Home

Archives

Samay Dainik Family

Important Phones

Advertisement

Other Newspapers

Contact Us

 चालक र टुर गाइड राज्यका दूत हुन्‌ ः मदन      सिक्किमका दुइ शिक्षकलाई राष्ट्रिय पुरस्कार      अस्थायी कर्मचारीको भविष्य अन्योलमय त नहोला!      स्वतन्त्रतासित पत्रकारिताको धर्म, मर्यादा र नैतिकता पनि हुनुपर्दछ ः एसडीएफ      सातवटा जल वितरण योजनालाई अनुमोदन      जडीबुटी ः राज्यवासीका लागि गतिलो आय-आर्जनको माध्यम बन्नसक्छ      आत्महत्या गर्न बाध्य हुनैपर्ने अवस्था छैन सिक्किममा      एक महिना आठ दिनव्यापी वितक चर्चाको समापन      माखादेखि लिङ्‌मो-लिङ्गी सडक मार्ग बन्द यथावत      एसएलएसएको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न      रमानाजुल मुबारकको अवसरमा मुस्लिम धर्मावलम्बीले गरे नमाज अदा      तिन्तेक खण्ड विकास कार्यालयमा साक्षरता अभियान विषय सभा      शान्ति ज्ञान यज्ञ अनुष्ठान आयोजन गर्ने विषयमा सभा    

समाचार

 
 
 
   
 
 
   
 
 
 
Send News & Articles  
Correspondent Login  
 
   
 
 
   
 

Max. Temp.21:1oC
Min. Temp.18:6oC
Sunrise05:05 AM
Sunset18:09 PM
Rainfall11:7MM
 

2010-11 मुख्यमन्त्रीद्वारा सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

 

मुख्यमन्त्री एवं वित्त प्रभारी मन्त्री पवन चामलिङद्वारा 27 जुलाई, 2009-को दिन सिक्किम विधानसभामा पेश गरिएको बजेट अभिभाषण

नाम
 
  Photo not available  नाम टीएन शर्मा  
   व्‍यवसाय AUTHOR  
   ठेगाना GANGTOK, SIKKIM  
   फोन  
   ई-मेल  

सिक्किम विश्वविद्यालयमा पारम्परिक विषय पनि लागू गरिन आवश्यक

सिक्किम विश्वविद्यालयको स्थापना सिक्किमका निम्ति महत्वपूर्ण उपलब्धि हो। राज्य सरकार तथा मुख्यमन्त्री पवन चामलिङको इमान्दार प्रयासपछि भारत सरकारले सिक्किम जस्तो सानो राज्यमा जनसंख्याको ख्यान नगरी सिक्किम विश्वविद्यालय स्थापना गरेर सिक्किमे जनतालाई उच्च शिक्षाको अवसर घरमै प्रदान गरेको छ। भोलिको दिनमा यो प्रमुख शिक्षण केन्द्रका रूपमा निश्चय नै स्थापित हुनेछ। दक्षिण सिक्किमको याङगाङमा सिक्किम विश्वविद्यालयको स्थापना हुन अघि नै यसले आफ्नो सक्रियता देखाउँदै गान्तोकबाट नै स्नातक तहमा मात्र होइन स्नातकोत्तर तहमा पनि पाठ्यक्रम शुरु गरेको छ, जो स्वागत योग्य विषय हो। सिक्किम विश्वविद्यालयलाई अन्तरराष्ट्रिय स्तरको विश्विद्यालय बनाउने जुन सपना छ त्यसलाई पूरा गर्न प्रत्येक सिक्किमे जनताले कम्मर कस्नुपर्छ। कुनै नयॉं विश्वविद्यालयलाई अन्तरराष्ट्रिय स्तरमा पुऱ्याउने काम सहज होइन यसका लागि इमान्दार प्रयास र योगदान आवश्यक पर्छ। यस विश्वविद्यामा अध्ययन गर्ने विद्यार्थीले जबसम्म अन्तरराष्ट्रिय स्तरमा प्रभावकारी परिणाम दिन सक्दैनन्‌ अनि जबसम्म यो अन्तरराष्ट्रिय समाजको अध्ययन केन्द्र बन्दैन तबसम्म यो अन्तरराष्ट्रिय स्तरको बन्नसक्दैन। यसका निम्ति वर्षौंको परिश्रम चाहिन्छ। विश्वविद्यालयका कूलपति प्रो. महेन्द्र पी. लामाले जुन प्रकारले 20 वर्ष शिक्षाका लागि खर्च गर्ने अपील गरेका छन्‌ त्यसले सही हो। यस विश्वविद्यालयलाई पूर्ण स्थापित बन्न र अन्तरराष्ट्रिय स्तरमा प्रभाव जमान योभन्दा पनि लामो समय लाग्नसक्नेछ। यद्यपि विश्वविद्यालयको विकासका लागि सबैले इमान्दार प्रयास गरे यो लक्ष्य चॉंडै पूरा पनि हुनसक्नेछ। 2007-मा स्थपित विश्वविद्याले 2008-2009को शैक्षिक सत्रबाट आफ्नो पाठ्यक्रम स्नातक तह र स्नातकोत्तर तहमा लागू गऱ्यो। स्नातक तहमा पाठ्यक्रम लागू गर्न कतिपय व्यवधान आए पनि अन्ततः राज्य सरकारको निर्णयपछि सिक्किमका सबै सरकारी र गैर सरकारी महाविद्यालयहरूमा सिक्किम विश्वविद्यालयको पाठ्यक्रम लागू भएको हो। अर्धवार्षिकी प्रणाली रहेको सिक्किम विश्वविद्यालयको पाठ्यक्रममा श्रेणी उपस्थिति पनि महत्वपूर्ण छ। यसको राज्यका बुद्धिजीवि वर्गले स्वागत गरेका छन्‌। यसको पाठ्यक्रमको पनि स्वागत भएको छ। स्नातकोत्तर तहमा पहिलो वर्ष 4 विषयमा पाठ्यक्रम लागू गरियो। दोस्रो शैक्षिक सत्र वर्ष 2009-10-मा फेरि चार पाठ्यक्रम लागू गरी अहिले यस विश्वविद्यालयमा 8 विषयमा स्नातकोत्तर तहको पाठ्यक्रम लागू छ। यी विषयहरूमा सोसियोलोजी, माइक्रोबाइलोजी, पीस एण्ड कन्फिल्ट स्टडीज्‌, साइकोलोजी, इन्टरनेशनल रिलेसन/पोलिटिक्स, फिजिकल साइन्स, ल एण्ड लिगल जुरिसप्रुडेन्स स्टडीज्‌ तथा फ्लोरिकल्चर एण्ड हडिकल्चर मेनेजमेण्ट रहेका छन्‌। वास्तवमा सिक्किम विश्वविद्यालयले स्नातकोत्तर तहमा दोस्रो वर्ष विद्यार्थी भर्ना लिँदा पनि सिक्किमका विद्यार्थीहरूले यसको लाभ उठाउन सकेनन्‌ र उच्च शिक्षा आफ्नै राज्यमा लिने सपनालाई थन्काएर राज्यबाहिरका विश्वविद्यालयहरूमा जान बाध्य बने। यसको एउटा प्रमुख कारण हो विश्वविद्यालयले पारम्परिक विषयमा स्नातकोत्तर तहमा पाठ्यक्रम शुरु नगर्नु। सिक्किमका सबै महाविद्यालयहरूमा उपलब्ध विषयमा विश्वविद्यालयले पाठ्यक्रम तयार गरेर अध्ययन कार्य शुरु नगरेपछि विद्यार्थी फेरि उच्च शिक्षाका लागि राज्यबाहिर जानु नै पऱ्यो। वर्तमान सिक्किममा विभिन्न पारम्परिक विषयहरूमा स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीहरूको खॉंचो छ तर सिक्किम विश्वविद्यालयले यी विषयलाई महत्व नदिएपछि राज्यका जनता अन्यायमा परेका छन्‌। सिक्किम विश्वविद्यालयले गैर पाम्परिक विषयहरूसॅंगै पारम्परिक विषयहरू पनि लागू गर्दै जानुपर्छ। यसो गर्नाले एकातिर सन्तुलन कायम हुन्छ भने अर्कोतिर स्थानीय विद्यार्थीले लाभ उठाउने छन्‌ साथै जनभावनाको पनि कदर हुनेछ। विशेषगरी सिक्किम विश्वविद्यालयले एमएस्सी तहमा गणित, भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति विज्ञान र प्राणी विज्ञान, एमए तहमा अङ्‌ग्रेजी, नेपाली, राजनीति विज्ञान, अर्थशास्त्र, भूगोल, भाषा-विज्ञान, शिक्षा, इतिहास, समाजशास्त्र विषयहरूमा पाठ्यक्रम शुरु गरेर यी विषयसॅंग गैर पारम्परिक विषयमा पनि पाठ्यक्रम लागू गरेको भए जनभावनाको कदर हुने थियो। अहिले सिक्किम विश्वविद्यालय समाजशास्त्र विषयलाई मात्र राखिएको छ भने विश्वविद्यालयका उपकूलपति प्रो. महेन्द्र पी लामा राष्ट्र कै प्रमुख अर्थशास्त्रीहरूमा एक भएर पनि आफ्नो विश्वविद्यालयमा अर्थशास्त्र विषयको पाठ्‌यक्रम लागू नगर्नुले सबैलाई तिनछक्क पारेको छ। राज्यका मानिसहरू विशेषगरी विद्यार्थी र बुद्धिजीवि वर्गले विश्वविद्यालयलाई गैर पारम्परिक विषयहरू सॅंगै पारम्परिक विषयहरू पनि लागू गर्न आग्रह गर्दै छन्‌ जसलाई विश्वविद्यालयपक्षले सुनवाई गर्न आवश्यक भएको छ। विश्वविद्यालयले आउँदो वर्षदेखि पारम्परिक विषयहरूमा पनि स्नातकोत्तप तहमा पाठ्यक्रम लागू गर्नेछ भन्ने विषयमा सबैले आशा गरेका छन्‌। यसैले यस दिशामा विश्वविद्यालय सोच्नुपर्नेछ।

Publication Date : 20-07-2009

विश्व पर्यावरण अनि चामलिङ

सिक्किमले बुधबार 10 मिनटमा राज्यको जनसंख्याभन्दा धेरै बिरुवा रोपेर एकातिर कीर्तिमान खडा गरेको छ भने अर्कोतिर विश्वलाई पर्यावरण संरक्षणका दिशामा नयॉं सोच दिएको छ। बुधबार बिहान 10ः30 बजेदेखि 10ः40 बजेसम्म सिक्किमका सबै स्थानमा मानिसहरूले बिरुवा रोपेर यो कीर्तिमान बनाएका हुन्‌। यद्यपि राज्य सरकारको यस 10 मिनट हरियालीका निम्ति कार्यक्रममा अपेक्षाकृत जनसहभागिता नहुनु खट्‌किदो विषय छ। मुख्यमन्त्री पवन चामलिङले पृथ्वीका लागि दशको जुन अवधारणाको परिकल्पना गरेका छन्‌ त्यसले विश्वका दिग्गज राजनीतिज्ञहरूको लहरमा उनलाई उभ्याएको छ। मुख्यमन्त्री चामलिङले राज्यको पर्यावरणको सुरक्षाका लागि विगत एक दशकदेखि जुन सक्रियता देखाउँदै आएका थिए त्यसैको यो परिकल्पना परिपक्वताको द्योतक हो भन्नसकिन्छ। गत वर्ष अमेरिकाको क्यालिफोनियामा आयोजित राज्यपालहरूको सम्मेलनमा चामलिङले के भनेका थिए भने पर्यवरणको सुरक्षाका लागि वैश्विक ऐक्यबद्धता अभियान शुरु गर्नुपर्छ। त्यहॉं उनले भनेका थिए, हामीले आ-आफ्नो क्षेत्रमा आफ्नै परम्परा र परिवेश अनुकूल कार्य गरेर पर्यावरणको सुरक्षा गर्नसक्छौ। चामलिङले उक्त सम्मेलनमा विश्वका नेताहरूलाई आ-आफ्नो स्वार्थत्याग गरी वैश्विक ऐक्यबद्धता कायम गर्न जुन आह्वान गरेका थिए त्यसकै परिणाम हुन सक्छ यो 10 मिनट हरियालीका लागि अभियान। बुधबार अपेक्षाकृत जनसहभागिता नदेखिए पनि सिक्किमले 6 लाख 10 हजारभन्दा धेरै बिरुवा रोपेर नयॉं कीर्तिमान बनाएको छ। यसअघि राज्य हरित अभियान अन्तर्गत राज्यमा लगाइएका बिरुवा 72 प्रतिशतभन्दा बॉंचेको विभागले पुष्टि गर्दै आएको छ। मूलतः अन्धो औद्योगिकीकरणका कारण उत्पन्न ग्लोबल वार्मिङको समस्याबाट सिक्किम प्रभावित भएको छ। सिक्किमका हिमान विशेष गरी हिमनदीमा यसको प्रत्यक्ष प्रभाव देखिएपछि मुख्यमन्त्री चामलिङले यसको अध्ययनका लागि हिमनदी अध्ययन आयोग गठन गरेर राष्ट्रमै नयॉं पहल गरेका थिए। यसरी नै उनले राज्य हरित अभियानको जुन अवधारणा विकास गरे अनि सफल पनि भयो यसले पनि पर्यावरणप्रेमी नेताहरूको सूचीमा चामलिङलाई अग्र पङ्‌क्तिमा उभ्याइसकेको छ। यसको पुष्टि गत वर्ष क्यालिफोनियाका राज्यपाल आर्नोल्डद्वारा आयोजित राज्यपालहरूको सम्मेलनमा उनको सहभागिताले स्पष्ट बनाइसकेको छ। आज पर्यावरण प्रेमी नेताहरूमा चामलिङलाई विश्वले कदर गर्न थालेको छ। अझ यो 10 मिनटको अभियानले त उनको उच्चता बढाएको छ। मुख्यमन्त्री पवन चामलिङले स्थानीय प्रजातिका रूख-पात र फल-फूलका बिरुवा लगाउने विशेष निर्देश दिएका थिए। गोब्रे सल्ला, कपासे, गोकुल, सेतो सिरीस, टॉंकी, दार, लामपाते, रूद्राक्ष, भद्राक्ष, ओखर, गोगे चॉंप, काउलो, लालि काउलो, रानी चॉंप, नागेसुरी, किम्बु, टोटला, पयौं, आरूपाते, गुरॉंस, पीपली, पानीसॉंझ, बर्रा, हर्रा, पाखा साज रोपेर लुप्त हुन लागेका वनस्पति सम्पदालाई जोगाउने प्रयास यस अभियानमा भएको छ। दस मिनट पृथ्वीको भविष्यलाई समर्पित गर्ने उनको अवधारण औद्योगिक क्रान्तिद्वारा विश्व पर्यावरण नष्ट गर्ने ती विकसित देशका नेताहरूलाई गतिलो जापड पनि हो। सिक्किमको सानो भू खण्डमा रोपेको बिरुवाले सिक्किमको पर्यावरण संरक्षणका दिशामा निश्चय नै सुधार गर्ने कार्य हो। यसले भविष्यमा गएर विश्व प्रदूर्षणबाट सिक्किमलाई प्रभावित हुन निश्चय नै सहयोग गर्ने छ। आज सिक्किम 80 प्रतिशत वन्य भूमि बन्न गइरहेको छ। यसले विश्व समुदायलाई यसप्रकारको अभियान शुरु गर्ने अवधारणा दिँदै विनम्रतापूर्वक आग्रह पनि गरेको छ। आफ्नो राजनीतिक जीवनको 3 दशकीय यात्राले चामलिङलाई सत्ता लोलुपतादेखि माथि उडेर विश्व कल्याणका लागि काम गर्ने अनुभव र परिपक्वता दिएको छ जसको सबैले कदर गर्नैपर्छ। चामलिङको यो अवधारणा राजीतिक स्वार्थदेखि माथि उठेको स्वच्छ अवधारणा हो जसको पक्कै पनि विश्वले मूल्याङ्कन गर्नेछ। चामलिङको पर्यावरण प्रियता नासाका वैज्ञानिक जेम्स हेन्सन (जसले 1980 देखिनै मौसम परिवर्तन विषयमा विश्वलाई सचेत गराउँदै आएका छन्‌), प्रसिद्ध पर्यावरणप्रेमी कलाकार डेविड एटेनबोरक (जसले पृथ्वीको प्राकृतिक सुन्दरताको प्रचार विश्व व्यापी रूपमा गरेर मानिसहरूलाई प्राकृतिक सौन्दर्यको संरक्षणको निम्ति सचेत गराउँदै आएका छन्‌, उनले बीबीसीबाट पृथ्वी बचाउँ अभियानको सञ्चालन गर्दै आएका छन्‌), अमेरिकाको क्यालिफोर्निया राज्यका राज्यपाल आर्नोल्ड स्वाजनेकर (जसले आफ्नो राज्यको वायुमण्डलमा कार्बन कम गर्न विशेष अभियान चलाए), 1970को शान्ति नोबेल पुरस्कार विजेता पर्यावरणविद्‌ नरमोन बोर्लक (जसलाई हरित क्रान्तिका जनक मानिन्छ अनि उनले विश्व खाद्य सङ्‌कटको समाधानका लागि हरित क्रान्ति नेतृत्व गरेका थिए) तथा पूर्व अमेरिकी उपराष्ट्रपति एवं पर्यावरण सुरक्षाका विश्व नेताका रूपमा परिचित अल घोर (जसले कलाका माध्यमबाट विश्व पर्यावरण सुरक्षा अभियानको नेतृत्व गर्दैछन्‌) जस्ता दिग्गजहरूको लहरमा उभिनसक्ने कार्य सिक्किमका मुख्यमन्त्री पवन चामलिङले पनि पर्यावरण सुरक्षाको क्षेत्रमा गर्दैछन्‌ भन्नसकिन्छ।

Publication Date : 17-07-2009

गुणात्मक शिक्षाको लक्ष्य पूरा गर्न विभागीय पहल आवश्यक

गुणात्मक शिक्षा आजको आवश्यकता हो। सिक्किममा दक्ष मानव संसाधनको निर्माणका लागि राज्य सरकारले एकातिर क्षमता विकास निर्देशालयको स्थापना गरी कार्य अघि बढाइएको छ भने चौथोपटक सत्तामा पुग्नसाथ मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको एसडीएफ सरकारले शिक्षालाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्‌केत दिँदै गुणात्मक शिक्षाका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारको पहल युगको मागअनुरूप रहेको छ र यसलाई सफल बनाउने दायित्व सबैको हो। सरकारको एक्लो प्रयासमा गुणात्मक शिक्षाको लक्ष्य पूरा हुनसक्दैन। सरकारले यसअघि पनि गुणात्मक शिक्षाका लागि पहल नगरेको होइन तर उचित सहयोगको अभावका कारण सरकारी प्रयास नीति र सिद्धान्तमा सीमित रहेको हो। यसपटक सरकारले जुन प्रतिबद्धताका साथ सरकार लागिपरेको छ त्यसलाई पूरा गर्न विभागबाट उचित पहल हुनुपर्नेछ। यदि विभागीय अधिकारी, शिक्षक-शिक्षिका र कर्मचारीहरूले उचित रूपमा सरकारको नीति र निर्देशनलाई पालन र कार्यान्वयन गरे भने निश्चय पनि यो लक्ष्य पूरा गर्न गाह्रो पर्नेछैन। यसका साथै विद्यार्थी अनि अभिभावकको जिम्मेवारी पनि आफ्ना ठाउँमा छॅंदैछ।  मुख्यमन्त्री पवन चामलिङले राज्यमा गुणात्मक शिक्षाका लागि कुनै पनि स्थितिमा सम्झौता नगरिने बताएका छन्‌। उनले विभागलाई यस दिशामा काम गर्ने कडा निर्देशन पनि दिएका छन्‌। मुख्यमन्त्रीको निर्देशनअनुसार सबै स्तरका स्कूलहरूको एईओ, एडी, डीडी, जेडी तथा निर्देशकहरूले नियमित निरीक्षण गरे भने विद्यार्थीहरू अध्ययन तथा स्कूलहरूको कार्य संस्कृतिमा परिवर्तन आउन शुरु हुनेछ। तर अधिकारीहरूले नियमित निरिक्षणका साथ-साथै छड्‌के निरिक्षण पनि गर्नुपर्छ। यसो गर्नाले शिक्षक-शिक्षिका कार्य संस्कृतिबाट पलायन हुन पाउने छैनन्‌ भने अर्कोतिर स्कूलहरूको वास्तविक स्थितिबारे पनि जानकारी प्राप्त हुनेगर्छ। जसले गुणात्मक शिक्षाको लक्ष्य प्राप्तिमा उचित सुधार गर्न सहयोग गर्नेछ।  यसरी नै स्कूल प्रबन्धन समितिको प्रत्येक तीन महिनामा बैठक बस्यो भने स्कूलका विद्यमान समस्याको समाधान गर्न सहज पर्नेछ। प्रबन्धन समितिको बैठक सॅंगसॅंगै अभिभावकहरूको बैठक पनि अनिवार्य हुनेछ। अभिभावकहरूको बैठक यदि प्रत्येक तीन महिनामा गर्नसकियो भने त्यस बैठकमा विद्यार्थीको स्थितिबारे अभिभावकलाई जानकारी हुनेछ र उनीहरूले आफ्नो तर्फबाट उचित सुधारको पहल शुरु गर्ने अवसर प्राप्त गर्नेछन्‌।  कलेजका पुस्तकालयको बढोत्तरी, सबै शैक्षिक संस्थानमा खेल मैदान निर्माण, शिक्षकहरूलाई तालिम प्रदान गर्नुपर्ने मुख्यमन्त्रीको निर्देशन छ। यदि समय-समयमा शिक्षकहरूलाई उचित प्रशिक्षण दिए उनीहरूको बौद्धिक स्तर बढेर जानेछ र लक्ष्य प्राप्तिका लागि चुडान्त औषधीका रूपमा काम गर्नेछ। शिक्षण पेशमा दैनन्दिन अपडेट हुनु आवश्यक हुन्छ र यो नियमित अध्ययन र प्रशिक्षणले मात्र गर्नेगर्छ। शिक्षकहरूलाई पूर्ण अपडेट गराउनका लागि मुख्यमन्त्रीले राज्यभित्र, देशको प्रतिष्ठित संस्थानमा र विदेशमा प्रशिक्षण गराउन सकिने बताएका हुन्‌‌‌। यसका साथै शिक्षा विषयमा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न र विद्यार्थीलाई प्रत्येक तहमा परार्मश दिइने परम्परा शुरु गर्नुपर्ने कुरामा उनको विशेष जोड रहेको छ। यस किसिमका क्रियाकलापले विद्यार्थीमा उनीहरूको जिम्मेवारी बोध गराउने गर्छ। यसका साथै मुख्यमन्त्री चामलिङले सबै शैक्षिक संस्थानहरूलाई नशामुक्त गराउनुपर्ने जुन निर्देश दिएका छन्‌ त्यसले स्वस्थ समाजको निर्माणका लागि सहयोग पुऱ्याउनेछ। स्कूल परिसरको छेउछाउ नशा पसल, रक्सी पसल तथा पान दोकानको सञ्चालन गर्ने अनुमति कदापि दिनुहुँदैन।  यदि सबैले आफ्नो दायित्वलाई बुझेर सिक्किमको उज्जवल भविष्यका लागि काम गर्नु हो भने यो लक्ष्य प्राप्त गर्नु कुनै ठूलो विषय होइन। विशेष गरी नोकरशाह वर्गबाट यसका लागि काम हुनुपर्छ। सरकारको काम नीति बनाउने हो र त्यसलाई कार्यान्वयन गर्ने दायित्व विभागीय अधिकारीहरू हो। यदि विभागीय अधिकारीबाट यसप्रकारको पहल उचित रूपमा भएन भने सरकारको लक्ष्य फाइलमा सीमित हुनेछ। यसैले लक्ष्य पूरा गर्नका लागि जबसम्म विभागका वेतनधारी अधिकारी र कर्मचारी मैदानमा निस्कॅंदैनन्‌ तबसम्म ठूलो परिवर्तन आउन गाह्रो पर्छ। यसर्थ, सरकारको पहलबाट विभागका कर्मचारी, अधिकारी र शिक्षक-शिक्षिकाले गम्भीरतासित लिनैपर्छ किनभने यो सिक्किमको भविष्यसित जोडिएको विषय हो। यसर्थ, आफ्नो स्वार्थलाई पर सारेर उनीहरूले जनता र भविष्यका लागि काम गर्नैपर्छ। यसलाई सामूहिक दायित्व मानेर काम नगर्ने कर्मचारी, अधिकारीमाथि उचित कार्वाही गर्ने निर्णय पनि सरकारले लिनुपर्छ।

Publication Date : 03-07-2009

अब विनाश बिनाको विकास चेतना अनिवार्य छ

इल निनो, एक सामयिक जलवायु घटना क्रमअन्तर्गत प्रशान्त महासागरमा पानी सामान्यभन्दा अधिक गर्मिदा ल्याटिन अमेरिकातिरबाट दक्षिण-पूर्व अनि दक्षिण एशियातर्फ बहने वायुको गतिमा सुस्तता आउन थाल्छ। परिणामस्वरूप यसरी केन्द्रिय प्रशान्त महासागर गर्मिनाले त्यसमाथिका वातावरणीय मण्डल पनि तात्तिएर उँभो बढ्‌न थाल्छ। जसको फलस्वरूप शुष्क वायु पुञ्ज भारतीय वायुमण्डलतिर ओर्लिनु थाल्छ। यद्यपि, इल निनो वर्षले वर्षा प्रभावित नभए पनि धेरजसो मनसूनको गडबडी यसैकारण प्रभावित हुनेगरेको मौसम विज्ञानका ज्ञाताहरूको भनाइ छ। तर यहॉं मनसूनको गडबडी ल्याउने इल निनो जस्तो घटनाक्रम पछिका प्राकृतिक कारणभन्दा पनि अप्राकृतिक अथवा पर्यावरणमाथि मानवजन्य हस्तक्षेपका कारण प्रकृति र यससित सम्बन्धित भयावह घटनाक्रमले पर्यावरणमा ल्याउने नकारात्मक प्रभावहरू मुख्य चिन्ताका विषय हुन्‌। मनसुनको ढिलो आगमनको आशङ्‌काले एकपल्ट फेरि पर्यावरण सङ्‌कटतर्फ देशको ध्यान आकृष्ट भएको छ। ग्लोबल वार्मिङजस्तो भयावह शब्दले हामी त्रस्त हुन्छौं। वैज्ञानिकहरूले गत दुई दशकयता धेरैचोटि विश्वलाई चेताउनी दिँदै आइरहेका पनि छन्‌। लक्षण यतिखेर देखा पर्नथालेको छ। स्टेनफोर्ड यूनीर्भसिटीका प्रोफेसर क्रिस फिल्ड जो जलवायु परिवर्तनमाथि अवलोकन र निगरानी राख्ने वैश्विक प्यानलका सदस्य पनि हुन्‌, उनले वैश्विक पर्यावरण र जलवायुमा देखा पर्नथालेका परिवर्तन, यसका कारण, चेताउनी र निदानका उपाय पनि दिँदैआएका छन्‌। क्रिस फील्डले विगत 8 वर्षमा वातावरणमा काबर्नडाई अक्साइडसहित अर्को विषाक्त ग्रीन हाउस ग्यास वृद्धिलाई लिएर भारत, चीनलगायत विकासशील देश तथा सम्पूर्ण विश्वलाई पर्यावरणमा देखिनथालेको भीषण परिवर्तनबारे चेताउनी दिइरहेका छन्‌। विगत दुइ दशकयता वैज्ञानिकहरूले प्रकृति र यसको वातावरणविरुद्ध मानव दखलले सीमा नॉंघिसकेको चेताउनी दिँदैआएका हुन्‌। तर आधुनिक औद्योगिक प्रक्रिया र मानवीय भौतिक प्रवृत्ति अनियन्त्रित लगातार पर्यावरणविरुद्ध हावी रहेकोले नै अहिले यस्ता सङ्‌कट देखा पर्नलागेका हुन्‌। वर्तमान औद्योगिक प्रक्रिया एवं पर्यावरण सम्मत विकल्पका अभावका कारणबाहेक विकसित औद्योगिक राष्ट्र बनाम विकासशील देशहरूको आरोप-प्रत्यारोपमा अल्झिएको पर्यावरण समस्या समाधानका उपाय अनि पर्यावरण संरक्षण र प्रकृतिविरुद्धको मानवीय दखलले विश्वले आज पर्यावरणको प्रकोपीय ताण्डव झेल्नुबाहेक अर्को विकल्प नरहेको अवस्थामा प्रवेश गरिसकेको भर्खरै बङ्‌गालको खाडीमा आएको चक्रवादी तूफानले सङ्‌केत दिएको छ। बर्खा लाग्ने बित्तिकै पहाडवासी पैह्रो जस्तो प्राकृतिक आपदाले चिन्तित हुनथाल्छन्‌। दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिक्किम जस्ता पहाडी क्षेत्र भू-स्खलन संवेदनशील जोनमा पर्दछन्‌। भर्खरैमात्र बङ्‌गालको खॉंडीबाट उठेको चक्रवाती तूफानले ल्याएको वर्षाले भू-स्खलनको डरलाग्दो ताण्डव दार्जीलिङ पहाडमा मच्चाउँदा 27 जनाको ज्यान जानका साथै सयौं घरहरू ध्वस्त भए। विगतका तुलनामा अहिले भूगर्भमा रहेका खनिज द्रव्यहरूमा आइरहेको रासायनिक परिवर्तन, भू-उष्मा वृद्धि, माटोको कण विघटन वा चट्टानहरूको क्षरणजस्ता कारणहरू नै भू-स्खलनका मुख्य कारणहरू हुन्‌। दुइ वर्षअघि विदेशबाट आएका भू-वैज्ञानिकको एक टोलीले यस क्षेत्रको सर्वेक्षण गरेर उत्तर बङ्‌गाल विश्वविद्यालयलाई 15 देखि 30 डिग्री सेल्सियस तापमानमा स्थित ढाल परेका पहाडी क्षेत्रहरू भू-स्खलनको दृष्टिले संवेदनशील रहेको जानकारी दिएको थियो। सर्वेेक्षणमा आउने यस विदेशी भूवैज्ञानिकहरूको टोलीले आश्चर्य व्यक्त गर्दै भनेका पनि थिए, पहाडी क्षेत्रमा अहिलेसम्म यस्ता भू-स्खलन अध्ययनको निम्ति वैज्ञानिकको समूह गठन त परै जावोस्‌, त्रिआयामीय नक्सासम्म तयार नभएको खुलासा पनि गरेका थिए। पार्वतीय क्षेत्रहरूमा काठ र टीनजस्ता हल्का सामग्री प्रयोग गरेर आवास निर्माण गर्नुपर्ने तर ठीक त्यसकै विपरित हामी ढुङ्‌गा, इँटा, सिमेण्टजस्तो गहकिलो सामान प्रयोग गरेर ठूल्ठूला भवन निर्माण गर्ने होडबाजीमा छौं। रोजगार तथा अन्य अवसर तथा सुविधाहरूको अभावमा ग्रामीण क्षेत्रका मानिसहरू अनि रोजगारको निम्ति अन्य क्षेत्रहरूबाट शहरतर्फ अभिमुख हुने जनसङ्‌ख्याको कारणले बढ्‌दो शहरीकरण, अनियोजित र अवैज्ञानिक ढॉंचामा बनेका ढल निकास, नाला अनि झोडाहरूमा थुप्रिएका फोहोर र पोलेथिन तथा अन्य विभिन्न अडकोहरूका कारण वर्षाको पानीले निकास नपाउँदा जमीन जताततै खोतलिन पुग्दा भल पैह्रोको सम्भावना बढेर जान्छ। बर्खाको बेला पहाडी क्षेत्रमा भल पैह्रो जानुलाई हामी प्राकृतिक घटनाको रूपमा ग्रहण गर्छौं। यस्ता घटना निसन्देह प्राकृतिक नै भए पनि हामी यस्ता प्राकृतिक घटनापछिका बाह्य कारणहरूलाई भने अदेखा गरिरहेका हुन्छौं। प्रकृतिगत घट्‌ने यस्ता घटना क्रमहरूपछि हामी स्वयं कति जिम्मेवार छौं भन्ने कुरामाथि हाम्रो ध्यान रहॅंदैन। 97 -मा वर्षाको भेलले ल्याएको प्रकोप अझै गान्तोकवासीको सम्झनामा आलो हुनुपर्ने तर घटनाको बेला मात्र हामी पर्यावरण र प्रकृतिको चारित्रिक परिवर्तनप्रति चिन्तित हुन्छौं त्यसपश्चात फेरि पर्यावरणप्रति हाम्रो सरोकार तबसम्म जाग्दैन जबसम्म दोस्रो अर्को वीभत्स घटना घट्‌दैन। पर्यावरणमा बढ्‌दो प्रदूषणको अर्को कारण वाहनहरूको व्यापक प्रयोगका कारण कार्बन उर्त्सजनले गुम्सिएको हाम्रो वातावरण होइन र? सिक्किमको जलवायुमा ठूलो परिवर्तन आउनुमा प्राकृतिक कारण जति जिम्मेवार छ त्यति नै जिम्मेवार हामीले उब्जाएका कारकहरू पनि छन्‌। विकास र विनाश दुवै सॅंगसॅंगै कुद्‌ने गाडीका चक्का जस्ता हुन्‌। हाम्रो निम्ति विकासको अर्थ बिल्डिङ, गाडीजस्ता भौतिक साधनहरू, उद्योग, कल कारखाना, आधुनिक सुविधा सम्पन्न सामग्रीहरू नै हुन्‌ जसरी यूरोप र अमेरिकाको निम्ति पनि थिए। सम्भवतः विकासको अर्थ चाहे एशिया होस्‌, चाहे अमेरिका वा यूरोप, यिनै भौतिकवादसित सम्बन्धित साधन र संसाधनअन्तर्गत सीमित छन्‌। त्यसैले विकास सॅंगसॅंगै विनाशको सिलसिला पनि जारी छ। अब हामीमा विनाश बिनाको विकास पछ्‌याउने चेतनाको विकास पनि हुन अनिवार्य छ।

Publication Date : 26-06-2009
1
   
 
 
 
   

 
   

 
 

Copyright : Samay Dainik, Sikkim Daily News Paper, Tadong, Gangtok East Sikkim Email: samaygtk@yahoo.com>

Maintained by Dipendra Dewan, Contact 98325 67244/9002009155; Email: dip_dewan@yahoo.com

powered by : Rumtek Technologies