प्रेम कार्की
एसडीएफ सरकारको चौथो कार्यकालको आरम्भदेखि नै मुख्यमन्त्री पवन चामलिङले विभिन्न विभागका सरकारी अधिकारीसॅंग व्यापक प्रशासनिक सुधारका निम्ति सुझाउ र परामर्श गर्ने कायको थालनी गरेका छन्। प्रशासनलाई जनताको सर्वोच्च पहुँचसम्म पुऱ्याउने र यसलाई मानवीय संवेदनासॅंग सोझै जोडिएको बनाउन मुख्यमन्त्रीले विभागीय अधिकारीलाई दिशा-निर्देशन दिइरहेका छन्। यसै क्रममा गत 1 जुलाईको दिन मुख्यमन्त्रीको सरकारी कार्यालयका विभिन्न अधिकारीसॅंग कुराकानी गर्दै मुख्यमन्त्री चामलिङले राज्यका प्रत्येक विभागले स्वच्छ विकास प्रणालीको शुरुवात हुनुपर्ने कुरामा जोड दिए। कुनै पनि किसिमका विकासीय योजनाहरू कार्यान्वयन गर्दा त्यो योजनाबद्ध र पारदर्शी बनाउन उनले विभागीय अधिकारीलाई निर्देशन दिए। वन विभागसॅंग सम्बन्धित राज्यका प्रत्येक नर्सरीका एमआर कर्मचारीको सीप र श्रमको उचित प्रयोग गरी विभिन्न प्रजातिका बढीभन्दा बढी वनस्पतीय बोट-बिरुवाहरू तयार गरिनुपर्ने उनले आदेश दिए। प्रत्येक विभागमा कार्यरत कार्यबललाई सिर्जनात्मक काममा प्रयोग गर्ने र हरेकको योगदानद्वारा मात्र राज्यको कायापलट हुने कुरा उनले विभागीय अधिकारीहरूलाई बताए। आजको परिवर्तित दुनियॉंको विकास क्रममा दक्ष मानव संसाधन नै शक्तिको स्रोत हुनपुगेको छ। हरेक विभागमा दक्ष जनशक्तिको आवश्यकता पर्दछ, त्यसका निम्ति सम्बन्धित विभागले नै आफ्नो जनशक्तिलाई क्षमतावान, सीपमूलक र दक्ष बनाउने विभिन्न तालिमहरूको योजना बनाएर यथाशीध्र यसलाई कार्यान्वयन गर्न उनले निर्देश दिएका छन्। सरकारी कर्मचारीलाई प्रत्येक तीन वर्षमा स्थान्तरण गर्ने नियमलाई प्रभावकारी ढङ्गमा लागू गर्न पनि उनले निर्देश दिेएका छन्। विभागीय टालटुले र ढुलमूले प्रवृत्तिलाई परस्त गरी चालू योजनाहरूलाई प्राथमिकताका साथ निर्धारित समयमा पूरा गर्ने आदेश पनि उनले विभागीय अधिकारीहरूलाई दिए । यहॉंनेर एउटा स्मरणीय कटुसत्य के रहिआएको छ भने राज्य सरकारद्वारा सञ्चालित कुनै पनि विकासीय योजनाहरू विभागीय ढिलासुस्ती, जिम्मेवारीहिनता र लापर्वाहीका कारण समयमा पूरा नहुने र भइहालेको खण्डमा पनि त्यसको गुणवतत्ता अति निम्छरो हुँदै आएको छ। विभागका यस्ता गैर जिम्मेवारीमाथि व्यापक सुधार ल्याएर चालू योजनाहरू प्राथमिकताको आधारमा सूचारु ढ्ङ्गमा कार्यान्वयन गर्न उनले निर्देश दिए।
सिक्किमलाई रहल देश र विश्वकै दक्ष जनशक्ति भएको, ज्ञान-विज्ञानले सुसज्जित, खुशी र समृद्धिले भरिएको, गरीबी, अशिक्षा र अभावबाट मुक्त, सिक्किमवासीहरूलाई मन र तनको आरोग्यले परिपूर्ण भएको राज्यमा परिणत गर्न सबैको सहयोग अपरिहार्य रहेको कुरा गर्दै उनले विभागीय अधिकारीहरूलाई आफ्नो जिम्मेवारी वहन गर्दा समाजको पछिल्लो वर्गलाई सोचेर, राज्य र आम जनताको हितलाई सोचेर काम गरिदिन आह्वान गरे। आफ्नो चौथो कार्यकालको सरकार पूर्णरूपमा जनमुखी र जनउत्तरदायी बनाउने आफ्नो सङ्कल्प रहेको कुरा उजागर गर्दै उनले अबउसो चौथो दर्जाका सरकारी कर्मचारीहरूको सरकारी आवास(क्वाटर) निर्माण गर्दा उनीहरूको पनि उत्तिकै मानवीय आवश्यकता हुने कुरालाई ध्यानमा राखेर त्यस्ता क्वाटरहरू निर्माण गर्ने निर्देशन दिए। सरकारी खर्चलाई यथासम्भव घटाएर त्यसलाई राज्यको सर्वाङ्गीन विकासमा लगाउनुपर्ने कुरामाथि जोडदिँदै उनले सरकारी आवासभित्र भएका यदि पुराना फर्निचरहरूलगायत अन्य पुराना सामग्रीहरू भए त्यसैलाई रिपियर गरेर चलाउने, \"सरकारी खर्च न हो नयॉं खरिद गरौं न\' भन्ने नकारात्मक सोचाई परित्याग गरी आफ्नो माटो र राज्यका आय जनताको समग्र मुक्तिको प्रश्नलाई सोचेर यस्ता अनावश्यक खर्च घटाउनुपर्ने उनले बताए। जिल्ला र महकुमामा कार्यरत कर्मचारी एवं सरकारी अधिकारीहरू प्रायः नै कार्यालयमा हाजिर नहुने र धेरैजसो राजधानीतिरै धाउने गरेको कुरा जनताको धेरै अघिदेखि एउटा विशेष सरोकारको विषय बनेको हुनाले अबउपरान्त जिल्ला र महकुमामा कार्यरत सरकारी अधिकारीदेखि कुनै पनि तहका कर्मचारीहरू आफ्नो कार्यालयमा अनिवार्यरूपमा उपस्थित हुनुपर्ने निर्देशन पनि उनले दिए। आफ्नो थलो-किलो छोडेर, आफ्नो जिम्मेवारीदेखि भागेर हिँड्नेहरूलाई सशक्त कार्वाही गरिने कुरा पनि उनले बताए। सरकारी योजनाहरू निर्माण गर्दा त्यसको साङ्गो-पाङ्गो समग्रतामा अध्ययन गरी बनाउनुपर्ने र एकपल्ट बनिएको योजना फेरि समयको अन्तरालमा परिवर्तन हुने पुरानो प्रथा कतैबाट नदोहोेरियोस् भन्ने सल्लाह पनि मुख्यमन्त्रीले विभागीय अधिकारीहरूलाई दिए। हाम्रा प्राविधिक कमजोरीहरूलाई यथाशीघ्र सुधार्नुपर्ने, कतै बाटो अचानक बिग्रियो भने तुरून्त त्यसलाई बनाउने, बिजुली, पानीजस्ता प्राथमिक र बुनियादी उपलब्ध सुविधाहरूमा रोकावट आए त्यसलाई तुरून्त सुल्झाउने र नागरिक सुविधालाई केन्द्रबिन्दु बनाएर काम गर्ने उनले थप निर्देशन दिएका छन्। सरकारले राज्यका ठाउँ-ठाउँमा नागरिक हित र सुविधालाई ध्यानमा राखेर बजारहरूको निर्माण गरिदिएको तर कतिपय त्यस्ता बजारहरू सुचारू र स्थायीरूपले सञ्चालनमा नरहेको कुरा बताउँदै त्यस्ता बजारहरू पुनःनियमित बनाउन पनि उनले निर्देश दिेए विभागीय अधिकारीहरूसॅंग परामर्शको क्रममा उनले राज्यले अघिबाटै राज्य हरित क्रान्ति शुभारम्भ गरिसकेको र यसले एउटा निर्धारित गति लिइसकेको कुराको उठान गर्दै यसमा थप आउँदो जुलाई महीनाको कुनै पनि एकदिन तोकेर राज्यका प्रत्येक जनताले 10 मिनट सरकारी एवं निजी जमिनहरूमा बिरूवा रोप्ने कार्यक्रम सम्पन्न गर्न पनि उनले निर्देशन दिए ।
यसरी नितान्त अग्रगमणकारी कार्यक्रमहरू लिएर चौथो कार्यकालको एसडीएफ सरकार अझ ठोस उपलब्धिहरू हासिल गरी राज्यको क्रान्तिकारी रूपान्तरणको दिशामा अग्रसर छ। नेतृत्व तहबाट एकैपल खेरो नफाली राज्य र राज्यवासी जनताको समग्र उन्नति, भोलि जन्मिने बालकको सुरक्षित भविष्य र सिक्किमको सर्वाङ्गीन विकासको गतिमा पुऱ्याइरहेको जुन योगदान हामी देख्छौं, त्यसैलाई अनुसरण गरी राज्य विकासमा आफ्नो अंशदान गर्न प्रत्येक सिक्किमेले आ-आफ्नो ठाउँबाट, आ-आफ्नो जिम्मेवारीलाई सम्यक् ढङ्गमा निर्वाहन गरिदिए सिक्किमको कायापलट हुन समय लाग्नेछैन। श्रमको महिमा र उत्तरदायित्व निर्वाहको मूल्यलाई सिक्किमेले बुझिदिए मुख्यमन्त्रीको सपनाअनुरूपको \"सुखी र समृद्ध सिक्किम\' बन्न अब धेरै पर्खिनुपर्ने छैन। |