमा हुने हिंसा भन्ने बित्तिकै महिलामाथि हुने हिंसा बुझिन्छ । दक्षिण एसियाली राष्ट्र जस्तै पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कामा पनि लैङ्गकि विभेद भनियो भने महिलामाथि हुने ज्यादती, कुटपिट लगायत यस्तै शारीरिक वा मानसिक यातना वा कष्टलाई बुझाउँछ ।
अहिले संसारभरि महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदैछ र यसको अर्थ लाग्छ दुनियॉंभर महिलामाथि हिंसा छ भन्ने नै हो । त्यसमा पनि महिलामाथि हुने हिंसाको वर्गीकरण गरे ,लिङ्गको आधारमा हिंसा बढी हुन्छ भन्ने प्रष्टै देखिन्छ । तर, हिंसाका स्वरूप र कारण फरक-फरक हुन सक्छन्। कुरा मात्राको मात्रै हो- कहिँ धेरै र कहिँ थोरै । तर, महिलाले कुनै न कुनै किसिमको हिंसा भोग्नु परिरहेको छ । त्यसैलाई लिङ्गको आधारमा हुने हिंसा भनिएको हो । समग्रमा महिलालाई समान पहुँच नदिन गरिने प्रयत्न वा विभेददेखि घरेलु वा सार्वजनिक रुपमा हुने हिंसासमेतलाई हामी घरेलु हिंसा भनेर बुझ्न सक्छौं ।
नौ वर्ष अघि संयुक्त राष्ट्रसङ्घको महासभाले नोभेम्बर 25 लाई महिलाविरुद्धको हिंसा दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि सदस्य राष्ट्रले यो दिवस मनाउन सुरु गरे । महिलामाथि हुने हिंसाविरुद्धको यो दिवस नोभेम्बर 25 देखि डिसेम्बर 10 सम्म अर्थात 15 दिनसम्म मनाइन्छ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमा जनचेतनाका कार्यक्रम ल्याउने यसको अभिप्राय हो । यो अभियानपछि सदस्य राष्ट्रहरु कानुनद्वारा महिला अधिकार सुनिश्चित गर्न बाध्य हुन्छन भन्ने सयुंक्त राष्ट्र संघको ठम्याइ हो ।
भारतमा सरकारी, गैरसरकारी सङ्घसंस्थाले महिलाविरुद्धका हिंसासम्बन्धी कानुन कार्यान्वयनको माग गरेर विभिन्न कार्यक्रमसहित यो दिवस मनाउने गर्छन्। सञ्चारका समूहले अगावैदेखि महिलाविरुद्धको हिंसा रोक्न अभियान चलाउँदै आएको छ । तर आम सञ्चारमाध्यममा महिला हिंसाका समाचारलाई छुट्टै विषय बनाएर समाचार रिपोर्टिङ गर्ने प्रचलन छैन भने हुन्छ । तर, अहिले महिला हिंसाका विभिन्न स्वरूपका बारेमा भने समाचार आउने गरेका छन्।
लिङ्गको आधारमा हुने हिंसामा बढि दुर्गम ठाउँका र गरिब महिला पीडित छन् ।घरमा हुने कुटपिटलाई \"घर झगडा\' भनेर गुपचुप गरिने मान्यता छ । सञ्चारमाध्यममा पनि कुटपिट वा अन्य कुनै घरेलु हिंसा भोगेका महिलाले आफ्नो नाम बताउन नचाहेमा उनको नाम दिइँदैन । कारण अझै पनि महिलालाई कानुनले सुरक्षित बनाउन सकेको छैन । पर्याप्त कानुनको अभाव र भएको कानुन कार्यान्वयन नभएका कारण पीडित महिला खुलेर बाहिर आउन सकेका छैनन्। त्यसतर्फ पनि सञ्चारमाध्यमले आवाज उठाउनुुपर्छ । त्यसैगरी, किन घरेलु हिंसाबाट महिला नै बढी पीडित छन् अथवा महिला नै किन कुटाइको सिकार बन्छन् भन्ने बारेमा खोजमूलक रिपोर्टिङ आउँदैनन्, आइहाले पनि एकदमै न्यून । राज्यको चौथो अङ्ग र आवाजविहीनहरूको आवाज मानिने सञ्चारमाध्यमले पनि आवाजहीनको आवाज नभइदिने हो भने त्यसको उपचार कसरी खोज्ने ? सञ्चार माध्यममा छिटफुट समाचार आइहाले पनि ति घटनामूलक हुन्छन्। तिनको वस्तुनिष्ठता र गहनताका बारेमा थुप्रै प्रश्न उठाउन सकिन्छ ?
सञ्चार माध्यमले ध्यान दिनुपर्ने थुप्रै विषय र क्षेत्रहरू छन्। छोरा र छोरी समान होइनन्भन्ने सामाजिक मान्यता, छोरा नभएसम्म जति पनि छोरी जन्माइरहने प्रचलन(न्यून प्रतिशतमै भएपनि कायम छ), छोरा र छोरीमा शिक्षामा गरिने विभेदका बारेमा खोजमूलक समाचार लेख्न सकिन्छ । त्यसैगरी छोरीलाई विवाहमा दिने दाइजो, छोरी भएकै कारण हुने सामाजिक विभेद, छोरी भएकै कारण हुने सांस्कृतिक विभेद र बहुविवाहका कारण महिलाले भोग्नुपर्ने विभेदका बारेमा समाचार तयार गर्न सकिन्छ । त्यस्तै बालविवाह, अशिक्षाका कारण भोग्नुपर्ने अन्धविश्वास, बोक्सीको आरोप, विधवा विवाहमा बन्देज, समान कामका लागि समान ज्याला जस्ता विषयमा पनि अन्वेषणात्मक समाचारहरु तयार गर्न सकिन्छ ।
त्यसबाहेक राज्यका हरेक निकायमा महिलाको समान सहभागिता कसरी गर्न सकिन्छ भन्ने विषय समाचारको विषय हुनसक्छ । महिलालाई समान सहभागिताको भाषण गर्ने राजनीतिक दलहरू जब सत्तामा पुग्छन् तिनको प्राथमिकता के हुन्छ भन्नेबारेमा पनि हामी खोजमूलक समाचार लेख्न सक्छौं तर अहिलेसम्म भएको छैन वा एकदमै कम मात्र। त्यस्तै कार्यस्थल र अन्य स्थानमा हुने यौन दुर्व्यवहार बारेमा गहिरो समाचार लेख्न बॉंकी नै छ र यसलाई हाम्रा पत्रकारहरूले गम्भीर रूपमा लिनु पर्छ।
त्यसैगरी लिङ्गका आधारमा हुने विभेदका विभिन्न पाटाहरु उधिनेर पनि हामी समाचार तयार गर्न सक्छौं । तर अहिलेसम्म हाम्रो पर्याप्त ध्यान गएको छैन । जस्तो कि पितृसत्तात्मक सोच, सामाजिक र सांस्कृतिक कारण, उपयुक्त कानुनको अभाव, अशिक्षा, गरिबी, चेतनाको अभाव र पैतृक सम्पत्तिमा समान अधिकार नहुनु जस्ता विषय महिला हिंसाका ज्वलन्त समाचार हुन्।
महिलाविरुद्धको हिंसा मानवअधिकारको उल्लङ्घन हो । यसलाई न्यूनीकरण गर्न वा हुनै नदिन पहिला त सामाजिक सोचमा नै परिवर्तन हुनुपर्छ । हिंसा रोक्न अन्य उपायका अतिरिक्त कानुनी रुपमै दण्डनीय व्यवस्था हुनु जरुरी छ। अहिले पनि धेरै महिला यस्ता हिंसा सहनु उनीहरूको कर्तव्य हो भन्ने सम्झन्छन्। त्यो मान्यतामा परिवर्तन ल्याउनुपर्छ । यस्तो जनचेतना जगाउनमा सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ ।
राजनीतिमा लागेका महिलाले मानसिक हिंसा खप्नु पर्ने हुन्छ। लामो समयदेखि राजनीतिमा लागेका महिलाले घर र समाजबाट जुन किसिमका टीकाटिप्पणी भोगिरहेका छन् त्यस अनुुुसार पद र प्रतिष्ठा पाउन सकेको स्थिति छैन । जबसम्म महिलाले समान सहभागिता पाउउँदैनन् तबसम्म उनीहरुले शासन व्यवस्थामा आफनो हक स्थापित गर्न सक्दैनन् र उनीहरूमाथि कुनै न कुनै किसिमको हिंसा जारीनै रहन्छ । किनकि राजनीति सबै नीतिको मूल नीति हो । त्यो नसच्चिएसम्म बॉंकी कुरा सच्चिने प्रश्नै आउँदैन । | | Publication Date : 31-01-2009 | भाइचुङ रोल मोडल पक्कै हुन्, प्रेरणास्रोत होइनन् |
भाइचुङ भोटिया। अब पद्मश्री भाइचुङ भोटिया। प्रत्येक सिक्किमे र करोडौं
फुटबलप्रेमीले गर्वका साथ लिने एक नाम। यतिमात्र होइन कैयौं राज्यमा सिक्किमलाई
भाइचुङको देश भनेर पुकारिन्छ। निश्चय पनि यो गर्वको विषय हो। आफ्नो डेढ दशकको
गौरवमय करिअरमा भोटियाले सिक्किमलाई पटक पटक मुस्काउने अवसर मात्र दिएनन् भारतीय
फूटबललाई त्यो उपलब्धि पनि दिए जसको सपना प्रत्येक खेलाडीमा रहेको हुन्छ। आफ्नो
कप्तानीमा तीन तीनपटक साफ कप र पहिलोपटक नेहरू कप। साथै अर्को करिअरलाई उज्यालो
बाटोतिर डोऱ्याउने ईस्ट बङ्गाललाई एशियन क्लब च्याम्पियनशीप पनि दिलाए भोटियाले।
उनको योगदानको उचित कदर गर्दै भारत सरकारले भाइचुङलाई पद्मश्री जस्तो प्रतिष्ठित
नागरिक सम्मानले विभूषित गऱ्यो।
भाइचुङले पद्मश्री पाउनु प्रत्येक चिचिला फूटबल प्रतिभाका निम्ति प्रेरणा हो। तर
प्रश्न के उठ्छ भने असख्य भाइचुङ जन्माउन यो प्रेरणा मात्र यथेष्ठ छ? निश्चय नै
छैन। आफ्नो करिअरको अन्त्यतिर लम्केका भोटियाको सन्यासपछि राष्ट्रिय स्तरमा
फूटबललाई प्रतिनिधित्त्व गर्ने हाम्रो चिन्हीरको विराम सरह लाग्नेछ। सञ्जु छेत्री र
निर्मल अहिले राष्ट्रिय टीममा स्थान सुनिश्चित गर्न सङ्घर्षरत छन्। राज्यबाट
फूटबलको क्षेत्रमा प्रतिभाहरूको खोजी गर्ने प्रयास नगरिएको होइन। सर्च फर मोर
भाइचुङ र नाम्चीमा स्पोर्टस होस्टलको स्थापनालाई अदेखा गर्न मिल्दैन। यो प्रयासले
आंशिक परिणाम दिन थालिसकेको छभन्दा गलत हुनेछैन।
पद्मश्रीले अलङ्कृत भएपछि भोटियाको प्रतिक्रिया थियो, यसलाई विडम्बना नै
मान्नुपर्ला 15 वर्षअघिको भारतीय फूटबलको स्वरूप आज पनि बद्लिएको छैन। यहॉं
प्राथमिक स्तरमा फूटबलका सूत्र सिकाउने साधनसमेत उपलब्ध छैनन्। यस्तो स्थितिमा
खेललाई करिअर कसरी बनाउने?
भाइचुङको यो तर्क शत प्रतिशत सही हो। अन्य राज्यको कुरा छाडौं। आफ्नै घरेलु राज्यको
स्थिति नियाल्दा एउटा कुरा स्पष्ट छ, खेललाई करिअरको रूप दिने विषयमा सिक्किमे युवा
पिँढी असमञ्जस्ता र नैराश्यताको शिकार भएको पाइन्छ। पारम्परिक शिक्षण प्रणाली र
सरकारी नोकरी नैआफ्नो सम्मानको उज्यालो करिअर भन्ने मानसिकताधारी अभिभाकको बीचमा
अल्झिएको कलिलो पुस्ताको दिमागमा खेल क्षेत्रलाई वैकल्पिक करिअरको रूपमा लिने
विचारले प्रवेश नै गर्नपाउँदैन। प्रशासनिक प्रयास नभएको होइन। पूर्वाधार र
प्रोत्साहन सरकारले उपलब्ध नगराएको भन्नेे पनि होइन। तर हाम्रो युवा पिँढी त्यो
नैराश्यताको भुँवरीमा पसेको छ जसबाट निस्कन आवश्यक छ।
कुनै पनि प्राथमिक गुण सिक्ने प्रथम खुड्किलो पाठशालाबाहेक अन्य हुनसक्दैन।
राज्यका 80 प्रतिशत पाठशाला ग्रामीण क्षेत्रमा छन् जहॉं खेललाई बाल्यकालदेखि
नानीहरूमा चिन्हित गराउने प्रयास सपनाको विषय हो। शहरी भेकका पाठशालाहरूमा एकाध
सुविधा उपलब्ध छन्। तर सुविधा भएर के गर्नु, सिक्ने र आङ्कक्षा पूरा गर्ने उमेरमा
एकजना विद्यार्थी आफ्नो पढाइमै व्यस्त हुन्छ। आफ्नो नानीको रुचिलाई प्रोत्साहित
गर्न अभिभावकको रुचि सबैभन्दा ठूलो विषय हो। माध्यमिक उच्च माध्यमिक तहको शिक्षा
ग्रहण गरिसक्दासम्म एक विद्यार्थीको रुचि खेल तर्फबाट प्रायः हटिसकेको हुन्छ र उ
आफ्नो भविष्य सोच्ने दिशामा पसिसकेको हुन्छ। कतिपय विदेशी राष्ट्रमा प्राथमिक
तहदेखि नै आफ्नो रुचिको विषय वा क्षेत्र चुन्ने अधिकार प्राप्त छ। तर हामी अझ पनि
पारम्परिक शिक्षण प्रणालीमा दास नै छौं। यस्तो स्थितिमा पढाई छाडेर खेललाई अँगाल्नु
भनेको जिन्दगी र भविष्यसॅंग जुवा खेल्नु जस्तै हो।
भाइचुङले 15 वर्षअघि यो जुवा खेलेका थिए। पढाइभन्दा आफ्नो रुचि प्राथमिकता दिँदै
भोटियाले पढाई त्यागी फूटबललाई अँगाले। ढेड दशकअघि पाकिमको सन्त जेभियर पाठशालाको
मैदानबाट शुरु भएको उनको यात्रा पद्मश्रीसम्म पुग्दा पनि यथावत छ। निश्चय पनि
भोटियालाई प्रोत्साहित गर्नमा उनका परिजनको मुख्य भूमिका छ र सिक्किमे अभिभावकले यी
उदाहरणबाट प्रेरणा लिनुपर्छ। आफ्नो सन्तानलाई खेलतर्फ डोऱ्याउन अभिभावक भन्दा अन्य
कुनै उचित विकल्प छैन विशेष गरी यस्तो स्थितिमा जहॉं प्राथमिक स्तरमा खेल सम्बन्धित
जानकारी, दिने, शिक्षा दिने र प्रोत्साहित दिने कुनै प्रणाली व्यवस्था छैन। यस्तो
स्थितिमा खेललाई लिएर अन्योलताको शिकार बनेको हाम्रो युवा पुस्तालाई खेललाई
वैकल्पिक करिअरको रूपमा अँगाल्नमा अभिभावकको प्रोत्साहनबाहेक अरू उचित विकल्प के
हुनसक्छ र?
सरकारले सबै कुरा गरिदिन्छ भन्ने मानसिकता त्याग्न आवश्यक छ। सरकारले सुविधा,
पूर्वाधार, आर्थिक सहयोग गर्ला, तपाईंको नानीलाई फूटबल खेल्न वा क्रिकेट ब्याट
पक्रन सिकाउँदैन। सुविधा सरकारले दिन्छ भने प्रोत्साहित गर्ने कार्य प्रत्येक
अभिभावकको हो। आफ्नो नानीहरूले रुचाएको खेल वा अन्य खेललाई अभिभावकले समयमै बिझे
एउटा समय आउनेछ जब हामीसॅंग एक होइन दर्जनौं भाइचुङ हुनेछन्। एक होइन सयौं
पद्मश्री हुनेछन्। आवश्यकता छ त प्रोत्साहन र प्रेरणाको जुन घरबाटै, अभिभावकबाटै
वा प्राथमिक स्तरबाटै थालनी गर्नुको। नत्र खेललाई सुरक्षित करिअर वा वैकल्पिक
करिअरको रूपमा लिने विषयमा असमञ्जसतामा डुबेको हाम्रो युवा पिँढीको अवस्था झन्
बिग्रिएर जानेछ। आजका विद्यार्थी नानीहरूका निम्ति भाइचुङ, जसलाल, सन्ध्या, पवित्र,
तरुणदीप, रोल मोडल त होलान् तर प्रेरणास्रोत र प्रोत्साहन निश्चय पनि होइनन्। यो
प्रेरणा र प्रोत्साहन प्रत्येक घर-पाठशालाबाट जन्मनु आजको आवश्यकता हो। | | Publication Date : 17-06-2008 |
|
|
|